पारिवारिक सम्बन्ध र सुख ! « प्रशासन
prasaLogo
१ कार्तिक २०७७, शनिबार

पारिवारिक सम्बन्ध र सुख !


प्रकाशित मिति : 17 October, 2020 1:51 pm

सम्बन्धको एकाङ्की परिभाषा छैन । यसलाई विविध आयामबाट अर्थ्याउन सकिन्छ । एकल परिभाषामा सीमित गर्दा अर्थपूर्ण नहुन सक्छ । तथापि, सम्बन्ध एउटा गठ जोड हो । जहाँ एकभन्दा बढी पक्ष, इकाई वा व्यक्ति आपसमा बाँधिएका हुन्छन् । भौतिकरूपमा अदृश्य तर गहिरो गरी मनले अनुभूत गर्न सकिने एउटा बन्धन हो सम्बन्ध जसले वृहत् महत्त्व राख्छ ।

सुख मनको शान्ति, दिमागको उत्साह, विचारको सन्तुष्टि र मस्तिष्कको चयन हो । सुखलाई अर्थ्याउने सम्बन्धमा अध्यात्म विज्ञ, मनोविद् तथा दार्शनिकहरूको आ–आफ्नै मत रहेको पाइन्छ । सम्बन्ध र सुख परिपूरक हुन्छन् । सम्बन्धको उद्देश्य सुख प्राप्ति हो । मधुर, हार्दिक र विश्वसनीय सम्बन्धले व्यक्तिमा सुखको प्रवर्द्धन गर्दछ । व्यक्तिगत वा पारिवारिक सम्बन्धको अन्तर्निहित उद्देश्य सुख, शान्ति, समृद्धि, हौसला, खुसी, उत्साह नै हो ।

सम्बन्ध सुख प्राप्त गर्ने माध्यम हो । चिरस्थायी र दिगो सुख प्राप्तिका लागि दरिलो स्वार्थ रहित सम्बन्धको जरुरत पर्दछ । सम्बन्धमा स्वार्थ मिसियो भने स्वार्थसिद्ध नहुन्जेलसम्म मात्रै सम्बन्धको अस्तित्व रहन्छ । त्यस्ता सम्बन्धहरू निहित स्वार्थ सिद्ध हुनासाथ निमिट्यान्न हुन्छन् जसको अन्त्य पीडादायी हुन्छ । सुखको स्रोत खोज्दै देवालय धाउनेहरू पनि छन् भने सुख प्राप्तिकै नाउँमा थुप्रै द्रव्य खर्च गरेर पूजापाठ लगाउनेहरू पनि छन् । केहीले महात्मा योगी मुनीका वाणी र प्रवचन सुनेर मन बहलाउन खोज्छन् त केहीले कथित धर्मले निर्देश गरेअनुसार जप, तप र ध्यानद्वारा सुख प्राप्तिको बाटो रोज्छन् । यद्यपि दिगो र अटल सुखको प्रमुख कारक सम्बन्ध हो भन्ने तर्फ धेरैको ध्यान जान सकेको देखिँदैन ।

वैराग्य दुनियाँको तर्क फरक छ । केही अध्यात्मविद् र योगीमुनीहरुको तर्कअनुसार सांसारिक सम्बन्ध सुखको कारक नभएर दुःखको कारक हो । तर मानिस सामाजिक प्राणी भएसँगै उसले आफूलाई अलग्याएर सुख खोज्नुभन्दा समाज र परिवारका सदस्यलाई जीवनको अभिन्न अङ्ग बनाई आपसमा सुमधुर र सौहार्द सम्बन्ध कायम गरी आपसी प्रेम, सद्भाव, त्याग र समर्पणको माध्यमद्वारा सुखको खोजी गर्नु श्रेयस्कर हुन्छ । आफूभित्र शान्तिको भाव जगाउन मनलाई स्थिर गर्ने उपाय ध्यान, जप, योग गर्नु बेग्लै कुरा हो ।

एउटा परिवार सुखी हुन परिवारका सदस्यबीचको सम्बन्ध सगरझैँ अग्लो, सागरझैँ गहिरो, हिमालझैँ अटल र कर्णप्रिय सङ्गीतझैँ लयबद्ध तथा सुमधुर हुन जरुरी छ । पारिवारिक सदस्यहरुबीचको सामिप्यता, सन्निकटता र हार्दिकताले नै पारिवारिक दुःख कष्ट र पीडामा सामूहिक रूपमा पौठेजोरी खेल्दै सङ्कट निवारण गर्न सक्ने अवस्था रहन्छ । सुखको सबैभन्दा ठुलो कारक नै पारिवारिक सम्बन्ध हो । पारिवारिक सम्बन्ध राम्रो हुनको लागि परिवारका सदस्यहरुबीचको विचार, मान्यता र दृष्टिकोण समान नै हुनुपर्दछ भन्ने छैन । परिवारका अलग अलग पुस्ताबीच पुस्तान्तरसँगै सोच, विचार र मान्यता फरक हुन सक्छन्, त्यसो हुँदैमा सम्बन्धमा खटपट भइहाल्छ भन्ने हैन ।

पुरानो पुस्ताले वर्तमान पुस्ताबाट विगतदेखि चलेका परम्पराको निरन्तरताको अपेक्षा गर्दछ । वर्तमान पुस्ता ती परम्परामा वैज्ञानिकता र तर्क खोज्छ । तथ्य पुष्टि हुन नसक्ने परम्परालाई आधुनिक पुस्ताले छोड्दै गएको देखिन्छ । विगतदेखि चलेको चलन, मानेको रिवाज र धानेको परम्परालाई वर्तमान पुस्ताले सोही रूपमा अङ्गीकार नगर्दा पुरानो पुस्ताले नयाँ पुस्ता संस्कारबाट विचलित भएको ठान्छ र नयाँ पुस्ताप्रति असन्तुष्टि बढेको देखिन्छ । अर्कोतिर नयाँ पुस्ताले अग्रजको पुस्ताको योगदानको कदर नगर्दा, उचित सम्मान र मान्यता नदिई उक्त पुस्ताप्रति नै उपेक्षा गर्दा पुरानो पुस्तामा थप नैराश्यता बढेको पाइन्छ । प्रेमिल सामीप्य सम्बन्ध मार्फत ज्येष्ठ सदस्यको योगदानको कदर गर्दै सौहार्द संवाद गर्न सकेमा यस्ता असन्तुष्टि र नैराश्यता हटेर अभिभावकको पुस्ताले सन्तानको पुस्तालाई वात्सल्य प्रदान गर्ने कुरामा दुई मत हुन सक्दैन ।

परिवारभित्र व्यक्तिका आ–आफ्नै सोच, विचार, धारणा र दृष्टिकोण हुन सक्छन् । एक अर्काका विचार, मत र धारणालाई सम्मान गर्न सक्ने अवस्थामा मात्रै पारिवारिक सम्बन्ध सुमधुर हुन सक्छ । नत्र आफ्नै सोचमा टसको मस नहुने, आफ्नो सोचमा परिवारलाई डोर्‍याउन पनि नसक्ने र सम भावको दृष्टि राखी अर्कोको विचार सुन्नै नचाहने हठी र अहङ्कारी स्वभावले पारिवारिक सम्बन्ध धराशायी बनाउँछ । पारिवारिक सम्बन्ध नै उच्चतम सम्बन्ध हो र सुखको प्रमुख कारक परिवार हो भन्ने बोध परिवारका सदस्यमा रहेमा ससाना मनमुटाब, असन्तुष्टि र असहमतिले समग्र सम्बन्धलाई खल्बल्याउन सक्दैनन् । तर उक्त तथ्यको बोध नहुँदा वा उपरोक्त ज्ञान भएर पनि अवचेतन मष्तिष्क माथि उठ्न नसक्दा व्यक्तिले आफ्नो अहङ्कार र हठमाथि विजय प्राप्त गर्न सक्दैन । अन्ततः ऊ आफ्नो अहङ्कार र हठ त्याग्नु भन्दा पारिवारिक सम्बन्ध नै त्याग्न तयार हुने अवस्थासम्म आउन सक्दछ । त्यसैले परिवारको मियोको रूपमा रहने परिवारको मूल व्यक्तिको सुझबुझ, विवेक र संवेगात्मक स्थिरताले नै पारिवारिक सुखको निर्धारण गर्दछ ।

अर्कोतिर, परिवारभित्रको दाम्पत्य जीवनमा सामिप्यता, मिठासता र माधुर्यता नहुँदा विवाहेत्तर गुप्त सम्बन्धहरू कायम भई अन्ततः दाम्पत्य जीवन नै धराशायी हुन पुगेका यावत् उदाहरण समकालीन समाजको प्रमुख चुनौतीको रूपमा देखिएको छ । मनलाई काबुमा राख्न नसक्दा बहकाउमा क्षणिक सुख प्राप्तिको लागि हुने यस्ता अश्वेत सम्बन्धहरूले समाजलाई गलत बाटोतर्फ डोर्‍याउने त छँदै छ त्यो भन्दा अघि यसले पारिवारिक सम्बन्ध नै ध्वस्त बनाई व्यक्तिमा नैराश्यता, वितृष्ण, तनाव र पीडाको पहाड खडा गरिदिन्छ । एक अर्काको भावनामाथि समभाव राख्न सकेमा, एक अर्काको विचारको सम्मान गर्न सकेमा र काम, क्रोध, लोभ, मोहजस्ता मनका संवेगहरूलाई वशमा राख्न सकेमा दाम्पत्य जीवन सुखदायी बनाउन सकिन्छ । सम्बन्धले प्रेम, त्याग र समर्पण माग्छ । जहाँ त्याग, समर्पण र विश्वास रहन्छ त्यहाँ सम्बन्धको सुवास मगमगाउँछ ।

यसरी आफन्त, साथीभाइ, इष्टमित्र भन्दा धेरै नजिक रहने रगतको नाता होस् वा अग्नि साक्षी राखी जोडिएको नाता नै किन नहोस् यस्तो पारिवारिक नातालाई छिन्नभिन्न हुनबाट जोगाऔँ, दिगो सुखको प्रवर्द्धन गरौँ । अन्य सम्बन्धहरू जोडिने र तोडिने भइरहन्छन् तर पारिवारिक सम्बन्ध एकपल्ट तोडिए पछि पुन सोही रूपमा जोडिन असम्भव प्रायः हुन्छ । त्यसैले, सुख, खुसी, उत्साह, उन्नति र प्रगतिको मूल स्रोत परिवारलाई अटुट सम्बन्धको गाँठोले यसरी कसौँ कि त्यो कहिल्यै नफुकोस्, कहिल्यै नचुटोस् ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्भवेत् ।

चापागाईँ वीगन्ज महानगरपालिकाको कार्यालयमा अधिकृत छैठौँमा कार्यरत छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस