भारतीय सेनाध्यक्ष नरावणे आज नेपाल आउँदै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

भारतीय सेनाध्यक्ष नरावणे आज नेपाल आउँदै


१९ कार्तिक २०७७, बुधबार


काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । साथै, उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् ।

फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर नरवणेले विवादास्पद टिप्पणी गरेकाले उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

नेपालका सैन्य मामिलाका जानकारहरुले पनि नाकाबन्दीमा जस्तै यो पटकको सीमा विवादमा पनि सैन्य कुटनीतिले संवादहीनता अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्लेषण गरेका छन् ।

भारतले पनि आफ्नो सेना प्रमुखले बुधबारदेखि गर्ने नेपाल भ्रमणले लामो समयदेखि दुई सेनाको बीचमा रहेको परम्परागत सम्बन्धलाई सुदृढ बनाउने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस