प्रधानमन्त्रीसँग समय मागेको छु, खबर आउला : सभामुख सापकोटा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीसँग समय मागेको छु, खबर आउला : सभामुख सापकोटा


९ चैत्र २०७७, सोमबार


काठमाडौँ । सभामुख अग्नि सापकोटाले संसदको काम कारबाही अगाडि बढाउने विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न आफूले समय मागेको बताएका छन् ।

यसअघि कानुनमन्त्रीमार्फत भेटबारे कुराकानी भइरहे पनि आज राष्टपति विद्या देवि भण्डारी बंगलादेश भ्रमणमा जानेक्रममा बिदाइ गर्न गएको बेला एयरपोर्टमा पनि कुरा भएको र भेट्न समय मागेको सापकोटाको भनाइ छ ।

‘कानूनमन्त्रीमार्फत कुरा भइरहेको थियो, आज राष्ट्रपति ज्यूलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा पनि प्रधानमन्त्रीसँग कुराकानी भयो,’ संसदीय मामिलासम्बन्धी पत्रकारहरूसँग सिंहदरबारमा भएको भेटमा उनले भने, ‘समय मागेको छु, खबर आउला ।’

सभामुख सापकोटाले संसदमा रहेका अध्यादेश अगाडि बढाउन संसद तयार रहेको र सरकारले ल्याएका कुरा अड्काउनुपर्छ भन्ने मानसकितामा आफू नरहेको समेत स्पष्ट पारेका छन् । ‘सरकारले ल्याएका कुरा अड्काउनु पर्छ भन्ने मलाई लागेको छैन, अड्काउने मनसाय पनि छैन,’ उनले भने, ‘निष्पक्ष र तटस्थताका साथ अगाडि बढ्छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै संसद नियमित गर्नेतर्फ सभामुखको भूमिका सकारात्मक नभएको टिप्पणी गरिरहेका छन् । प्रतिनिधिसभा पुनः स्थापनायता प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममार्फत नै सभामुखको आलोचना गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस