महाशिवरात्रिका अवसरमा होम र महारुद्री पाठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महाशिवरात्रिका अवसरमा होम र महारुद्री पाठ


२७ फाल्गुन २०७७, बिहिबार


बनेपा । महाशिवरात्रिका अवसरमा काभ्रेपलाञ्चोकको बनेपास्थित चण्डेश्वरी र पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर प्राङ्गणमा विविध कार्यक्रम गरी महाशिवरात्रि पर्व मनाइएको छ ।

बनेपास्थित चण्डेश्वरी मन्दिर परिसरमा पतञ्जली योग समिति बनेपाले ‘२४ घण्टा अखण्ड गायत्री मन्त्र तथा मृत्युञ्जय जप तथा यज्ञ’ गरेको छ भने पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा महारुद्राभिषेक गरिएको हो ।

पतञ्जली योग समिति वाग्मती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेले शान्ति, समाज र वातावरण शुद्धीका लागि ‘२४ घण्टा अखण्ड गायत्री मन्त्र तथा मृत्युञ्जय जप तथा यज्ञ आयोजना गरिएको बताए । महाशिवरात्रिको अवसरमा गायत्री मन्त्र जप गर्दा परिवारमा शान्ति, स्वस्थ हुनुका साथै दिवङ्गत आत्माको शान्तिका लागि यज्ञ आयोजना गरेको उनको भनाइ छ ।

शिवरात्रिको दिन गरिएको महामृत्युञ्जय मन्त्र र गायत्री मन्त्रको जपमा इच्छुक सबै महानुभावले सहभागिता जनाउन सक्ने तौजलेले बताए । शुत्रबारसम्म सञ्चालन हुने यज्ञमा मनलाई शान्त पार्न हरेक व्यक्तिले होम गर्न सक्ने उनले जानकारी दिए।

त्यस्तै पनौतीमा भएको कार्यक्रममा भागवत धर्म संरक्षण समितिले महारुद्री पाठ कार्यक्रम आयोजना गरेको छ । आयोजक समितिका अध्यक्ष अच्युत वाग्लेले इन्द्रेश्वर महादेव र सिङ्गो पनौतीको प्रचारप्रसार गर्ने उद्देश्यले महारुद्री पाठको आयोजना गरेको बताए ।

ऐतिहासिक एवं धार्मिकस्थल पनौतीको महत्वबारे गर्नुपर्ने प्रचारप्रसारमा कमी आएका कारण पनि थप प्रचार गर्ने र आध्यामिक प्रचार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको उनले बताए । आज भएको कार्यक्रममा १३० ब्राम्हणद्वारा इन्द्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा महारुद्री पाठ गर्ने काम सम्पन्न भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस