डोटीमा जनस्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डोटीमा जनस्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना


३ चैत्र २०७७, मंगलबार


डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका अन्तर्गत वडा नम्बर ५ इन्द्रचोक सिलगढीमा मंगलबार एक कार्यक्रमका बिच जनस्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना गरिएको छ ।

स्वास्थ्य निर्देशनालयको सहयोगमा स्वास्थ्य कार्यालय डोटी मातहत रहने गरी उक्त केन्द्रको स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा. गुणराज अवस्थी र दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै निर्देशक अवस्थीले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका ९ वटै जिल्लामा जनस्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने कार्यक्रम रहेको बताए । आम नागरिकलाई नेपालको संविधानले निर्दिष्ट गरेका हक अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्य कर्मी भरपूर्ण प्रयासरत रहेको समेत बताए ।

दिपायल सिलगढी नगरपालिकाले पनि स्वास्थ्य, शिक्षा र खानेपानी लाई उच्च प्राथमिकता दिएर काम गरिरहेको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले बत्ताइन् । उनले स्वास्थ्य सेवाको सहज पहुँच नभएका ग्रामीण क्षेत्रमा वर्षमा कम्तीमा दुई पटक स्वास्थ्य शिविर सञ्चालन गर्न सके जनताले राम्रो सेवा पाउने समेत उनले बत्ताइन् ।

कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले स्वास्थ्य क्षेत्रमा जनसङ्ख्याको बढ्दो चापका कारण स्वास्थ्य सेवा पहुँच बढाउनुपर्ने र जनस्वास्थ्य प्रवर्द्धन केन्द्रलाई उद्देश्य अनुरूप सञ्चालन गरिनु पर्ने कुरामा जोड दिएका थिए ।

नागरिकको संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी अधिकारको केही हदसम्म भए पनि पूरा गर्न जनस्वास्थ्य प्रवर्द्धन केन्द्रले टेवा पुर्‍याउने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले पछिल्लो समयमा करिब ८० प्रतिशत मृत्युको कारण नसर्ने रोग भएकाले उक्त केन्द्रले त्यसबारे प्रवर्द्धनात्मक सेवा प्रदान गर्न सहयोग गर्ने बताए ।

केन्द्रमा हालका लागि एक जना एच.ए., एक जना अ।हे।व।, एक जना अ.न.मी. र एक जना कार्यालय सहयोगी गरी ४ जना जनशक्ति रहने समेत मलासिले बताए ।

कार्यक्रममा जिल्लाका सरोकारवाल निकाय लगायत स्थानीयको पनि सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस