दोहोरो सुविधा नलिने अख्तियार प्रमुख राईको घोषणा, पेन्सन रोक्का गरिदिन पत्राचार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दोहोरो सुविधा नलिने अख्तियार प्रमुख राईको घोषणा, पेन्सन रोक्का गरिदिन पत्राचार


२४ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले २०७७ फागुनदेखिको पेन्सन सुविधा नलिने घोषणा गरेका छन् ।

प्रमुख आयुक्त राईले प्रमुख आयुक्तको रूपमा आयोगबाट पारिश्रमिक र सेवा सुविधा पाउँदासम्म नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तिभरण नलिने स्वघोषणा गरेका हुन् । पूर्व सचिव राई २०७७ माघ २१ गते अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका थिए ।

प्रमुख आयुक्तको हैसियतमा प्राप्त हुने सेवा सुविधा मात्र लिने स्वघोषणा गर्दै राईले पेन्सन सुविधा रोक्का राखिदिन निवृतीभरणको कार्यालयलाई पत्राचार गरेका छन् ।

निजामती प्रशासनमा स्वच्छ छविको प्रशासकका रूपमा चिनिने राईले सुधार आफैँबाट सुरुवात गर्नुपर्ने र राज्य कोषबाट दोहोरो सुविधा नलिने आफ्नो मान्यता अनुसार निवृतीभरणको कार्यालयलाई आग्रह पठाएको बताए ।

यसअघि आयोगका पदाधिकारीहरूले आयोगबाट प्राप्त हुने सेवा सुविधाका साथै पूर्व कर्मचारीको हैसियतमा प्राप्त हुने पेन्सन सुविधा पनि लिँदै आएका थिए ।

संवैधानिक निकायमा नियुक्त भएपश्चात् प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि दोहोरो सुविधा नलिने बताउँदै प्रमुख निर्वाचन आयुक्तको रूपमा सेवा र सुविधा प्राप्त गर्दासम्म पूर्व कर्मचारीको रूपमा प्राप्त हुने पेन्सन सुविधा रोक्का राखिदिन आग्रह गरेका थिए ।

त्यस्तै नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले पनि सुरुदेखि नै दोहोरो सुविधा लिएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस