सातै प्रदेशका सहकारीको तथ्याङ्क सार्वजनिक, देशभर २९ हजार ८ सय बढी सहकारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सातै प्रदेशका सहकारीको तथ्याङ्क सार्वजनिक, देशभर २९ हजार ८ सय बढी सहकारी


२० पुस २०७७, सोमबार


काठमाडौँ । मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक सहकारी विभागले मुलुकभर सातै प्रदेशमा रहेका सहकारीहरूको प्रारम्भिक एकीकृत विवरण सार्वजनिक गरेको छ ।

विभागले २०७७ श्रावण देखी कात्तिक सम्म प्रदेश तथा स्थानीय तहहरूसँगको सहकार्यमा गरेको अध्ययन अनुसार हाल मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थाहरू रहेको विभागद्वारा जारी सूचनामा जनाइएको छ ।

जसमध्ये विषयगत केन्द्रीय सङ्घहरू २० वटा, राष्ट्रिय सहकारी बैङ्क एउटा, राष्ट्रिय सहकारी महासङ्घ एउटा, जिल्ला सहकारी सङ्घ ७० वटा र विषयगत जिल्ला सहकारी सङ्घहरू २ सय ४१ वटा क्रियाशील रहेका छन् ।

सम्बन्धित समाचार : देशभरीका सहकारीमा कूल शेयर पुँजी ९४ अर्ब दश करोड ५० लाख

सङ्घीय सरकार अन्तर्गत एक सय २५, प्रदेश सरकार अन्तर्गत ६ हजार दुई र स्थानीय सरकार अन्तर्गत २३ हजार सात सय ५९ वटा सहकारी संस्था रहेका छन् ।

सहकारी सङ्घसंस्थामा आबद्ध कूल सदस्य सङ्ख्या ७३ लाख सात हजार चार सय ६२ रहेका छन् । कूल सदस्य मध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेका छन् । पुरुष सदस्य सङ्ख्याको तुलनामा महिला सदस्य सङ्ख्या १२ प्रतिशत बढी हो ।

यसअघि प्रकाशित विवरणमा मुलुकभरि ३४ हजार आठ सय ३७ सहकारी सङ्घसंस्था रहेको देखिएकामा कतिपय सहकारी सङ्घ संस्थाको एकीकरण भएको तथा कतिपय संस्था निष्क्रिय रहेको कारण प्रारम्भिक सहकारीको सङ्ख्या २९ हजार ८ सय ८६ कायम भएको विभागले प्रारम्भिक आकलन गरेको छ ।

विभागले शून्य लागतमा देशभरका सात वटै प्रदेश तथा ७ सय ५३ स्थानीय सरकारको सहकार्यमा तत् निकायबाट प्राप्त तथ्याङ्कको आधारमा विवरण तयार गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस