कर्मचारीले परिवर्तन गर्न पर्ने संस्कार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारीले परिवर्तन गर्न पर्ने संस्कार


२२ फाल्गुन २०७७, शनिबार


उनको देश अमेरिकामा करिब ५० प्रतिहशत विवाहित जोडी (श्रीमान श्रीमती) मा छोडपत्र हुन्छ रे ! त्यस्तो हुनु भनेको ५० प्रतिशत जनतामा कुनै न कुनै किसिमको तनाव हुन्छ रे ! बाबुआमाबीचमा सौहार्दता नभएको वातावरणमा हुर्केका बच्चा एकाङ्गी र सामाजिक हुँदैनन् भन्ने उनको ठहर रहेछ । सामाजिक र पारिवारिक सम्बन्ध कमजोर हुँदै गएकोमा त्यहाँका सामाजशास्त्री चिन्तित हुने गरेको कुरा उनले सविस्तार बताउँदै नेपालको संस्कार संस्कृतिमा जैविक जीवन्तता भएको मेरा एक जना मित्रको बुझाइको सेरोफेरोमा यो लेख केन्द्रित छ ।

फलनाले श्रीमतीलाई मत्यायो भाडा पनि आफै माझ्छ । उसका कपडा समेत आफै सुकाउँछ, उठाउँछ लाजै छैन । फलानोले त श्रीमानलाई कजाउनसम्म कजाउनी भई मातेर भुईँमा खुट्टै छैन । यी र यस्ता हाम्रो समाज र छरछिमेकमा सुन्न पाइन्छ। यी आफ्नै घरपरिवार र आफन्तमा अझ बढी हुने अन्त्यतै अनौपचारिक गन्थन हुन् । कहिलेकाहीँ म पनि यसको कुनै न कुनै रूपमा सक्कली पात्र हुन पुग्छु। पहिला लाजले भुतुक्कै हुन्थेँ । अहिले अलि दङ्ग पर्छु। कहिलेकाहीँ अलि भावुक पनि हुन्छ । कहिले मनमनै हाँसी रहेको हुन्छु । तर, प्रायः बेवास्ताको विषय बन्छ । यसले पहिला जस्तो लाजले छुँदैन ।

पहिला मानिस कृषिमा आधारित जीवन पद्धतिमा बाँचेका थिए । हलो जोत्ने, खेतको आलि लगाउने, दाइहाल्ने, जस्ता शारीरिकरूपमा बढी गाह्रो काम पुरुषले गर्ने गर्थे । स्वाभाविक थियो महिला भन्दा पुरुष उनीहरूको शरीरको बनावटको कारणले शारीरिकरूपमा तन्दुरुस्त हुन्छन् । त्यतिवेला लेनदेन तथा घरको व्यवहार प्रायः पुरुषले गर्थे । ऋण खोज्ने ऋण दिने साहु र आसमीको व्यवहारमा पुरुष जोडिन्थ्यो किनकि यी काम मानसिक र शारीरिकरूपमा पनि तुलनात्मकरूपमा कठिन हुन्थ्यो । महिलाहरू घरभित्रको आन्तरिक मामला व्यवस्थापन गर्ने गर्दथे । खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने जस्ता काम महिलाहरूको जिम्मेवारीमा थियो । त्यतिवेला यी काम तुलनात्मकरूपमा कम शारीरिक श्रम पर्ने मानिन्थ्यो । त्यसैले हाम्रा पुर्खाले महिलालाई सम्मान गर्न सिके त्यही अनुसार व्यवहार गरे । उनीहरू कति विदेकी थिए ।

तर अहिले परिवेश बदलिएको छ । पुरुष र महिला दुवैले गर्ने कामको प्रकृति बदलिएको छ । जीवन शैली बदलिएको छ । खानपिनको तरिकामा परिवर्तन आएको छ । प्रविधिको विकासले झन् यी पक्षको परिवर्तनमा तीव्रता दिएको छ । तर सो मुताबिकको हाम्रो जीवनशैली र कार्य व्यवहारमा परिवर्तन आउन सकेको छैन । हामी चाडबाडमा विशेष गरी दसैँमा सबै परिवार जम्मा हुन्छौँ । कहिलेकाहीँ सबै जम्मा भएर खानपिन गर्ने गरिन्छ तथापि यो परम्परा पातलिन थालेको छ । कतिसम्म भने हामी खाना खान पनि सँगै खाँदैनौँ । पहिलासँगै खान मिल्दैनथ्यो । व्यवहारिक पनि हुँदैनथ्यो । पाकेको खानासँगै पस्केर सँगै बसेर खान राम्रै हुन्थ्यो होला, तर हामी धेरैजसो परिवारमा त्यसो गरिँदैन । अझ पुरुष पाहुना आए त महिलाहरू पछि नै खान पर्ने नियमै जस्तो व्यवहार पाइन्छ ।

मलाई एक जना विदेशी विश्वविख्यात प्राध्यापकको कुरा याद आउँछ । एक दशक जति पहिलाको कुरा हो –‘हामी २६ देशका ४२ जना सहभागी भएर ६ महिनाको एउटा अन्तराष्ट्रय कार्यक्रममा एउटै आवास गृहमा एउटै भान्छामा खाना खान्थ्यौँ । ती प्राध्यापकले तिमीहरूको यो छ महिनाको बसाइमा सबैभन्दा उपलब्धिमूलक विषय के होला ? भनी प्रश्न गरे । उनले हाम्रो परीक्षा त्यसरी लिन खोजे । हामीले आ–आफ्ना कुरा भनियो । तर उनको परीक्षामा हामी फेल भयौँ । उनले भने एक अर्काको संस्कार र संस्कृतिको बारेमा जानकारी सबै भन्दा महत्त्वपूर्ण विषय हुनु पर्छ । उनीले भन्दै गए संस्कार र संस्कृत कुनै पनि नराम्रो हुँदैन । त्यो तत्कालीन परिवेश र आवश्यकताले जन्माएको हुन्छ । त्यो आविष्कार हो । वैज्ञानिक र व्यवहारिक हुन्छ । जीवन पद्धतिको सरल र सहज पक्रिया हो । तसर्थ हरेक संस्कार र संस्कृति आफैमा अध्ययन र अनुसन्धानका विषय हुन्छन् । ज्ञानका स्रोत हुन् । त्यस सम्बन्धी एक अर्कोमा हुने सिकाइ अर्को तरिकाले तिमीहरूले प्राप्त गर्ने सम्भावना नै रहँदैन । त्यसैले भिन्न देशका दुई जनालाई एउटै कोठामा राखिएको हो भनेर भन्दै गए ।’

उनको भनाइ थियो कतिपय यस्ता परम्परागत अभ्यासलाई समय सापेक्ष रूपमा रुपान्त्रण गर्न नसक्दा अन्धविश्वासी बन्न पुगिन्छ । अविवेकी भइन्छ । अव्यवहारिक भइन्छ । अघिल्लो पुस्ताको वैभव (राम्रो संस्कार) लाई जोगाएर अनुकूलन गर्नु हाम्रो दायित्व हो । विवेकशील प्राणी मानिसको कर्तव्य हो । वास्तवमा उनका यी भनाइ मेरो निम्ति सधैँ स्मरणीय बने । उनको त्यो भनाइ पछि हाम्रो त्यहाँको कार्यक्रमको बाँकी दिनहरूमा हाम्रो एक अर्कोलाई बुझ्ने कुरामासमेत परिवर्तित भएको अनुभव गरेका थियौँ । हाम्रो एक अर्कोलाई गर्ने व्यवहार नै परिवर्तन भएको थियो ।

संस्कारको कुरा गर्दा म इजरायलमा बस्दा मेरा ओल्लोपल्लो कोठामा बस्ने दुई जना अमेरिकन साथीसँगको अनौठ विषयको याद आउँछ । नेपालको बारेमा पुरै अपरिचित एक जना जो नाम गरेका मित्र धर्मशास्त्रमा स्नातकोत्तर गर्न त्यहाँ पुगेका रहेछन् । उनले मेरो परिचय लिएपछि नेपाल देश सुन्दै नसुनेको कुरा बताए । त्यसको केही दिनमा नेपालको दुईवटा कुरा अदभूत लाग्यो भन्दै मेरो कोठमा छिरे । उनका अनुसार पहिलो सगरमाथाको देश र दोस्रो, छोडपत्र पारपाचुके ज्यादै कम भएको मुलुक रे !

दोस्रो विषय मेरो निम्ति नौलो हुन पुग्यो । मलाई उनले प्रश्न गरे किन त्यस्तो होला यो त साह्रै राम्रो पक्ष हो भन्दै गए । उनको देशमा करिब ५० प्रतिशत श्रीमान श्रीमतीमा छोडपत्र हुन्छ रे ! उनका अनुसार त्यस्तो भनेको ५० प्रतिशत जनतामा कुनै न कुनै किसिमको तनाव हुन्छ रे ! बाबुआमाबिचमा सौहार्दता नभएको वातावरणमा हुर्केका बच्चा एकाङ्गी र सामाजिक हुँदैनन् भन्ने उनको ठहर रहेछ । सामाजिक र पारिवारिक सम्बन्ध कमजोर हुँदै गएकोमा त्यहाँका सामाजशास्त्री चिन्तित हुने गरेको कुरा उनले सविस्तार बताए । उनको विषयवस्तुको गहिराइमा पुग्ने शैली र सीपले पनि मलाई दङ्ग बनायो ।

ती मेरा जो नामाका साथीले नेपालमा त्यस्तो छोडपत्र कम हुनाको कारण मलाई सोधे । मैले बताउन सकिन । पछि उनले हामी त्यहीसँगै हुँदै धेरै अध्ययन गरेछन् । उनको मसँग निकै रोचक पूर्ण कुराकानी भयो। तिमीहरूको विवाह पद्धति नै निकै रोचक र वैज्ञानिक रहेछ । सामाजिक संस्कारयुक्त रहेछ भनी सुनाउन थाले । पहिलो चरणमा दुई परिवारको हैसियत, औकात, खानदान मिलाएर मात्र आफ्ना चिनजानेका मानिसले वा लमी (दुई पक्ष बिचमा सम्बन्ध कायम गर्न मद्दत गर्ने व्यक्ति) ले विवाहको कुराको उत्पत्ति गर्दो रहेछ ।

दोस्रो चरणमा केटो र केटी दुवैको घर परिवारमा र निकटका मानिसहरु बीचमा कुराकानी हुने रहेछ । त्यसबाट सकारत्मक परिणाम भएमा वा त्यस्तो लागेमा पण्डितसँग अनुमति लिने काम हुँदो रहेछ । ती पण्डितले जन्मदेखि आजसम्मको सबै विषयवस्तु जानकारी लिएर शास्त्रसमेत अध्ययन गरेर आफ्ना राय दिने रहेछन् । त्यसका आधारमा हुने नहुने निर्णय हुने रहेछ । हुने नै अवस्थामा पुगेमा बल्ल केटाकेटीलाईसँगै राखी कुराकानी गराइने चलन रहेछ । उनीहरू सहमत भएपछि नजिकमा आफन्त बसेर टिकाटाल (विवाहको निर्णय) हुने रहेछ । त्यही दिन कहिले, कति जना, कुन तरिकाबाट केटी लिन आउने भन्ने निर्धारण गरिने रहेछ । उनी भन्दै गरे म दङ्ग पर्दै गए । यो सबै प्रक्रियाले नयाँ दम्पती बीचमा सम्बन्ध प्रगाढ बनाउने सूक्ष्म, स्थापित र वैज्ञानिक तरिका रहेछ । यसले उनीहरूका परिवारमा पनि सम्बन्ध राम्रो बनाउँछ भन्दै गरे ।

उनको अध्ययनको गहिराइले मलाई आश्चर्य चकित बनायो । कताकता आफ्नो कमजोर जानकारीप्रति ग्लानी जस्तो पनि भयो । उनी अरू थप गर्दै गए विवाहको दिन आफन्त अनिवार्य र वरपरका छिमेकी सबै मिली बाजागाजासहित केटी लिन जाने रहेछ । रातभरका विवाह क्रमका प्रत्येक चरण र गतिविधि भावी जीवनका लागि तयारी रहेछ । यी सबै भावी दाम्पत्य जीवन सहज र प्रगाढ बनाउने उपाय हुन् । साक्षी बस्ने पण्डितले शास्त्रको आधारमा धेरै पटक कसम खुवाउने, नाचगान, शिलोक हाल्ने यी सबै पक्ष दुई परिवार बिचको अनुकलनको वैज्ञानिक र रमाइलो तरिका रहेछ । कस्तो मज्जा एउटा जोडीका लागि र एउटा घर परिवारको निम्ति हप्तौँ दिनसम्म छिमेकीको निरन्तर सहयोग हुने, आफ्नै काम जस्तो गरी गर्ने । त्यो सामाजिक संस्कार, जीवन्त सामाजिक संस्कार, वैज्ञानिक, पूर्ण जैविक, भनी मलाई दङ्ग पार्दै गए ।

उनले विवाहपछि केटाकेटी भएर दुलन (दुरन) फर्काउन जानेसम्मका कुराको राम्रैसँग जानकारी लिएछन् । नव दम्पतीका लागि त्यो दुरन कर्म केही दिनका पारिवारिक कुरालाई आपसमा मन खुलेर कुरा गर्ने अवसरकोरूपमा व्याख्या गर्दै गर्थे म मनुवा अचम्म मान्दै सुन्दै गर्थेँ । यसरी धेरै चरण पुरा गरेको विवाहको जोडीमा कुनै बेला बीचमा सम्बन्धमा तिक्तता देखिएमा घर परिवार, नजिक आफन्त, साथीभाइलेसमेत सम्बन्धलाई पुनः जीवितता प्रदान गर्नेसम्मका प्रयासले पारपाचुके कम हुने, उनको ठम्याइ रहेछ । हो मा हो मिलाइँदै सहमत हुँदै सुनी राखेँ । यसले हाम्रा पद्धतिका बारेमा फेरि एकपटक सोच्न बुझ्न पर्छ भन्ने लाग्यो ।

यसरी संस्कार र संस्कृतिका कुरा गर्दा म आफूले केही वर्ष पहिलादेखि घरका घरायसी काममा अलि बढी संलग्न हुने गरेको, विशेष गरी भाँडा माझ्ने काममा संलग्न हुन लागेको विषय अलि रोचक बन्दै गरेको प्रसङ्ग याद आउँछ । यो मेरो व्यवहारलाई जागिरका एक जना आफूभन्दा अलि जुनियर मित्रले पनि सो अनुसार गर्न सुरु गरेछन् । बिचबिचमा उनीसँग कुरा हुने गर्थ्यो उनी खुसी नै थिए । घरपरिवार विशेषगरी श्रीमती दङ्ग परेको कुरा सुनाउँथे मलाई पनि रमाइलै लग्थ्यो । एक दिन मसँग समय लिएर नै एउटा गजबको कुरा उनले सुनाए । के भएछ भने ‘एक दिन उनका भान्जीहरू र अर्को दिन भतिजीहरू उनकोमा पाहुनकोरुपमा आए छन् । ती साथीले भाँडा माझेको उनीहरूले मज्जाले हेरेर बसी रहेछन् । यो कुरा उनको घरपरिवार र आफन्तमा समेत चर्चाको विषय बनेछ । उनलाई मैले प्रश्न गरेँ ‘तपाइलाई के भयो त ?’ उनको उत्तर थियो ‘हाम्रो संस्कार त आफू भन्दा ज्येष्ठलाई आदर र मान सम्मान गर्ने हो । तर त्यो त सबै भत्कियो बिग्रियो झन् चौपट्ट पो हुने हो जस्तो लाग्यो । हामीले भाँड माझ्ने भतिजा, भतिजी र भान्जा भान्जी हेरेर बस्ने’ मैले खासै केही प्रतिक्रिया दिइन । तर मैले सान्त्वना दिँदै भने मलाई पनि ठ्याक्कै त्यस्तै परेको छ । यसबारेमा अलि सोच्न पर्ने भयो । संस्कारको परिवर्तन अलि बिस्तारै जाति हुन्छ भन्ने गर्थे ठिकै रहेछ क्यारे जस्तो लाग्यो भनेर सो प्रसङ्ग टुङ्ग्याउने प्रयत्न गरेँ ।

यस्तो घटनाले मलाई एक पटक दक्षिण कोरिया जाँदाको याद आयो । हाम्रो करिब एक महिनाको त्यहाँको बसाइ थियो । एक जना मेरा आफन्त साथी त्यहाँ अध्ययन गर्दै हुनुहुन्थ्यो । एक दिन कोरिया कै दुई जना वहाँका एक अर्कोमा अपरिचित साथीहरू वहाँ र म चार जनाको एकै ठाउँमा खाना खाने बन्दोबस्त मिलाउनु भएछ । उहाँका ती दुईजना साथी दुई भिन्न कलेजमा पढ्ने साथीहरू रहेछन् । त्यहीँ दिन पहिलो पटक भेट हुने रहेछ । दुई जना करिब एकै समयमा आइपुगे तर निकै असजिलोसँग एक छिन रहे । कोरियन भाषामा कुरा गरे । तत्कालै एक जना उठेर अर्को तिर आदरपूर्वक झुके । अनि बडो मज्जाले कुरा गर्न थाले । मैले सोचेँ तिनीहरू नातेदार रहेछन् । हाम्रोजस्तै चलन रहेछ । यिनीहरूको ढोग गर्ने कस्तो काइदाको चलन रहेछ भन्ठाने । तर त्यो पनि होइन रहेछ । त्यहाँ आफूभन्दा ज्येष्ठलाई असाध्य नै आदर गर्ने चलन रहेछ । आफू भन्दा ज्येष्ठ मानिस देख्नसाथ मज्जाले शिर निहुराउँदा रहेछन् झुक्दा रहेछन् । दुईजना उही उमेरका जस्ता भेट भएमा एक अर्कोमा ज्यादै अप्ठ्यारो मान्दा रहेछन् । कसले कसलाई मान्ने र आदर गर्ने भन्ने कुराले उनीहरूलाई असजिलो बनाउँदो रहेछ । उमेरको बारेमा स्पष्ट भए पछि मात्र सौहार्दता कायम हुने रहेछ । ती दुई जनाको कुरा पनि त्यही रहेछ ।

त्यहाँ मैले सिकेको अर्को महत्त्वपूर्ण विषय म र हामी वा हाम्रोको प्रयोग हो । भन्नाले उनीहरू ‘मेर’ वा ‘म’ भन्न धेरै मनपराउँदा रहेनछन् । भन्नाले ‘मेरो घर’ नभन्ने ‘हाम्रो घर’ भन्ने । ‘मेरो शिक्षक’ नभन्ने हाम्रो शिक्षक रे ! तपाइलाई खाना पकाइदिन्छु नभन्ने खाना पकाउँछु भन्ने । तिम्रो लुगा धोइदिन्छु नभन्ने तिम्रो लुगा धुन्छु भन्ने । त्यही विषयका बारेमा मैलै एक जना त्यहाँका समाजशस्त्री प्राध्यापकसँग उठान गरेँ । उनले बडो मजासँग व्याख्या गरे । ‘पूर्वीय दर्शनले हामी भन्छ । यो पूर्वीय संस्कार समूहमा आधारित हो । पश्चिमा दर्शनले म भन्छ । व्यक्तिमा आधारित हुन्छ ।’ भनी उनले व्याख्या गरे । मलाई पो उल्टो काम दिए । ‘तिम्रा पुराना ग्रन्थ र पुराना परम्परा बुझ्ने प्रयास गर्नु हाम्रो र तिमीहरूको भाषा, सभ्यता र संस्कार करिब उस्तै हो’ भने । नेपाली संस्कृति त्यो हिन्दु होस् वा बुद्ध धर्ममा आधारित पूर्वीय दर्शनमा आधारित छ । साह्रै धनी छ । ग्रन्थहरू असाध्य नै पुराण छन् भनेर मलाई दङ्ग पारे ।

अहिले मेरो बा र आमा दुवै हुनु हुन्न । वहाँहरूले पनि हामी नै भन्ने गरेको याद छ मलाई । तर अहिले त्यस्तो पाउँदिन । हाम्री आमाले तँलाई भोलि बिहानै खाना पाकाउँछु खाएर मात्र जानु । बुबाको लागि छुट्टै खाना पकाएकी छु भन्नु हुन्थ्यो । भैँसीका लागि कुँडो पकाएकी छु भन्ने गर्नु हुन्थ्यो । हाम्रो घर । हाम्रो गाईको गोठ । हाम्रो खेत । हाम्रा हली दाइ भन्थ्यो तर मेरो गोठ । मेरो घर हामी भनिँदैनथ्यो । तर आजकल भाषा बिग्रिएको हो जस्तो अनुभूति भएको छ । तपाईँलाई औषधि ल्याइदिएको छु । मेरो घर आउनु । लुगा मैलिएछ धुन मेसिनमा राखिदिन्छु यस्ता व्यक्ति केन्द्रित शब्दावली र शब्दले प्रभुत्व जमाउन थालेको छ । हाम्रो पनमा । हामी बिग्रिँदै गएका छौँ ।

हिजोको जीवन पद्धति र आजमा फरक छ । मानव सभ्यताको विकाससँगै मानिस कृषिमा आधारित जीवनशैली बिताउँदै आउन थालेको थियो ।पारिवारिक पृष्ठभूमिका खेती किसानी उसको दिनचर्या थियो । नेपालमा अझै पनि जनसङ्ख्याको ठुलो भाग यो पेशमा संलग्न छन् । तथापि पहिला जस्तो अब छैन । त्यो परम्परागत चलन परिवर्तन हुँदै छ । पेसा पनि विभिन्न प्रकारका देखिन थालेका छन् । स्थानीय तहसम्म पढ्नका लागि सबैको पहुँच भएको पेसा शिक्षक भएको छ । कुरा त्यहीँबाट सुरु गर्न मन लाग्यो । एक परिवारका श्रीमान् र श्रीमती शिक्षक छन् । चाडबाड आएपछि श्रीमती माइत जान खोज्दछिन् । असाध्य नै रहर गर्छिन् । श्रीमानले यहाँ घरमा कसले गर्छ र जाने भनी सकभर आलटाल गर्न खोज्छन् । मानौँ घरको काम गर्ने ठेक्का उनकै हो । त्यस्तै श्रीमान् र श्रीमती दुवै जागिरे छन् । उस्तै उस्तै ‌ओहदामा । श्रीमतीले बिहानको खानपिन घरधन्दा लगायत बच्चाको टिफिन, पोषाक आदिको सबै जिम्मेवारी लिएको देखिन्छ, तर त्यो हदको पिरलो र जिम्मेवारी श्रीमानमा देखिँदैन ।

त्यसैगरी घर सफा गर्ने र भाँडा माझ्ने त श्रीमती कै जिम्मेवारी हो जस्तो लुगा धुने जिम्मेवारीसमेत । दसैँ लगायतका चाडवाडमा पुरुषहरू कित गफ दिएर बस्ने कि त तास खेल्ने महिलाहरू खाना पकाउने । खाना मिठो भएन समयमा भएन भनेर गनगन पुरुषहरू गर्छन् । महिलाहरू चुपचाप रही उनीहरूको भनाइ सुन्दै माग पुरा गर्न लाग्छन् । यी र यस्ता कुराले मलाई कहिले काहीँ मनमा उद्भ्रम गराउँछ । एउटै परिवारमा छोरी खाना पकाउन (आफ्नै जिम्मेवारी सम्झँदै आमाले नसकेको नहुने बेला) कस्सिएकी हुन्छिन् । छोरो कि खेल्न, अथवा कम्प्युटर चलाउने वा सुती रहेको हुन्छ ।

मेरो आफ्नै घर परिवार र म आफैतिर हेरौँ भने पनि उस्तै छ । मेरो भन्दा कडा र शारीरिक श्रम पर्ने जागिर उनको छ । तर बिहान उठेर पहिला मेरो स्वास्थ्यको चिन्ता उनी गर्छिन् । मेरो निम्ति पानी र ‌औषधी लगायतका विषयमा संवेदनशीलता उनमा छ । म शारीरिक व्यायामको लागि खेल्न जान्छु र घरमा फर्केर प्राणायाम/योगा आदिमा बिहान बिताउँछु । उनले भान्सा सम्हाल्छिन् । घर सरसफाइ गर्छिन् । खाना खाएर म भन्दा पहिला काममा जान उनलाई पर्छ । काममा गएर आएपछि पनि नसुत्ने बेलासम्म उनको दिनचर्या उही रहन्छ । तरकारी, दूध, किचनको व्यवस्थापन, मेरो र अरू परिवारको लागि भोक लागेर आउलान् आउने बित्तिकै खाना के दिने, त्यसैको तयारी । अनि खाना पकाउने, भाँडा माझ्ने ।

यो हाम्रो संस्कार हो । त्यसैले यस्तो हुन्छ । संस्कार छाड्न हुँदैन । हामी त्यसो भन्दारहेछौँ । यो भन्नेमा महिला भन्दा पुरुष अग्रपंतिमा छौँ । हो संस्कार र संस्कृति आफैमा खराब हुँदैन । तत्कालीन परिवेशको आवश्यकताले जन्माएको हुन्छ । अभ्यास त्यसै किसिमले गर्नुपर्ने हुन्छ । सामाजिक प्रक्रिया पूरा गर्न र पारिवारिक जीवन शैलीका निम्ति आवश्यक हुन्छ । किन कि माथिकै कुरा/विषय कसरी हाम्रो समाज र घर परिवारमा स्थापित हुँदै आए एक पटक विवेकशील बनेर सोचौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस