काठमाडौँ । प्रदेश नं. २ सरकारले निःशुल्क लोक सेवा कक्षा सञ्चालन गर्ने भएको छ । ‘बेटी पढाऊ बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेश नम्बर २ का आठ ओटै जिल्ला बाट ४०/४० जना छात्रालाई छनोट गरी ६० दिने निःशुल्क लोक सेवा तयारी कक्षामा सहभागी गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
उक्त अभियानमा छनौट भएका सहभागीहरूलाई सप्तरी र सिराहाकालाई सप्तरीमा, धनुषा र महोत्तरीकालाई धनुषामा, सर्लाही र रौतहटकालाई रौतहटमा तथा बारा र पर्साका प्रशिक्षार्थीहरूलाई पर्सा जिल्ला सदरमुकाममा लोक सेवा तयारी कक्षामा सहभागी गराइने छ ।
योग्यता पुगेका इच्छुक छात्राहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटबाट फाराम भरी सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयमा चैत्र ७ गतेभित्र बुझाउन सूचनामा भनिएको छ ।
खरिदार वा सो सरह पदका लागि नेपाली नागरिक भएको र एसएलसी वा सो सरह उत्तीर्ण तथा नायब सुब्बा पदका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएको योग्यता आवश्यक रहेको छ ।