कास्कीमा ३०० पत्रकार र परिवारको स्वास्थ्य बीमा शुरु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कास्कीमा ३०० पत्रकार र परिवारको स्वास्थ्य बीमा शुरु


१० चैत्र २०७७, मंगलबार


कास्की । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले शाखामा आबद्ध पत्रकार तथा उनीहरुका परिवारका सदस्यको स्वास्थ्य बीमा शुरु गरेको छ ।

महासङ्घले पोखरा महानगरपालिकाको आर्थिक सहयोग र नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा शुरु गरेको पारिवारिक स्वास्थ्य बीमा कार्यक्रमको सोमबार महानगर प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरे।

प्रेस स्वतन्त्रता सेनानी एवं अग्रज पत्रकार बद्रीविनोद प्रतीक र उहाँकी श्रीमती सावित्री खनाललाई बीमा परिचयपत्र हस्तान्तरण गरेर प्रमुख जिसीले बीमाको कार्यक्रम शुभारम्भ गरेका थिए । बीमा कार्यक्रमअन्तर्गत पाँच जनासम्म परिवारका सदस्य रहेका पत्रकारको वार्षिक ? तीन हजार ५०० भुक्तानी महासङ्घबाट गरिने र परिवारका सदस्यले वार्षिक रु एक लाखसम्मको स्वास्थ्योपचार सुविधा बीमाबाट प्राप्त गर्ने शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार देशमै पहिलोपटक शुरु गरिएको यस कार्यक्रममा शाखामा आबद्ध ३०० पत्रकारको परिवारका सदस्यको बीमा गरिनेछ । पाँच जनामाथिको परिवारका सदस्यका लागि प्रतिसदस्य रु ७०० भुक्तानी गरिने बताइएको छ ।

महानगरले स्थापना गरेको पत्रकार कल्याणकारी कोषअन्तर्गत अघिल्लो दुई आर्थिक वर्षमा ? ४५ लाख बजेट निकासा भएको र चालु वर्षमा ? २० लाख थप गरेर रु ६५ लाख पुर्याइने र सोको ब्याजबाट पत्रकारका परिवारको बीमा गरिने महासङ्घले जनाएको छ । सो कोषलाई वृद्धि गरी रु एक करोड बनाउन महानगरसँग आग्रह गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘पोखराका पत्रकारको स्वास्थ्य बीमा गर्न पाए हुन्थ्यो भन्ने ठूलो सपना थियो, लामो प्रयासपछि अत्यन्त मेहनतका साथ त्यसलाई फत्ते गरेका छौँ । पत्रकार र उनीहरुको परिवारका सबै सदस्यको बीमा गर्ने सपना पूरा भएको छ ।’

कार्यक्रममा महानगर प्रमुख जिसीले आफूू निर्वाचित भएर आएपछि पत्रकारका लागि देखिने गरी उपलब्धिमूलक काम गर्ने योजना रहेको चर्चा गर्दै स्वास्थ्य बीमा कार्यक्रमबाट पत्रकारसहित उनीहरुका परिवारलाई समेत सहयोग मिलेको बताए ।

स्वास्थ्य बीमा बोर्ड गण्डकीका प्रमुख जीवलाल खरेलले प्रदेशका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा कार्यक्रम लागू भएको भन्दै हालसम्म कार्यक्रम प्रभावकारीरूपमा अघि बढेको जानकारी दिए । सेवाग्राहीको अनुकूलताका आधारमा सेवा केन्द्र छनोट गर्न सकिने बताउँदै उनले सेवाका सम्बन्धमा उठेका गुनासालाई क्रमशः सुधार गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस