संसदीय दलको बैठकमा ११५ सांसदको उपस्थिति भएको ओली समुहको दावी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संसदीय दलको बैठकमा ११५ सांसदको उपस्थिति भएको ओली समुहको दावी


२२ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठक सकिएको छ । बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति रहेको ओली समुहले दावी गरेको छ ।

नेकपाका सांसद खिमलाल भट्टराईकाअनुसार आजको बैठकमा ११५ जना सांसदको सहभागीता रहेपनि केही सांसद काम विशेषले सहभागी हुन नसकेको र भोलीसम्म १३० सम्म संख्या पुग्ने आशा गरिएको जानकारी दिए ।

संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले उत्साहकासाथ अघि बढ्न सांसदहरुलाई आग्रह गरे ।आफूहरु देश र जनताको पक्षमा रहेकाले चिन्ता लिनुपर्ने कुनै कारण नभएको भन्दै प्रधानमन्त्री ओलीले सरकार र पार्टीको पक्षमा एकतावद्ध र सक्रिय भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देश दिएको सांसद भट्टराईले बताए ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उक्त सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो । सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते आइतबार अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

आइतबार बस्ने संसद बैठकमा दलको तर्फबाट गरिएको छलफल र निर्देशनका आधारमा सांसदहरुले आफ्नो भूमिका निर्वाह गर्ने सांसद भट्टराईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस