महामारीकैबिच विद्यालय सञ्चालनको तयारीमा स्थानीय तह, तर छैन निर्धक्क हुने अवस्था « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

महामारीकैबिच विद्यालय सञ्चालनको तयारीमा स्थानीय तह, तर छैन निर्धक्क हुने अवस्था


९ मंसिर २०७७, मंगलबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको कार्यढाँचा तथा कार्यविधि २०७७ मा विद्यालय सञ्चालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिने उल्लेख छ । लामो समयदेखि विद्यालय बन्द गर्दा शैक्षिक सत्रमा समेत असर पर्ने भएपछि मंसिर अन्त्यदेखि विद्यालय खोल्ने वातावरण तयार गर्न कार्यढाँचा तयार गरिएको छ । मन्त्रालयका अनुसार विद्यालयहरुलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरेर विद्यालय बन्द गर्नसक्ने पनि कार्यढाँचामा व्यवस्था गरिएको छ ।

यही व्यवस्थालाई अँगाल्दै विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा कार्यान्वयन गर्न गराउन सम्बन्धित जिल्लास्थित सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई कतिपय स्थानीय तहले सूचना जारी गरिसकेका छन् । केही स्थानीय तह विद्यालय खुलाउने तयारीमा जुटेका छन् । विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई भएपनि अहिलेकै अवस्थामा उपत्यकामा भने विद्यालय खोल्नसक्ने अवस्था देखिएको छैन ।

कोरोना महामारी सुरु भएपश्चात गत नौ महिनादेखि बन्द विद्यालय खोल्ने तयारीमा लागेका स्थानीय तहले यतिबेला विद्यालय खोल्नुअघि र खोलेपछि आउनसक्ने समस्याको बारेमा गम्भीर हुनु जरुरी देखिन्छ । कोरोना संक्रमणको डर अझैं हटेको अवस्था छैन । अभिभावकहरु सरकारको यस व्यवस्थापनप्रति ढुक्क हुन नसकिरहेको अवस्था छ । सरकारले तयार गरेको पूर्वाधार भरपर्दो छ र आफ्ना बालबालिकालाई विद्यालय पठाउनु सुरक्षित छ भन्नेमा अभिभावकहरु विश्वस्त हुन सकेका छैनन् ।

कतिपय विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका छन् । तर अनलाइनमार्फत कक्षा सञ्चालन गर्नका लागि सबै विद्यालयको पूर्वाधारमा पहुँच नहुँदा यस विकल्पलाई प्रभावकारी मान्न सकिन्न । त्यसैले विभिन्न वैकल्पिक उपायहरु अवलम्बन गर्दै मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने देखिएको छ ।

कार्यढाँचाअनुसार विद्यालयले सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्नसक्ने कक्षाकोठा लगायतका पूर्वाधार, स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, सेनिटाइजर तथा विद्यालयमा आउनेहरूका लागि तापक्रम लिने व्यवस्था गर्ने, अनिवार्य मास्क लगाउने र खाजा व्यवस्थापन गर्ने गरी व्यवस्था गर्नुपर्नेछ ।

विद्यालय जाँदा , विद्यालयमा रहँदा, विद्यालयबाट घर फर्किदा एवं घरमा पुगेपछि पालना गर्नुपर्ने आचारसंहिता शिक्षक र विद्यार्थीहरुको सहभागितासमेत गराई तयार गर्ने, यसरी तयार भएको आचारसंहिता सरोकारवाला सबैले अनिवार्य रुपमा पालना गर्ने व्यवस्था मिलाउने र विद्यालयले तयार गरेको आचारसंहिता तथा छनौट गरेको उपयुक्त प्रयोग गर्ने विकल्प स्थानीय तहको सम्बन्धित निकायमा पेश गर्ने गरि निर्देशन भएको छ ।

स्थानीय तहले विद्यालय सञ्चालनका लागि केही विकल्पहरु पनि दिएका छन् । सबै कक्षा र विद्यार्थीलाई एकै समयमा सञ्चालन गर्ने, अलग अलग सिफ्टमा अलग अलग कक्षा वा तह सञ्चालन गर्ने, विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधी घण्टी छोट्याउने, अवस्था हेरी तल्लो तहका कक्षा पहिले वा माथिल्लो तहका कक्षा पहिले जोखिम र सहजता हेरी कक्षा सञ्चालन गर्ने, कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा सञ्चालन हुनेगरी पालैपालो कक्षा सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने, हप्तामा केही दिन वा दिनमा केही घण्टा सञ्चालन गर्नेलगायत विकल्पहरु छन् ।

केही दुर्गम जिल्लाहरुमा रहेका कतिपय स्थानीय तहले महामारीकैबिच केही साता अगाडी विद्यालय खोलेपछि मन्त्रालयले बाध्य भएर कार्यढाचा तयार गरेको हो । हुम्लालगायत केही स्थानीय तहले कोरोना महामारीकैबिच विद्यालय खोलेका थिए । ती स्थानीय तहमा कोरोना संक्रमण पुनः बढ्न थालेपछि विद्यालय बन्द भएका थिए । विद्यालय खोल्नु त्यति महत्वपूर्ण विषय होइन, तर विद्यालयमा आएका विद्यार्थीलाई संक्रमण हुनबाट कसरी बचाउने भन्ने कुरा महत्वपूर्ण हो ।

कार्यढाँचालाई आत्मसात गरी विद्यालय खोल्दा सबै विद्यालयले सावधानी अपनाउनु जरुरी छ । सरोकारवाला सबैले कोरोना महामारीको जोखिम ध्यान नराखी विद्यालय सञ्चालन गरेमा विद्यालय कोभिड सर्ने थलोको रुपमा परिणत हुनसक्ने जोखिम देखिन्छ ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस