बाल सुधार गृहलाई पुस्तक सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाल सुधार गृहलाई पुस्तक सहयोग


१९ आश्विन २०७७, सोमबार


डोटी । उच्च सरकारी वकिल कार्यालय राजपुर डोटीले डोटीको सिलगढीमा रहेको बाल सुधार गृहलाई दर्जनौँ पुस्तकहरू सहयोग गरेको छ ।

बालसुधार गृहमा सोमबार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका बिच पुस्तक हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई डोटीका प्रमुख जिल्ला अधिकारी भीम प्रसाद भट्टराईले बाल सुधार गृहमा पुस्तक हस्तान्तरण गर्नु पवित्र काम भएको भन्दै पुस्तकहरूको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । पुस्तकबाट ज्ञान पाइने र बाल सुधार गृहमा रहेका बालकहरूलाई पढ्ने वातावरण बनाई ज्ञान बटुलेर सुधार गृहबाट बाहिरिँदा असल मान्छे बन्छु भन्ने अठोटका साथ बाहिरिने वातावरण बनाउनुपर्ने धारणा राखे । साथै महान्यायाधिवक्ताको कार्यालयबाट पुस्तक हस्तान्तरण कार्य भएकाले अन्य सहयोगी निकायका लागि पनि प्रेरणाको श्रोत भएको उनले बताए ।

उच्च सरकारी वकिल कार्यालय राजपुर डोटीका प्रमुख सह(न्यायाधिवक्ता टेक बहादुर थापाले बाल सुधार गृहमा रहेका बालकहरूको मनोविज्ञान बुझेर व्यवहार गर्नुपर्ने काम चुनौतीपूर्ण भएको भन्दै प्रदान गरिएका पुस्तकलाई व्यवस्थित तवरले सदुपयोग हुने वातावरणका लागि सुधार गृह परिवारलाई आग्रह गरेका थिए ।

महान्यायाधिवक्ताको कार्यालयबाट पठाइएका २ सय १५ पुस्तकहरू कानुन, साहित्य, सामान्य ज्ञान, कक्षा ९ र १० का, शब्द कोष, एट्लस लगायतका रहेको जिल्ला सरकारी वकिल कार्यालय डोटीका प्रमुख पूर्ण के।सी।ले बताए । पुस्तकहरू बाल सुधार गृहका कार्यालय प्रमुख सानुमाया लिम्बुलाई हस्तान्तरण गरेका थिए ।

पुस्तकहरू बुझ्दै प्राप्त पुस्तकहरू सक्दो सदुपयोगमा ल्याउने बाल सुधार गृह प्रमुख सानुमाया लिम्बुले बताइन् ।

सुदूरपश्चिममै एउटा मात्र डोटीमा रहेको बाल सुधार गृह २०७५ सालमा स्थापना भएको थियो । हाल उक्त बाल सुधार गृहमा विभिन्न कसुरमा संलग्न सुदूरपश्चिमका ९ जिल्ला र दाङ जिल्लाका समेत गरी १० जिल्लाका १८ वर्ष मुनिका ४६ जना बालकहरू रहेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस