तीस वर्षदेखि फरार अभियुक्त पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तीस वर्षदेखि फरार अभियुक्त पक्राउ


१९ कार्तिक २०७७, बुधबार


कणौली । प्रहरीले ३० वर्षदेखि फरार रहेका व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

पञ्चपुरी नगरपालिका–२ सालकोटका मानबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बर्दियाको बासगढीबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत सुर्खेतले २०४७ पुस २६ गते व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दामा सुनारलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । सुनारका सहोदर तीन दाजुभाइ मिलेर २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कूटपिट गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो । घटनापछि पीडित तुलारामको बायाँ हात र खुट्टा चल्न छाडेको र शारीरिक रुपले अशक्त भएको बताइएको छ ।

मानबहादुरसहित दुई जना पक्राउ परिसकेका छन् भने एक अझैं फरार छन् । अदालतले घटनामा संलग्न तीनै दाजुभाइलाई समान सजाय सुनाएको थियो । फैसला भएकै राति सुनार दाजुभाइ गाउँबाट फरार भएका थिए ।

जिल्ला प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी सहायक निरीक्षक हरि साउदको नेतृत्वमा चार जनाको टोली खटाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पक्राउ गरिएका अभियुक्तलाई अदालत समक्ष पठाइएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस