‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर आरोही अन्नपूर्ण आधार शिविर जान थाले « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर आरोही अन्नपूर्ण आधार शिविर जान थाले


८ चैत्र २०७७, आइतबार


म्याग्दी । म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरु आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन् । म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने हर्गोज पदमार्गको प्रयोग गरेर नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठको टोली आज आधार शिविरतर्फ लागेको हो । हिमाल आरोहणका लागि आधार शिविरतर्फ जान लागेको पत्रकारसमेत रहेकी श्रेष्ठको टोलीलाई अन्नपूर्ण गाउँपालिकाले शनिबार सम्मानसहित बिदाइ गरेको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडाध्यक्ष कृष्णप्रसाद बरुवाल, लेखा अधिकृत जय सुवेदीलगायतले बिदाइ गर्नुभएको थियो । यसअघि शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सो टोलीलाई बिदाइ गरेका थिए । कोरोनापछि र नारच्याङ हुँदै ‘मौरिज हर्गोज’ पदमार्ग भएर अन्नपूर्ण आरोहणका लागि जाने यो पहिलो टोली हो । सेभेन समिट टे«कमार्फत आरोहण गर्न लागेको यो टोलीमा अन्य १६ जना विदेशी आरोही छन् ।

जोखिमयुक्त ‘मौरिज हर्गोज’ पदमार्गमार्फत गरिने अन्नपूर्ण आरोहणको प्रचारप्रसारका लागि एक वर्षअघि बनाएको योजना कोरोनाले रोकिएको र अहिले त्यसलाई सफल पार्न लागेको आरोही श्रेष्ठले बताए । पेम्बा शेर्पा यो आरोहण समूहको शेर्पा रहनुभएको छ । कारोबार आर्थिक दैनिकमा कार्यरत गोरखा आरुघाटकी पूर्णिमाले यसअघि सन २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेका थिए। करिब एक महिना आधार शिविर क्षेत्रमा रहने टोलीले जनाएको छ ।

फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो । मौरिसले आरोहण गरेको ७० वर्षपछि नारच्याङ हुँदै आधार शिविर जोड्ने पदमार्ग पहिचान भएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुनले आरोही टोलीलाई व्यक्तिगतरूपमा रु एक लाख र गाउँपालिकाबाट रु चार लाख बजेट उपलब्ध गराएको बताए । गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको गाउँपालिकाले मौरिज हर्गोज पदमार्ग नामकरण, नक्साङ्कन, पूर्वाधार निर्माण र प्रवद्र्धन शुरु गरेको अध्यक्ष पुनले बताए।

‘अन्नपूर्ण पहिलो’ आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको सङ्ख्या असाध्यै कम छ । जोखिमपूर्ण र कठिन भएकाले आरोहण गर्नेको सङ्ख्या कम भएको हो । नेपाली महिलाहरु त यसको चुचुरोमा पुगेकै छैनन् । गण्डकी प्रदेश सरकारले पूर्णिमाको आरोहण टोलीलाई रु आठ लाख आर्थिक सहयोग गरेको छ । सफलतासँगै पूर्णिमाको नाममा अन्नपूर्णको पहिलो महिला सफल आरोहीको कीर्तिमान रहनेछ । गण्डकीमा आठ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमाल छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस