वडाध्यक्ष आक्रमणमा उत्रिएपछि नगरपालिकाका कर्मचारी अनिश्चितकालीन धर्नामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वडाध्यक्ष आक्रमणमा उत्रिएपछि नगरपालिकाका कर्मचारी अनिश्चितकालीन धर्नामा


२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । वडाध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतका पदाधिकारीहरू आक्रमणमा उत्रिएपछि कर्मचारीहरू अनिश्चितकालीन धर्नामा बसेका छन् ।

शिक्षकलाई तलब खुवाउने विषयमा विवाद हुँदा बरहथवा नगरपालिका–१७ का वडाध्यक्ष राम विश्वास राय, दुर्गा सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण रायलगायतले बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल तथा शिक्षा शाखाका कर्मचारी भूपनारायण अधिकारीमाथि कुटपिट गरेपछि कर्मचारीहरू धर्नामा बसेका हुन् ।

वडाध्यक्ष सायसहित आएको टोलीले गालीगलौज गर्दै आक्रमणमा उत्रेको प्रमुख प्रशासकीय अधिकृत भुजेलले बताए । दरबन्दी नै नभएको ठाउँमा नियुक्ति भएका शिक्षकहरूको गत वर्षदेखि नै रोकिएको तबलको विषयलाई लिएर हुँदै आएको विवाद हात हालाहालको अवस्थासम्म पुगेको भुजेलको भनाई छ ।

‘जिल्ला शिक्षा समितिले निर्णय नै नगरेको र पालिकाले सहमति नदिएका दुई दर्जन बढी शिक्षकहरूको तलब रोकिएको थियो’, प्रमुख प्रशासकीय अधिकृत भुजेलले भने, ‘जसमध्ये दुई–तीन जनाको दरबन्दी स्वीकृत गरेर अहिले पठाएकोमा एलएमबीआइएस सच्चिएर आएपछि खुवाउँछौँ भन्दा कुरा नबुझेर आक्रमणमा उत्रिए ।’

घटनाबारे मेयर र उपमेयरलाई ज्ञापन पत्र बुझाएको र भौतिकरुपमै आक्रमणमा उत्रिनेलाई कारबाही हुनुपर्ने उनको भनाई छ ।

यसअघिका वर्षहरूमा पनि वडाध्यक्षले यस्तै लफडा गर्दै आएको नगरपालिकाका कर्मचारी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस