सार्वजनिक पद र अपेक्षित गुणहरू « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सार्वजनिक पद र अपेक्षित गुणहरू


२३ भाद्र २०७७, मंगलबार


विषय प्रवेशः
प्रशासन भनेको सरकारका नीति कार्यान्वयन गर्ने मूल संयन्त्र हो । राजनीतिज्ञलाई सार्वजनिक नीति तर्जुमामा शतप्रतिशत सहयोग गर्दै निर्मित नीतिको प्रभावकारी सञ्चार तथा सचेतीकरण गरी आम नागरिक समक्ष पुर्‍याउने काम प्रशासनबाट हुन्छ । जुनसुकै राजनीतिक दल सत्तामा आए पनि प्रशासनले आफ्नो तर्फबाट संस्थागत सहयोग गर्दै व्यावसायिक दक्षता प्रदर्शन गर्नु प्रशासनको धर्म हो । कुनै पनि दल वा राजनीतिक विचार आस्थाप्रति पक्ष वा विपक्षमा नलागी तटस्थ हुनु स्थायी सरकारको रूपमा चिनिने प्रशासनको मूल मर्म नै हो ।

वाञ्छित लक्ष्य प्राप्तिका लागि मानवीय एवं भौतिक श्रोतको उपयुक्त संयोजन गर्ने कार्य नै प्रशासन हो । सरकारका आफ्ना नीतिहरूलाई कार्यान्वयन गर्दै व्यवहारमा उतार्ने सिलसिलामा आवश्यक कानुन, सम्बन्ध र आचरण लगायतको यथोचित उपयोगको रूपमा सार्वजनिक प्रशासनलाई चित्रित गरिएको छ । सरकारलाई आमजनता र समुदायसँग जोड्ने सेतुको रूपमा समेत सार्वजनिक प्रशासनको भूमिका रहन्छ । अतः सरकारद्वारा आम जनताको लागि सञ्चालित प्रशासन सार्वजनिक प्रशासन हो र सार्वजनिक प्रशासन सञ्चालन गर्न सरकारद्वारा प्रबन्ध गरिएका पदहरू सार्वजनिक पद हुन् ।

सार्वजनिक प्रशासनले मुलुकको शान्ति सुरक्षा कायम गर्ने, सार्वभौमसत्ता कायम राख्नका लागि प्रतिरक्षा गर्ने र मानव कल्याणसँग सम्बन्धित विभिन्न कार्यहरू गर्दछ । यो मुलुकको संविधान र कानुनमा आधारित हुन्छ । यो मुलुकको शासन सञ्चालन गर्ने सरकारको सशक्त संयन्त्र हो । प्रशासन मूलतः निजी र सार्वजनिक गरी दुई प्रकारका हुन्छन् । यदि, उपलब्ध मानवीय तथा भौतिक स्रोतलाई निजी स्वार्थ वा हितका लागि व्यक्ति वा समूहद्वारा परिचालन गरिन्छ भने त्यो निजी प्रशासन हुन्छ र त्यही प्रशासन सार्वजनिक हित र स्वार्थका लागि सरकारद्वारा सञ्चालित हुँदा त्यो सार्वजनिक प्रशासन मानिन्छ । अर्को शब्दमा कुनै पनि मुलुकको सरकारबाट आफ्ना नागरिकको हित र उन्नतिका लागि गरिने नियमित, आकस्मिक र विकास गतिविधिहरूको समग्रता नै सार्वजनिक प्रशासन हो । सङ्कीर्ण ढङ्गले चिनाउँदा यसको सम्बन्ध कार्यपालिकासँग मात्र देखिन्छ । आधुनिक ढङ्गले परिभाषित गरिँदा भने सार्वजनिक प्रशासन भित्र कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका लगायतका अङ्गहरूको क्रियाकलाप समावेश हुन्छ ।

सार्वजनिक पदः
सरकारी कोषबाट तलब, भत्ता वा पारिश्रमिक पाउने र निश्चित शर्तहरु पालना गर्ने गरी नियुक्त हुने सबै सरकारी पदहरू सार्वजनिक पद हुन् । राज्यको स्रोत साधनको प्रयोग र परिचालन गरी कानुन बमोजिम सञ्चालित हुनु पर्ने भएकोले सार्वजनिक पद धारण गर्ने अधिकारी निश्चित आचार संहिता र सार्वजनिक अनुशासनबाट निर्देशित हुनुपर्ने हुन्छ । साथै उसका हरेक कामकारबाहीहरू पनि सार्वजनिक हित र भलाइमा केन्द्रित हुनुपर्दछ । त्यस्ता व्यक्तिले सम्पादन गर्ने काम कारबाहीहरू विभेद रहित हुनु पर्दछ । उसले गर्ने हरेक काम विधिसंगत, पद्धति र कानुन सङ्गत हुनु पर्दछ । पब्लिक चेयरमा बस्ने हरेक व्यक्तिका कार्य व्यवहारमा निष्पक्षता र उसका दृष्टिकोणहरूमा तटस्थता झल्किनु पर्दछ । आम नागरिकले जुनसुकै सार्वजनिक पदमा आसीन अधिकारीबाट उसको आचरणमा शुद्धता र कार्य सम्पादनमा निर्वैयक्तिकता हमेसा खोजिरहेका हुन्छन् ।

जबसम्म विचार र दृष्टिकोणमा तटस्थता आउँदैन उसका व्यवहार र सम्पादित क्रियाकलाप निष्पक्ष बन्न सक्दैनन् । त्यही विभेदपूर्ण व्यवहारबाट नै विवाद जन्मिने हो । प्रशासन संयन्त्रको बारेमा आलोचना र टीकाटिप्पणी त्यहीबाट सुरु हुने हो । प्रशासकहरूका कार्यव्यवहार र आचरणमा निष्पक्षता र तटस्थता नहुँदा समग्र प्रशासनयन्त्रमा नै खोट लाग्ने गरेको हो । प्रशासन उपर विभिन्न टीकाटिप्पणी, खोटहहरु र आलोचनाहरू गरिने गरिएको हो । यसमा फेरी अर्को महत्त्वपूर्ण तथ्य के पनि भुल्नु हुँदैन भने कुनै पनि मुलुकको प्रशासनलाई उक्त देशको राजनीतिक प्रणालीबाट पृथक् राख्ने र बुझ्ने गर्नु हुँदैन । यो राजनीतिक बिचारबाट विचार शून्य भएतापनि राजनीति सापेक्ष पक्कै हो । राजनीतिबाट प्रशासन निरपेक्ष कदापि हुन सक्दैन । भनाई नै छ कुनै पनि मुलुकको प्रशासन उक्त मुलुकको राजनीतिभन्दा राम्रो हुन सक्दैन ।

राजनीति, प्रशासन सोको पर्यावरणलाई केन्द्रमा राखेर समग्र प्रशासन संयन्त्रको विश्लेषण गरियो र देखिएका समस्याहरूको बारेमा समाधान पहिल्याइयो भने सो दिगो बन्न सक्ला तर दोषी एक पक्ष मात्र मानेर सुधारका तानाबाना बुन्न पट्टि केन्द्रित बनियो भने उक्त सुधार दिगो नहुने निश्चित छ ।

यती हुँदाहुँदै पनि प्रशासकको आफ्नो कामप्रतिको लगाव र इमानदार बन्ने कुराहरूले धेरैलाई प्रभाव पार्न भने सकिन्छ । प्रत्येक प्रशासक जहाँ र जे जुन जिम्मेवारीमा रहेको छ सोही स्थानबाट आफै सुधारको सुरुवात थाल्नुपर्दछ । सबैको एकमुष्ट प्रयासबाट नै प्रशासन राम्रो बन्ने हो । यस कार्यका लागि नीतिगत मार्गदर्शन गर्ने राजनैतिक नेतृत्व, मिडिया, सचेत नागरिक समाज, आम सेवाग्राही, समग्र प्रशासन संयन्त्र र सोको पर्यावरण हेरी विश्लेषण र सुधारका एजेण्डामा एकाकार हुनुपर्दछ । सेवाग्राहीले अपेक्षित सेवा सहज ढङ्गबाट समयमै प्राप्त गर्ने वातावरण निर्माण गरियो भने नै प्रशासनउपर लाग्ने यावत आरोप हराएर जाने हो । सार्वजनिक पदको ओज पनि यसबाटै उज्यालिने हो ।

कुशल प्रशासकमा हुनुपर्ने गुणहरुः
सार्वजनिक पद धारण गरेको व्यक्ति कुनै पनि विचार र निहित स्वार्थ एवं प्रभावबाट मुक्त हुनैपर्दछ । साथै मुलुकको संविधान, प्रचलित कानुन तथा तोकिएका मापदण्डहरूको अधीनमा रहेर पदीय दायित्व र जिम्मेवारीको निर्वाह गर्नुपर्दछ । र उसको आचरणमा शुद्धता चाहिन्छ । पब्लिक चेयरमा बस्ने हरेक व्यक्तिको विभेदरहित दृष्टिकोण हुनुपर्दछ । उ समाजको रोल मोडेल हुनुपर्दछ । हुन त प्रशासन आफैमा राजनीतिबाट निरपेक्ष रहन सक्दैन । राजनीतिज्ञले प्रदान गर्ने नीतिगत मार्गदर्शनको आधारमा प्रशासकले कार्य गर्ने हो । विद्यमान नियम, कानुन भित्र रहेर समग्र शासनको सञ्चालन, व्यवस्थापन र कार्यान्वयनको पाटो प्रशासकको काँधमा रहन्छ । हाम्रो जस्तो आर्थिक रूपमा कमजोर, चेतनाको स्तर न्यून रहेको र प्रणालीले राम्रोसँग फङ्सन नगरिरहेको मुलुकमा यदाकदा कमजोरीहरू देखिन्छ नै । राजनीतिक र प्रशासनिक दुवै पक्षबाट अब यो कारणले अर्थात् मेरो कारणले गर्दाखेरि राम्ररी फङ्सन हुन पाइरहेको छैन भन्ने कुराको आत्मवोध गर्नुपर्ने देखिन्छ । आत्म बोधका साथ दुवै पक्षहरूले जनताको सेवा र आम नागरिकलाई आधारभूत सेवा सुविधा उपलब्ध गराउने विषयलाई केन्द्रमा राखेर क्रियाकलापहरू सञ्चालन गर्ने हो भने हाम्रो प्रशासन अवश्य सुधार हुन्छ ।

निरन्तर सुधारका प्रयासहरू, निगरानी निकायका गतिविधिहरू, सशक्त मिडिया र सचेत नागरिक समेतको कारणले गर्दा सार्वजनिक प्रशासनको क्षेत्रमा सुधार नभएको होइन । यसबाहेक अनुशासन र पेसागत आचरणका विषयहरू पनि तयार गरी लागु गरिने परिपाटिले र पुरस्कार र दण्डसँग जोड्ने पद्धतिको विकासले सुधारहरू पक्कै भएका छन् तर पर्याप्त नभएको भने यथार्थ हो । एक योग्य प्रशासकले सरकारका नीति कार्यक्रम र स्वीकृत योजनाहरूलाई प्रभावकारी कार्यान्वयन गर्ने नै हो । आफ्नो जिम्मेवारी भित्र रहेका विषयहरूमा गुनासो नआउने तरिकाले मितव्ययिता, प्रभावकारिता, कार्यदक्षता र पारदर्शिता समेतलाई ख्याल गर्दै सम्पादन गर्नुपर्दछ । यसबाहेक ठुला र बृहत् सुधार भन्दा साना साना र आफूले सक्ने सुधारका प्रयास गर्नुपर्दछ । समूह कार्यको भावनामा रहेर कार्य गर्नुपर्दछ । सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई सक्दो बढवा दिनुपर्दछ । सरोकारवालाहरूसँग छलफल अन्तरक्रिया गर्दै समस्याको समाधान खोजियो भने निकास सहज र दिगो हुन्छ भन्ने विषयलाई पनि सधैँ ख्याल गर्नुपर्दछ ।

अन्त्यमा, सार्वजनिक प्रशासनमा रहेका राम्रा पक्षहरूलाई महत्त्वका साथ लिएर अघि बढ्नुपर्दछ । हाम्रो समाजको प्रवृत्ति आफैमा विभाजित छ । सकारात्मक र रचनात्मक कुराहरूलाई भन्दा नकारात्मक विषयलाई बढी फोकस गरी हेर्ने परिपाटि छ । आमसञ्चारका माध्यमहरूमा यस भूमिका अझै बढी देखिन्छ । एक अर्थमा त ठिकै पनि हो सकेसम्म नेगेटिभ पाटोलाई हटाउन यस्ता विषयको उछितो काढ्नु । तर यहीनेर के भुल्नु हुँदैन भने सामाजिक सञ्जाल उपरको सहज पहुँच र सूचना प्रविधिको विकासका कारणले गर्दा पात्रको देवत्वकरण र दानबीकरण क्षणभरमै हुनसक्छ । समय लाग्दैन । जुन समकालीन विश्वको सोचनीय विषय पनि हो । प्रशासन भित्रका कतिपय राम्रा कुराहरूलाई बाहिर ल्याई त्यस्ता व्यक्ति अथवा कार्यसम्पादन गर्ने संयन्त्रलाई प्रोत्साहित पनि गर्नुपर्दछ । ताकि समाजका आमनागरिकहरुले पनि सकारात्मक धारणा बनाउन सकुन् । राम्रो गर्नेलाई थप हौसला र ऊर्जा पनि मिलोस् । यसमा महत्त्वपूर्ण हात सञ्चार जगतकै हो । यसरी कार्य प्रोत्साहन एवं खबरदारी गर्दै सरकारी संयन्त्रहरूको कार्य प्रवाहलाई गुणस्तरीय बनाउन सकिने विश्वास र आशा गर्न सकिन्छ । सार्वजनिक पदबाट आम जनताले गर्ने अपेक्षा पनि सुशासनयुक्त, गुणस्तरीय र निष्पक्ष सेवा प्रवाह नै हो ।

Tags :
प्रतिक्रिया दिनुहोस