आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ


४ कार्तिक २०७७, मंगलबार


पक्राउ

कास्की । आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टङ्कबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका छोरा ४६ वर्षीय इन्द्रबहादुरलाई पक्राउ गरिएको जनाएको छ ।

गत वैशाख २१ गते पोखरा-२० स्थित जङ्गल छेउमा रहेको पाल तथा स्याउलाले बनाएको छाप्रोमा तामाङको टाउको तथा अनुहारमा गम्भीर चोट लागेको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

घटनामा इन्द्रबहादुरको संलग्नता देखिएपछि खोजतलासको क्रममा लमजुङको मध्यनेपाल नगरपालिका-२ सोतीपसलमा फेला पारेर पक्राउ गरी पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घटनापछि मृतकको छोराले तामाङविरुद्ध किटानी जाहेरी दिएका थिए । गत वैशाख २० गते राति मदिरा सेवन गरेपछि दुई जनाबीच झैझगडा शुरु भएको र सोही क्रममा इन्द्रबहादुरले टङ्कबहादुरको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको उनले बताए । प्रतिवादी तामाङले प्रारम्भिक सोधपुछ गर्दा घटना घटाएको स्वीकार गरेको र उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान कार्य अगाडि बढाइएको प्रनाउ हमालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस