कठै ! ती दिन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कठै ! ती दिन


११ पुस २०७७, शनिबार


छोराले सहरमा घडेरी किन्यो
त्यसैले अब
गाउँमा बस्ने कुरै भएन
मिठो हंसराज धान फल्ने
घरै मुन्तिरको
गैरी खेत बेच्यो
पाखोबारी र खरायन
लाख बिन्ती गरेर
कौडीको भाउमा
काइँला बस्नेतले खाइदिए
धन्य हुन् काइँला
नत्र त कसले खानु ?

गाउँको जग्गा जिमीन
सबैलाई
भालुको कम्पारो भै सक्यो ।
मेरी आमाले
माइतीबाट ल्याएको
त्यो बुट्टेदार मदुस
बाले ससुरालीबाट
दाइजो पाएको
तामाको बडेमाको झेम्पा
घ्वाङगुजी मोही पार्ने
रातो गिठीको ठुलो ठेको
तरो, नेती र मदानी
ती चौँठी, हर्पे र आरी
थुर्मी, कर्चुल र पानस, ठडेउरो
फुर्के र तिल्के गोरु नार्ने
हलो,जुवा र नारा,जोतारा
पालीखाँवोमा झुण्डिएको
मेरो प्यारो खुर्पेटो
यी सबै सँग
अमिट भावना जोडिएको रहेछ
छुट्टिने बेला
ती निर्जीव वस्तु पनि
रोइरहे झैँ लाग्थ्यो
धेरैबेर हेरिरहेँ
आँखा त
मेरा पो भिजेका रै छन् ।

सहरको सानो घरमा
कैदी जस्तै बस्नु पर्ने
न स्वच्छ वायुको सास फेर्नु
न उन्मुक्त भै
स्वच्छन्द हाँस्न पाउनु
वरिपरि छिमेकले
देख्छन् भन्दै
झ्याल, ढोका र पर्दा लगाउने
कसैले नसुनोस् भनी
सानो स्वरमा
अड्कलेर बोल्नु पर्ने
मेरी बुढी
दमखोकिले रातभरि
ख्वाङ् ख्वाङ् खोक्दा
छिमेकी कराउँछन् भन्दै
बिहानै बुहारीले बचन लाउँदा
मुटुमा चस्स किला बिझ्यो ।

त्यो गाउँको मुकाम
ठाँटीको चौतारोमा भेला भएर
झाँक्री माइलाका
भूतप्रेत, मसानका
रमाइला कथा सुन्नु
जमदार जेठाका
बर्मा, मलाया युद्धमा
भिडेका फौजी भिडन्त
बहादुरीपूर्वक
दुष्मनका शिर छप्काएका
मन्त्रमुग्ध पार्ने रोचक बयान
साइँला पण्डितका
धारावाहिक धार्मिक प्रवचन
जिम्वाल बाजेका
औधी रमाइला उखान टुक्का
बरवोटे कान्छाले
जनै बाट्दा
कलात्मक ताकु नचाउनु
आहा ! ती रमाइला पल
यहाँ कहाँ पाउनु ?

त्यो ठुलो चौरमा
गाईबस्तु चराउनु
कान्ला भत्काउँदै
सिङौरी खेल्ने
बाच्छाहरू जुधाउनु
घामले रनक्क पार्दा
नजिकै
कोल्टे पँधेराको चिसो पानी
अँजुली उबाई
घटघट पिउनु
खै अब त सपना भए
स्वर्णिम काल जस्तै लाग्ने
कठै ती दिन कता गए ?

खुम्चिएर , डल्लिएर
मरीच जस्तै चाउरिएर
आफ्नै घरमा
बन्दी जस्तै थुनिनु पर्ने
के जमाना आए ?
के जमाना आए ??
अस्तु

Tags :
प्रतिक्रिया दिनुहोस