जोशी, विष्ट र गिरी पुरस्कृत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जोशी, विष्ट र गिरी पुरस्कृत


५ चैत्र २०७७, बिहिबार


कर्णाली । कर्णाली साहित्य समाज सुर्खेतले कला, संस्कृति र साहित्यतर्फ विशेष योगदान पुर्याउने मुलुकका तीन स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । समाजले आज पत्रकार सम्मेलन गरी ललितपुर निवासी वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कैलाली निवासी कथाकार ललित विष्ट र सुर्खेत निवासी गायक प्रेमदेव गिरीलाई पुरस्कृत गर्ने जनाएको छ ।

कर्णाली लोकसंस्कृतिलगायत दर्जनौँ कृतिका लेखक जोशीलाई ताम्रपत्रसहित ‘कर्णाली साहित्य साधना सम्मान’ प्रदान गरिने समाजका अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिए । त्यस्तै कथाकार विष्टको कथाकृति ‘मोहपथ’ लाई ५० हजारको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ र नेपाली लोक एवं वाद्यवादनका क्षेत्रमा कर्णालीलाई नेपाल तथा विदेशमा चिनाउन योगदान दिने वरिष्ठ कलासाधक गिरीलाई २५ हजारको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ प्रदान गरिने बताइएको छ ।

‘नेपाली साहित्य श्रीवृद्धि र कर्णालीको कला, संस्कृति र साहित्यलाई देशविदेशमा चिनाउन विशेष योगदान दिने सर्जकलाई प्राथमिकतामा राखेर छनोट गर्ने गरेका छौँ’, उनले भने । गत वर्ष ‘मरिचिका’ कथासङ्ग्रहका कथाकार महेश थापा, कवि तथा उपन्यासकार बुद्धिसागर र कवि ‘श्याम’लाई सम्मान तथा पुरस्कृत गरिएको थियो । यही चैत ११ गते तीन स्रष्टालाई वीरेन्द्रनगर सुर्खेतमा सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको समाजले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस