प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित


२३ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी काँग्रेस, नेकपा(दाहाल-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

पुनः स्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै काँग्रेस, नेकपा(दाहाल-नेपाल) समूह, जसपाका नेताहरूले सदनमा नाराबाजी गरेका थिए । दाहाल नेपाल समूहका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका थिए भने काँग्रेसको विरोधका बिच अध्यादेश पेस गरिएको थियो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय अध्यादेश सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन अध्यादेश र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही संशोधन गर्ने अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ पेस गर्ने कार्यसूची थियो

५ बजेर १० मिनेटपछि सुरु भएको बैठकमा जबरजस्ती अध्यादेश पेस गरिएपछि काँग्रेस र जसपा सांसदहरूले अगाडि गएर नाराबाजी गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरे । तर सहमति नजुटेपछि बैठक २६ गतेका लागि सारिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस