रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्दै कोमल वलीले भनिन्–‘क्षम्य हुने खालको छैन’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्दै कोमल वलीले भनिन्–‘क्षम्य हुने खालको छैन’


२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । राष्ट्रियसभा सांसद कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध गाली–बेइज्जतीको कसुरमा मुद्दा दायर गरेकी छन् ।

मङ्गलवार काठमाडौँ जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध सांसद वलीले गाली–बेइजतीको मुद्दा दायर गरेकी हुन् ।

नेता पन्तले गरेको टिप्पणीले आफूलाई चोट पुगेको तथा समस्त आमा, दिदी–बहिनीहरूको मान–प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नुपरेको सांसद वलीले बताइन् ।

‘सम्पूर्ण आमा, दिदी–बहिनीहरूमाथि लैङ्गिक हिंसा, उहाँले माफी माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । यस्ता शब्दहरू प्रयोग गर्नुभएको छ कि माफ गर्न क्षम्य हुने खालको छैन । त्यस कारणले गर्दा मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन, समस्त आमा, दिदी–बहिनीहरूको मान–प्रतिष्ठामा चोट पुगेको हुनाले म मुद्दा दर्ता गर्दै छु ।’ मुद्दा दायर गर्दै उनले भनिन् ‘सम्पूर्ण आमा, दिदी–बहिनीहरूमाथि लैङ्गिक हिंसा भएको हुनाले, यौनिक उत्पीडनको कुरा भएको हुनाले, यौनिकता, महिला शोषणको कुरा भएकाले कानुनी प्रक्रियामा जाने मैले निर्णय गरेँ, अदालतले जे निर्णय गर्छ, त्यसलाई मैले आत्मसात् गर्नेछु ।

नेता पन्तले सांसद वलीमाथि केही समयअघि एक कार्यक्रममा असभ्य टिप्पणी गरेका थिए । सो टिप्पणीको सर्वत्र आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस