कफन ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कफन !


२९ फाल्गुन २०७७, शनिबार


गाउँभन्दा केही पर दुई तीनवटा झोपडीहरू भएको सानो टोल देखिन्थ्यो । ‘डोमवाटोला’ त्यसमध्ये एउटा झोपडीको मालिक ‘भिखरा डोम’ आफ्नो झोपडी अगाडि निधारमा हाथ राखी बसेको थियो। दुईवटा ठूलो र कैयौँ सानासाना प्वाल परेको मैलो र पुरानो ‘गन्जी’ र मैलो ‘लुङ्गी’ लगाएर खालि खुट्टा आफ्नै घर अगाडी बसेको भिखराको छेउमा जोगिया डोम आएर बस्यो। जोगिया नातामा भिखराको काका पर्थ्यो। सासू बुहारी एकैपटक सुत्केरी भएकोले दुवैको उमेरमा खासै अन्तर थिएन।

भिखराको अनुहारमा दुःख र चिन्ताको मिश्रित भाव देख्न सकिन्छ। आँखाका गहहरूमा आँसु अल्झेर बसेको सजिलै देख्न सकिन्थ्यो। उसको कानमा घरभित्र भएको रुवावासीको आवाज पर्दथ्यो । तर मस्तिष्कमा अर्कै सोचहरू दौडिरहेका थिए।
जोगियाले उसको काँधमा हाथ राख्दै भन्यो ‘जसरी भए पनि पार त लगाउनुपर्‍यो।’

‘घरमा एक रुपैयाँ छैन।’ उसको आँखा अझै बढी रसाएर आए।

त्यतिकैमा हस्याङफस्याङ गर्दै राधेश्याम आइपुग्यो। राधेश्याम ठूलो मालिकको आफन्त पर्थ्यो। ‘ठूलो मालिक’ गाउँका धनाढ्य व्यक्तिमध्ये एक र ठुला जातिका थिए। प्रायः ठुला जातिहरू डोमको घरदैलो टेक्दैनन्। तर आजकाल जातीय विभेदका कुराहरू चर्चामा आइरहेकोले त्यस ठाउँका ठुलाबडाहरू चाहेर नचाहेर डोमको दैलोसम्म टेक्न थालेका थिए।

दैलोमा पुगेर राधेश्यामले भन्यो ‘भिखरा ! ठूलो मालिक बित्नुभयो। सानो मालिकले आगो लिएर घाटमा बोलाउनुभएको छ।’

भिखरा र जोगियाले एकअर्कालाई हेरे !
शव जलाउने आगो डोमसँग किन्नुपर्ने चलन छ त्यहाँ।

‘म जान्छु नि त।’ जोगियाले भिखरालाई भन्यो।

म आफै जान्छु।’ भिखराले फर्कायो।

‘यस्तो अवस्थामा तिमी किन जान्छौ ?’ जोगियाले प्रश्न गर्‍यो।

‘होइन, म जान्छु। छिट्टै फर्किन्छु।’ भिखराले जवाफ दियो।

’राम नाम सत्य है !’ भन्दै ठूलो मालिकको शव बोकेर घाटतर्फ हिँडिरहेको भिडमा सामेल हुन भिखरालाई अनुमति थिएन।

भिखरा आगो लिएर अर्को बाटो घाटमा पुग्यो। घाटमा मलामीको भिडभन्दा पर बसेर शवसँग गरिने हरेक व्यवहार उसले नियालिरहेको थियो। आज यी क्रियाकलापहरूमा उसले अरू दिनभन्दा विशेष ध्यान दिइरहेको थियो।

दाहसंस्कार पश्चात् राधेश्यामले भिखरालाई हजारको नोट दिँदै भन्यो ‘सानो मालिकले दिनुभएको।’

उसले त्यो नोटलाई सुमसुम्याइरह्यो। नोट तर्फ हेर्दै उसले राधेश्यामलाई नमस्कार गर्दै फर्कियो।

बाटोमा बजारको एक कपडा पसलको अगाडि उभिएर साहुजीलाई हजारको नोट दिँदै भन्यो ‘साहुजी, ‘कफन’ दिनुस् न बुवा बित्नुभयो।’

उसको परेलामा आँसु टिलपिलाइरहेको थियो…।

Tags :
प्रतिक्रिया दिनुहोस