सङ्घीय शिक्षा ऐन तर्जुमाको गृहकार्यमा सरकार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सङ्घीय शिक्षा ऐन तर्जुमाको गृहकार्यमा सरकार


२४ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले सङ्घीय शिक्षा ऐन तर्जुमाको गृहकार्य थालेको बताएका छन्।

भारत सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका-१५ नैकापमा निर्माण गरिने विष्णुदेवी माध्यमिक विद्यालय भवनको सोमबार शिलान्यास गर्दै उनले २०२८ सालको शिक्षा ऐनलाई २१औँ शताब्दी सुहाउँदो बनाउन सङ्घीय शिक्षा ऐन तर्जुमाको तयारी भइरहेको बताए ।

सार्वजनिक विद्यालयको गरिमा बढाउन तथा पठनपाठनको वातावरण बनाउन गुणस्तरीय शिक्षाको आवश्यकतामा जोड दिँदै उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू दृढ रहेको बताए । भारत सरकारको अनुदान ६ करोड ४९ लाखको लागतमा पुनःनिर्माण हुन लागेको उक्त विद्यालय भवन नेपाल सरकारले निर्धारण गरेको भूकम्पमा नभत्किने मापदण्डअनुरुप बनाइने छ ।

शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी अब बन्ने तीनवटा नयाँ संरचनामा १३ वटा कक्षा कोठा, प्रेक्षालय, प्रयोगशाला, कम्प्युटर र पुस्तकालय कक्षका साथै छात्रछात्राका लागि बेग्लाबेग्लै सुविधा सम्पन्न शौचालयको व्यवस्था हुनेछ ।

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनःनिर्माणका लागि भारत सरकारले ५ अर्बभन्दा बढी आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएअनुरुप उक्त विद्यालयको भवन निर्माण प्रारम्भ भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस