तीन ठूला परियोजनाका लागि लगानी बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तीन ठूला परियोजनाका लागि लगानी बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत


२६ कार्तिक २०७७, बुधबार


काठमाडौँ । लगानी बोर्डले तीन ठुला जलविद्युत् परियोजनाका लागि ३८ अर्व विदेशी लगानी स्वीकृत गरेको छ ।

बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मङ्गलवार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठुला परियोजनाका लागि ३८ अर्व ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो ।

सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि १७ अर्व ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरेको बोर्डका प्रवक्ता धर्मेन्द्र कुमार मिश्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जसअनुसार ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि १० अर्व ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत् परियोजनाका लागि दश अर्व ४३ करोड ६० लाख लगानी स्वीकृत भएको छ ।

बैठकमा बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरूसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्ने तथा लगानीकर्तालाई एकल विन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने तथा ‘नलेज म्यानेजमेन्ट पोर्टल’ को स्थापना तथा उपयोग गर्ने विषयमासमेत छलफल भएको विज्ञप्तिमा जनाइएपछि सोबारे छलफल नभएको एक सदस्यले प्रशासनलाई बताए ।

बोर्डको अध्यक्ष ओलीले बैठकमा कोभिड–१९ ले नयाँ शिक्षा दिएको बताउँदै परियोजना कार्यान्वयनमा भइरहेको विलम्बलाई हटाउन नयाँ प्रविधिको आवश्यकता भएको बताएका छन् । उनले कोरोनाका कारण बोर्डको बैठक नियमित बस्न असहज भए पनि आगामी दिनमा नियमित हुने जानकारी दिए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डमार्फत प्रवर्द्धन र सहजीकरण भएका परियोजनाहरू कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिबारे जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस