आईपीएल : मुम्बईलाई हराउँदै हैदराबाद प्ले अफमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आईपीएल : मुम्बईलाई हराउँदै हैदराबाद प्ले अफमा


प्रशासन संवाददाता

१९ कार्तिक २०७७, बुधबार


एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबाद प्ले अफमा प्रवेश गरेको छ ।

सारजाहमा मंगलबार भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो ।

मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गरेकी थियो ।

हैदराबादको जितमा डेभिड वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाए । रिद्दिमान साहा ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रनमा अविजित रहे । वार्नर र साहाले पहिलो विकेटका लागि अविजित रहँदै १ सय ५१ रनको साझेदारी गरेपछि हैदराबादले सानदार जित निकालेको हो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन, सूर्यकुमार यादबले ३६ रन, इशान किसनले ३३ रन र क्विन्टन डी ककले २५ रन बनाए ।

हैदराबादका सन्दीप शर्माले ३ विकेट लिए । जासन होल्डर र साहबाज नादिमले २/२ विकेट लिए । जितसँगै हैदराबाद तेस्रो स्थानमा रहँदै प्ले अफ स्थान बनाएको हो । हैदराबादले १४ खेलमा १४ अंक जोडेको छ। हैदराबाद प्ले अफमा पुगेसँगै आईपीएलको प्ले अफ समीकरण पुरा भएको छ ।

हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । बैंगलोर १४ अंक जोडेर चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको छ । कोलकाता नाइट राईडर्स भने १४ अंक जोडेपनि बाहिरिएको छ ।

मुम्बई भने अन्तिम खेलमा हैदराबादसँग पराजित भएपनि शीर्ष स्थानमा रहेको छ । मुम्बईले १४ खेलमा १८ अंक जोडेको छ । । अब मुम्बईले क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

यस्तै दिल्ली १४ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहँदै क्वालिफायर पुगेको छ । पहिलो क्वालिफायर बिहीबार दुबईमा र इलिमिनेटर खेल शुक्रबार आबुधाबीमा हुनेछ । क्वालिफायरको विजेता नै फाइनलमा पुग्ने छ ।

अब पराजित हुने टिमले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायर खेल्ने छ । दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टिम भिड्ने छन् । त्यसपछि दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग खेल्नेछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस