तीन वटा ऐन पारित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तीन वटा ऐन पारित


६ चैत्र २०७७, शुक्रबार


ताप्लेजुङ । फुङलिङ नगरपालिकाले राजश्व सङ्कलन तथा परिचालनलाई व्यवस्थित गर्न कर तथा गैरकर राजश्व लगाउने र उठाउनेसम्बन्धी ऐन पारित गरेको छ ।

नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभाले कर तथा गैरकर राजश्व लगाउने र उठाउनेसम्बन्धी तीन वटा ऐन पारित गरेको हो ।

ऐन बनाउँदा स्वेच्छिक रुपमा कर तिर्न प्रेरित हुने वातावरण सिर्जना गर्नेलगायत राजश्वसम्बन्धी सामान्य सिद्धान्तलाई आधार बनाएको नगरपालिकाले करदातालाई ऐन बमोजिम लगाएको कर, दस्तुर शुल्क वा ऐनको व्यवस्थाबारे द्धिविधा भएमा सोको निराकरणका लागि प्रमुख प्रशासकीय समक्ष निवेदन दिन सक्ने कानूनी बाटो खुला गरेको छ ।

यस्तै करदाताबाट पेश भएको विवरण अस्पष्ट भएमा कर अधिकृतबाट कर परीक्षण गरी कर निर्धारण गर्न सकिने ऐनमा उल्लेख भएको छ । यस्तै ऐन बमोजिम असूल उपर गर्नुपर्ने करलगायत शुल्कवापतको रकम ऐनमा उल्लेख भएको अवधिमा दाखिला नगरे करदाताको कारोबार रोक्का गरेर, चल तथा अचल सम्पत्तिमाथि दाबी वा कब्जा गरेर समेत असूल गर्न सकिने ऐनमा व्यवस्था छ ।

विशेष परिस्थितिमा कर तिर्न नसक्ने अवस्था आए सोको जाँच बुझ गरी एक वर्षभित्र तीन किस्तामा दाखिला गर्न सकिने पनि कानूनी व्यवस्था भएको छ । बिहीबार नै प्राकृतिक स्रोतको समुचित उपयोग एवं दिगो व्यवस्थापन गर्न साथै वातावरण र विकासबीच सन्तुलन कायम गर्न वाताबरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन र सहकारी ऐन पारित गरेको छ ।

यसैबीच नगरपालिकाले चालू आवको फागुन मसान्तसम्ममा चालू खर्चतर्फ कूल विनियोजित बजेटको ४७।३८ प्रतिशत र पुँजीगततर्फको ३७।८५ प्रतिशत खर्च गरेको छ । चालू खर्चतर्फ रु ३५ करोड ७८ लाख ३१ हजार १५० विनियोजन भएको थियो भने पुँजीगततर्फ रु २१ करोड ७८ लाख २२ हजार विनियोजन भएको थियो ।

आठौँ नगरसभाद्वारा पारित भएका ६११ विकास योजनामध्ये ४०६ वटा योजना सम्पन्न भएका छन् । पुँजीगततर्फ हालसम्मको भौतिक र वित्तीय प्रगतिलाई हेर्दा क्रमश ३४।२१ र ४३।७८ प्रतिशत भएको प्रगति समीक्षा सार्वजानिक भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस