ओली पक्षले दाहाललाई कार्यकारी अध्यक्षबाट हटाए « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ओली पक्षले दाहाललाई कार्यकारी अध्यक्षबाट हटाए


९ पुस २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षबाट निष्काशन गरेको छ। बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरी कार्यकारी अध्यक्ष पदबाट हटाएको हो।

अक्षमता प्रदर्शन गरेको र पार्टीमा ध्यान नपुर्‍याएको भन्दै उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाइएको हो। अब बैठकका निर्णयहरुमा प्रधानमन्त्री ओलीको मात्र हस्ताक्षर चल्ने बनाइएको छ। नेकपा ओलीपक्षीय केन्द्रीय कमिटी सदस्य खिमलाल भट्टराईका अनुसार दाहाललाई कार्यकारी अध्यक्षबाट हटाएपछि अब आलीको मात्र हस्ताक्षर चल्नेछ। बालुवाटार बैठकमा हजारभन्दा बढी सहभागी भएको दाबी गरिएको छ।

बैठकमा मूलत: चुनाव निर्धारित मितिमा कसरी गर्ने भन्नेमा छलफल केन्द्रित थियो। केन्द्रीय कमिटी बैठकका एजेन्डाहरु स्थायी समिति बैठकले तय गर्ने निर्णय पनि भएको छ।

बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु पनि तोकेको छ । आज अपराह्न बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको छ ।

बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी भने टोपबहादुर रायमाझीलाई दिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस