निबन्ध सङ्ग्रह ‘उद्बोधन’ को सार्वजनिकीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निबन्ध सङ्ग्रह ‘उद्बोधन’ को सार्वजनिकीकरण


४ चैत्र २०७७, बुधबार


कवि मित्रलाल पंज्ञानीको निबन्ध सङ्ग्रह “उद्बोधन” को सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रम मिति २०७७/११/२९ गते इच्छुक सांस्कृतिक प्रतिष्ठान काठमाडौँमा सम्पन्न भयो । उक्त निबन्ध लेखकले विभिन्न विधामा लेखिएका १६ कृतिहरुमध्येको पछिल्लो कृति हो । यो कृतिमा विभिन्न शीर्षक र सन्दर्भका ४० वटा निवन्धहरुको सङ्ग्रह गरी भुँडी पुराण प्रकाशनद्वारा वि. स. २०७७ माघमा प्रकाशन गरिएको थियो ।

उक्त कार्यक्रममा लेखकको कृतिका सम्बन्धमा विभिन्न विद्धानहरूले चर्चा गरेका थिए ।कार्यक्रममा साहित्यकार डा. धनप्रसाद सुवेदीले भने लेखकको जीवनलाई हेर्ने दृष्टिकोण स्पष्ट छ, युगिनचेतले युक्त लेखकका कृतिहरूमा सरल भाषा शैली छ भने लेखकीय मपाइत्व पाइँदैन । यसै गरी भाषिक कला, प्रगतिवादीता, बर्गीयपक्षधरता र भविश्यवादीता निबन्धकारका लेखकीय गुणहरू हुन् । उनले गतिशील यथार्थको कुरा गर्दछन्, उनका निबन्धहरुले यथार्थको चित्रण गर्दछन् र यथार्थमा आधारित हुन्छन् ।

यसै गरी साहित्यकार डा. रजनी ढकालले आफ्नो मन्तव्यमा भने, ‘मौलिक ग्रामीण भाषाहरू लेखकीय चिनारी हुन्न ठेट नेपाली भाषिक स्वाद उनको निबन्धमा पाइन्छ ।’ स्मृति, घटना र विचारलाई सटिकरूपमा पस्कन सक्ने लेखक हुन् पंज्ञानी । कुनै पनि लेखकले पाठकहरूमा प्रभाव छोड्नुपर्दछ त्यो सामर्थ्य लेखक पंज्ञानीमा रहेको छ । लेखकको निवन्धसंग्रहभित्र विभिन्न निबन्धहरूमा रहेको लेखकको निवन्धीय घटना र कौशललाई जोडेर ढकाल भन्दछन् सत्ता र शक्ति सामु पनी बोल्ने सामर्थ्य राख्ने व्यक्ति नै स्रष्टा हुन्,आदतको सत्ता भत्काउन निकै जटिल हुन्छ, एकान्तमा पनि जसले निष्ठा गुमाउँदैन त्यो ब्यक्ति असल हो, मानिसमा रहेको जुका प्रवृत्तिप्रति लेखकहरूले प्रहार गर्न जरुरी छ ।

उक्त मेसोमा अर्का परिचर्चाकार कवि ईश्माली भन्दछन्,निवन्धकार मित्रलाल पंज्ञानी सघन अध्ययानी व्यक्ति हुन् । चिन्तन, अध्ययन, विश्लेषण गरी रुचीकर रूपमा पस्कने कला नभईकन निबन्ध लेखिँदैन र लौ लेखिहालौँ न त भन्दैमा यो हुने विषय पनि होइन । साहित्यकार सत्ता र शक्तिको सधैँ प्रतिपक्ष बनेको हुन्छ, विभेदरहित समाज निर्माण गर्न चाहने साथीहरूको स्वतःस्फूर्त रूपमा बनेको एउटा समूहमा हामी सँगै पनि छौ ।

पछिल्ला दिनहरूमा समाजलाई सुन्दर बनाउन खोज्ने मान्छेहरूको खडेरी पर्दै गएको छ जुन चिन्ताको विषय हो । यस्तो परिवेशमा प्रस्तुत निबन्धले समाजको यथार्थलाई उजागर गरेको छ र सुधारको लागि झकझक्याएको छ । लेखकका प्रत्येक निबन्धहरू सन्देश र ऊर्जा दिने खालका छन् ।

अर्का टिप्पणीकार प्रा. डा. ताराकान्त पाण्डे निवन्धसंग्रहप्रती आफ्नो धारणा राख्ने क्रममा भन्दछन् । लेखक मित्रलाल पंज्ञानीको समग्र चिन्तन समाजमा सकारात्मकता फैलाउनु हो र लेखनको केन्द्रमा मानिसलाई राखेर विष्लेषणगर्नु हो । व्यक्तिले आफ्नो बाटो आफै पहिल्याउने र हिँड्ने हो, कुनै पनि मान्छे जन्मजात आफैमा खराब हुँदैन मान्छेको परिवेश तथा निजी सम्पत्तिमा समाजमा रहेको महिमाका कारण मान्छेले गलत बाटो समातेको हो मलाई हामीमा बदल्नु र सामुहिकीकरण गर्नु नै अहिलेको प्रमुख कार्यभार हो भने चुनौतीहरू पनि यसैमा छन् । प्रत्येक निबन्धहरू पाठकहरूसँग संवादको शैलीमा लेखिएका छन् । जुन पठनीय, रुचिकर र ग्राह्य छन् ।

उल्लेखित सबै भनाइहरू पश्चात् लेखकले भने, ‘यो मेरो आफ्नै छटपटी मात्र हो ।’ जेसुकै र जोसुकैको पनि प्रशंसा वा आलोचना सुनिरहन गाह्रै पर्ने हुनाले यस प्रकृतिको परिचर्चा कार्यक्रम ठिक हो कि होइन ? सबैका दृष्टिकोणहरू समान नहुन सक्छन् जुन शाश्वत नै छ । बेपत्ता जान्ने भएर वा जान्दै नजान्ने हुँदाहुँदै रहर मात्र गरेर पनि यो लेखिएको होइन । पाठकका सामु पस्किसकेको छु तपाईँको विवेकको छनौटले जे भन्छ रचनात्मक सुझाव सल्लाहलाई सधैँ स्वागत गरिरहनेछु र सिकिरहनेछु । हामी टुक्रे चिन्तनमा फस्यौँ चिन्तनलाई व्यवस्थित र व्यापक बनाउन सकेनौ । हर क्षेत्रमा सिक्ने विषय व्यापक छ अन्ततः समाज कसरी समुन्नत र विभेदरहित बनाउने हो भन्ने नै हाम्रो चिन्तन हो । जसका लागि दबिएकाहरू सङ्गठित हुनैपर्छ भने जिम्मेवारहरूले प्रशंसा र आलोचना दुवै सुन्न सक्ने क्षमता राख्नै पर्दछ ।

अन्त्यमा, उक्त कार्यक्रमको अध्यक्षता गरिरहनु भएका इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले लेखक पंज्ञानीको कृतिको अन्तर्य, नाभि, सार्वभौमिकताको विषयमा आफ्नो मन्तव्य राख्दै भने । लेखकको लेखकीय शक्ति र सीमाका विषयमा यस पूर्व वक्ताहरूले चर्चा गरिसक्नु भएको छ पुनः दोहोर्‍याउन उचित ठानिन । लेखक कुन संस्कारमा जन्मे, हुर्के, बढे, त्यो प्रत्यक्ष वा अप्रत्यक्ष तवरमा निबन्धमा आउँछ । उनको लेखन मिठास, सहजता र सरलताका विषय कृति पढ्दा मात्र अनुभूत गरिने कुरा हो भने मानिसलाई केन्द्रमा राखेर लेख्ने र युगको चेत मार्फत मानिसको जीवनलाई रूपान्तरण गराउने अभिलाषा लेखकको देखिन्छ जुन प्रशंसायोग्य छ ।

लेखकले निबन्धमा व्यङ्ग्यात्मक शैली मार्फत आफ्नोप्रगतिवादी विचार प्रस्तुत गरेका छन् । केही उदाहरणको रूपमा निबन्धमा रहेका उद्वरणहरुयसता छन् । जस्तो “नाकभित्रको जुको” शीर्षकको निबन्धमा लेखक पंज्ञानी लेख्छन्, कसैले आफ्नो कमी कमजोरी देखाइदियो भने बदलामा उसको कमी कमजोरी देखाएर हिसाब फच्चे गर्ने चलन बस्यो ।

मुखले जनतालाई महान् भन्ने र व्यवहार/मनले यी लाटाले केही जान्दैनन्, मैले मात्रै जानेको छु भन्नेबाट सुधार सम्भव छैन । यसै गरी”लोकतान्त्रिक चोरी” शीर्षकको निबन्धमा कवि पंज्ञानी भन्दछन्, रोजगारी र श्रमको मूल्यको व्यवस्था मिलाउन नसक्ने हो भने सरकार, संसद् र न्यायालय किन चाहियो ? गरिबलाई चुस्ने र धनीलाई पोस्ने प्रणालीको नाम लोकतन्त्र र निर्धालाई कुल्चने बलियालाई ढोग्ने प्रणालीको नाम समाजवाद हुनसक्छ र ? संविधानमा सबैको बराबरी हक लेखिए पनि गरिबहरू निर्णायक राजनीतिक पदमा चुनिनका लागि अयोग्य हुने विषय हाम्रो व्यवहारमा प्रचलित अलिखित कानुन हो । यो खर्च गर्न सक्ने धनीहरूको लोकतन्त्र हो । यसले तिनै धनाढ्यहरूको पक्षमा काम गर्छ । अझै पनि श्रमलाई दुःख र अपमानको गर्तमा खसालिएको छ । यत्रो धन कहाँबाट कसरी आयो भनेर सोध्ने र शङ्का गर्ने चलन स्थापित नभएसम्म भ्रष्टाचारको अन्त्य हुँदैन । यो शङ्का र प्रश्न जनताको घर घर र मन मनमा कहिले झाँगिन्छ कुन्नि !

उक्त निबन्ध कृतिका सम्बन्धमा भूमिका चैतन्यले लेखेका छन् । यस बारेमा चैतन्य लेख्दछन् सघनता, संक्षिप्तता र प्रभावोत्पादकता यस कृतिमा संग्रहित निवन्धकाविशेषताहरु हुन् ।अत:लेखकले चेतना, विचार, संस्कार, व्यवहारको परिष्कृतता मार्फत उद्वोधन गर्न खोजेका छन् ।तसर्थ पुस्तकले दिने ज्ञान र जागृति पढेपछि मात्रै थाहा पाइनेछ । हाल मान्छे को असल र को कमसल वा खराब चिन्न गाह्रो छ । जति सकिन्छ समाज रूपान्तरणको सामूहिक प्रयास गर्नुपर्छ भन्ने नै निष्कर्ष हो । लैङ्गिक, भाषिक, जातीय एवं वर्गीय पक्षबाट पनि लेखक चनाखो रहनुपर्दछ ।सामान्य पाठकहरूले अनुकरण गर्ने हुनाले कृतिलाई पाठकमाझ लैजाँदा उक्त पक्षहरूमा ध्यान दिनै पर्दछ ।

सामाजिक अग्रगामी रूपान्तरणको चेतनाबाट डोरिएर लेखिएका निबन्धहरू रहेकाले प्रस्तुत निवन्धसग्रह आफैमा उच्चस्तरको छ । मूलतः निबन्ध आत्मपरक, वर्णनात्मक र बिचारात्मक गरी ३ प्रकारका रहे पनि जब निबन्धमा आत्मपरकतालाई व्यक्तिपरकताले उछिन्छ त्यो बोझिलो बन्दछ यस मानेमा लेखक सजग छन् यो प्रगतिवादी विचारात्मक कृति हो । रूपान्तरणको कार्यभारलाई बोलेर होइन गरेरै देखाउनुपर्ने अवस्था रहेकोले आगामी दिनमा यस्तै भरिलो कृतिको अपेक्षा सहित सहभागीका तर्फबाट लेखकलाई शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस