बाघको छाला र सालकको खपेटासहित एक पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बाघको छाला र सालकको खपेटासहित एक पक्राउ


७ आश्विन २०७७, बुधबार


कास्की । प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ ।

धादिङको गल्छी गाउँपालिका-४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा मङ्गलबार साँझ पोखरा महानगरपालिका-३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका लामिछानेको साथबाट बाघको छाला लम्बाइ आठ तथा चौडाइ तीन फिटको एक थान, सालकको खपेटा लम्बाइ दुई फिट पाँच इन्च र चौडाइ ११ इन्चको एक थान तथा वन्यजन्तुको (बाघ) जस्तो देखिने हाड खुट्टा तथा पञ्चा अन्दाजी तीन किलो ७५० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाभित्र वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोवार हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतको इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा प्रदेश नं ३-०२-०११ प७८०६ नम्बरको मोटरसाइकलको पछाडि जेब्रा झोलामा ती सामग्री लुकाइछिपाइ ल्याएको अवस्थामा नियन्त्रणमा लिइएको प्रनाउ हमालले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस