समृद्धि र सुशासनको वाहक निजामती सेवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समृद्धि र सुशासनको वाहक निजामती सेवा


२२ भाद्र २०७७, सोमबार


विषय प्रवेश
२०७७ सालको निजामती सेवा दिवस “स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन” मूल नाराका साथ आआफ्ना कार्यालयमा मनाउने निर्णय भएको जानकारीमा आएको छ । सभा, समारोह तथा अन्य प्रतिस्पर्धाहरू नहुने हुनाले दिवसको रौनक कमै होला । तथापि सिङ्गो निजामती सेवाले कानुनी आधार ग्रहण गरेको दिनको सम्झनामा वर्षेनी मनाइने यो दिवसका अवसरमा गरिने समीक्षा, विवेचना र संवादले भने विशेष अर्थ राख्दछ । यसै सन्दर्भमा यस छोटो लेखमा यस वर्षको लागि तय भएको नाराको विषय र निजामती सेवाको महत्त्व सम्बन्धमा चर्चा प्रस्तुत गरिएको छ ।

मुलुकको सेवा नै निजामती सेवाको अभीष्ट
मुलुक नै अप्ठेरोमा परेको बेला राष्ट्रसेवकको भूमिका थप अपेक्षित हुन्छ । विश्वजगतले नै कोभिड १९ सँग जुध्नु परेको वर्तमान अवस्थामा नेपालको राज्य संयन्त्र पनि देश र जनताको हितमा के कस्ता रणनीति लिने र के कसरी न्यूनतम क्षतिसहित महामारीलाई बिदा गर्न सकिन्छ भन्नेमा लागिपरेकै छ । त्यसो त विपद् र गरिबी नेपालले लामो समयदेखि लड्दै आएका शत्रु हुन् । सक्षमता विकास गर्ने र पूर्व तयारीमा थप जोड दिन सकेमा विपद् व्यवस्थापनको विषय असम्भव र सधैँ कहालीलाग्दो नै रहन्छ भन्ने पनि हैन । २०७२ सालको महाभुकम्पपश्चातको राहत तथा पुनर्स्थापना कार्यमा निजामती कर्मचारीले पूरा गरेको भूमिका मात्र हैन अन्य वर्षहरूमा मुलुकका विभिन्न स्थानमा विपद्जन्य घटनाको असर न्यूनीकरणको पूर्व तयारी तथा विपद् परेको बखत वा सो भन्दापछिको पुनर्स्थापनामा पुर्याउनेगरेको योगदान सबैले प्रशंसा गर्ने गरेको पाइन्छ ।

स्वच्छ र सक्षम हुनु अनिवार्य
सार्वजनिकरुपमा सेवा गर्ने र जनताको दुःखसुखको साथी बन्नका लागि निजामती सेवक दक्ष र सक्षम मात्र हैन स्वच्छ समेत बन्न जरुरी छ । निजामती सेवामा रहेर व्यापारी व्यवसायीले जस्तो धन थुपार्ने वा अधिकारको दुरुपयोग गर्नेजस्तो प्रवृत्ति छ भने पनि नामेट पार्न जरुरी छ । अनि मात्र स्वच्छ सेवा सम्भव हुन्छ । आचारसंहिताको पालना र निष्ठावान् बनी आफूले पूरा गर्नुपर्ने जिम्मेवारी जनताप्रति संवेदनशील भई पूरा गर्नुपर्दछ ।

समृद्धि र सुशासन
समृद्धि र सुशासन दुवै हाम्रो देशका लागि आदर्श गन्तव्य हुन् । यी दुवैको प्राप्तिमा प्रशासन र यसको अभिभावकत्व लिने राजनीतिक क्षेत्र दुवै जिम्मेवार र संवेदनशील हुनुपर्दछ नै । त्यो भन्दा पनि बढी समृद्धि र सुशासनको माध्यमको रूपमा रहेको प्रशासनले समय सुहाउँदो गति र मतिमा काम गर्न सक्नुपर्दछ । काम गर्ने र आफ्नो कौशल देखाउने वातावरण पनि राजनीतिक र प्रशासनिक नेतृत्वले तयार गरिदिनुपर्दछ विधि र पद्धतिमार्फत । समृद्धि भनेको विकासको आदर्शतम विन्दु हो जसमा सामाजिक, भौतिक, आर्थिक, मनोवैज्ञानिक, आध्यात्मिक हिसाबले समेत समाजको रूपान्तरण हुन्छ । जनताले राम्रो ठानेको र परिणाम निकाल्न सफल शासन नै वास्तवमा सुशासन हो । लोकतन्त्र सफल हुनका लागि समृद्धि र सुशासन दुवै आवश्यक पर्दछ । समृद्धिलाई आर्थिक लोकतन्त्रको अभीष्ट पनि मान्ने गरिन्छ । अर्कोतिर राज्य व्यवस्थापनमा मूलतः प्रशासन असल भयो भने परिवर्तन भइरहने राजनैतिक अभिभावकलाई सही सल्लाह र दिशावोध हुनसक्छ । त्यसैले पनि होला सुशासन भन्ने बित्तिकै प्रशासनमा हुनुपर्ने पद्धति र स्वच्छताको कुरा बढी उठ्ने गरेको पाइन्छ । नेपालको सन्दर्भमा प्रशासनभित्रको अगुवा सेवा भनेकै निजामती सेवा हो । अन्य सार्वजनिक सेवामा पनि निजामती सेवाका सर्त एवं अन्य मान्य कार्यविधिहरू पनि अपनाउने गरेको सन्दर्भमा निजामती सेवालाई भरोसायोग्य र नमुना बनाउनुपर्ने खाँचो थप टड्कारोरुपमा अनुभूत हुन्छ ।

कामको सम्मान आवश्यक
काममा मन लगाएर गरिरहने र उस्तै पर्दा कार्यालय समय अघिपछि र घरमै लगेर भए पनि आफ्नो कम फत्ते गर्नेलाई समेत खिसिट्युरी गर्ने चलन हामीकहाँ छ । समय पालना र समयमा काम सम्पन्न गर्ने मनोवृत्ति सबै कर्मचारीमा भयो भने कोही काम गर्ने कोही तमासा हेर्ने अनि कुरा मात्र काट्ने अवस्था रहने पनि थिएन । समयलाई दुर्लभ स्रोत मान्ने सोच मनमस्तिष्कमा सिञ्चित हुनु आवश्यक छ । अन्य साधन स्रोतको पनि सदुपयोग हुने गरी निर्णय तथा परिचालन हुनु त पर्छ नै यसमा पनि समयको कुरा जोडिएर आउँछ । समयमा काम सम्पन्न भयो वा भएन भन्ने कुराले कामको लागत कति भयो भन्ने निर्धारण हुने हुँदा कामप्रतिको गम्भीरता र समय पालनालाई अति आवश्यक आचरण मानी पालना गराउनु आवश्यक छ ।

उत्तरदायित्ववोध र इमानदारिता
उत्तरदायित्ववोध र इमानदारिता कुनै पनि सार्वजनिक सेवकका अति आवश्यक औजार हुन् । व्यक्तिको क्षमता एवं सुझाव र जिम्मेवारीबिच मेल खायो भने मात्र कार्यसम्पादन सोचेजस्तो हुन्छ । उत्तरदायित्वको कुरा गर्दा कोप्रति उत्तरदायी हुने भन्ने पनि प्रश्न उठ्दछ । खासमा आफैप्रति, आफ्नो सङ्गठनप्रति र राष्ट्रप्रतिको उत्तरदायित्व बिर्सनुहुँदैन । यसबाहेक उत्तरदायित्वको केन्द्रबिन्दु सर्वसाधारण हुनुपर्दछ भनिएको छ । उनीहरूले हुन्छ भनी अपेक्षा राखेका तर हुन नसकेका सानातिना कुरा मात्र पनि समयमै सम्बोधन हुन सकेमा आशाको दियो बलिराख्छ । सुशासनको लागि पारदर्शिता पनि महत्त्वपूर्ण अवयव हो । भनिन्छ कि सार्वजनिक सेवकको कामकारबाही पनि सार्वजनिक नै हुनुपर्दछ । हुन त सूचनाको हकसम्बन्धी कानुनले पनि सक्रिय सूचना प्रवाहका साथै कतिपय सूचनाको गोपनीयता राख्ने दायित्वको समेत व्यवस्था गरेको छ । सरोकारवालाप्रति सूचना प्रवाहको कानुनी दायित्व पूरा गर्ने पनि सार्वजनिक सेवकले नै हो । सूचना प्रवाहले विकास प्रक्रियामा सहभागितालाई समेत सहयोग गर्दछ । कसलाई कुन चरणमा सहभागी गराउने भन्ने बोध पनि सेवकमै हुनुपर्दछ । कतिपय विषय कानुनमा वर्णन नगरिएको र अपर्झट सम्पादन गर्नुपर्ने खालको समेत हुन सक्छ । तसर्थ संलग्न अधिकारप्राप्त अधिकारीले गर्ने खटनपटन वा आदेश पनि सहजीकरणको लागि माध्यम बन्न पुग्दछ । सुशासनकै अन्य तत्त्वहरूमा कानुनबमोजिमको कामकारबाही गर्ने, नैतिकता र निष्ठाको पालना र सेवा प्रवाहमा रहँदाको बोलिवचन, स्वभाव र आनीबानीको कुरा पनि आउँछ । भनिएको छ कि सेवा दिनेले झर्किफर्की गर्ने हैन कि मुस्कानसहितको सेवा दिनुपर्दछ, सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने प्रक्रियाका सम्बन्धमा सहजीकरण हुनुपर्दछ ।

व्यक्तिगत हैन राष्ट्रिय स्वार्थ
व्यक्ति व्यक्तिमा देशभक्तिको भावना त झन् निजामती सेवामा जरुरी हुन्छ । यो भावना स्वाभिमान र आर्थिक समृद्धिसँग जोडिएको छ । समृद्धि भन्ने बित्तिकै आर्थिक विकासका साथै अन्य पक्षको समेत विकास भन्ने बुझ्नुपर्दछ । यसलाई अमूर्तभन्दापनि मूर्तरूपमा बुझ्ने गरी हेर्नु जरुरी छ ।पहिलो कुरा त आफ्नै मेहनत, आफ्नै उत्पादन र आफ्नै कमाई नभईकन स्वाभिमान आफसे आफ आउने कुरा पनि होइन । खान लाउन स्वास्थ्य उपचार गर्न पाउने, आफ्नो भाषा संस्कृतिसहित पहिचान कायम हुने तथा नेपाली हुनुको मर्म तथा पूर्वीय सभ्यताको जगेर्नाका विषय पनि छुट्नुहुँदैन । आफूभन्दा माथि समाज र देशलाई राखी देशको सेवाका लागि संस्थागत योगदान गर्न पाउने निजामती कर्मचारीहरूले आफूलाई प्राप्त अवसर के कसरी पूरा गरेका छन्, उनीहरूको लगाव तथा प्राप्त हुने परिणामका आधारमा यथोचित प्रोत्साहन भइरहेको छ छैन अनि परिवर्तित सन्दर्भमा कानुनको गतिशीलतालाई के कसरी सम्बोधन गरिँदै छ भन्ने विषय पनि सान्दर्भिक नै हुने देखिन्छ ।

हरेक निजामती कर्मचारीले म हो हुँ र मेरो मूल कर्तव्य के हो भन्ने मनन गर्नु जरुरी छ । सङ्गठनले पनि बेलाबखत प्रशिक्षण तथा बैठकहरू आयोजना गरी निजामती सेवाको गहनता र आधारभूत मूल्य मान्यता एवं सेवा प्रवाहका बखत अपनाउनुपर्ने कार्यविधि एवं व्यवहारका सम्बन्धमा चर्चा गरिनु उपयुक्त हुन्छ । कमसेकम वर्षको एक पटक जीवन जिउने कला, राष्ट्र र राष्ट्रियताको महत्त्व र उत्पादन प्रणालीका विषयमा समेत निजामती कर्मचारीहरू दीक्षित हुन सकेमा देशलाई आत्मनिर्भर गराउन र कामको महत्त्व उजागर गर्न सहयोग समेत पुग्ने देखिन्छ । नेपालमा लामो समयदेखि विकासका योजना र प्रशासन सुधारका प्रयास भइरहँदा पनि अपेक्षित नतिजा नआउँदा रचना हुन पुगेका प्रकाशोन्मुख कविता सङ्ग्रहका केही लाइन सान्दर्भिक देखेर पस्केको छु :

गरेजस्तो भएन कि भनेजस्तो गरिएन
किन हाम्रो सुन्दर देश विकसित भनी दरिएन ।
अन्यथा केही चिताइयोकि निदाएरै बिताइयो
विउजीकन नउठ्नाले के के कर्म छुटाइयो ?

प्रकृतिले दिएकै हो धेरै नै छन् दाताहरू
बेरुजुमा अब्बल किन हाम्रा खातापाताहरू ।
कानुनमा धनी हामी सम्झौता त कति कति
कर्तव्यमा कमी भयो अधिकारका कुरा अति ।

समृद्ध देश र सुखी जनता
राजनैतिक रूपान्तरणपछि संविधानसभाबाट नेपालको संविधान निर्माण भई लागू भएपश्चात् राजनैतिक स्थायित्वसहितको राज्य सञ्चालन सम्भव भएको छ भने संविधानले परिकल्पना गरेको समृद्धि र आत्मनिर्भरताको विषयलाई राष्ट्रिय योजना आयोगको अगुवाइमा नेपालको विकासको २५ वर्षे (अर्थात् वि सं २१०० सम्मको) सोच तयार भयो जसको मूल मर्म “समृद्ध नेपाल, सुखी नेपाली” मा समेटिएको थियो । यसलाई नेपाल सरकारले आफ्नो मुख्य नीतिगत मार्गदर्शनका रूपमा आफ्ना आधिकारिक दस्ताबेजहरूमा उल्लेख गर्दै अवलम्बन गरिआएको छ । पन्ध्रौँ योजना (२०७६-२०८१) ले यो दीर्घकालीन सोचलाई समृद्धिका ४ र सुखका ६ गरी १० वटा दीर्घकालीन राष्ट्रिय लक्ष्यहरू परिभाषित गरेको छ । समृद्धि हासिल गर्ने दीर्घकालीन लक्ष्य अन्तर्गत सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन आबद्धता, मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व र उच्च र समतामूलक राष्ट्रिय आयलाई समेटिएको छ भने सुख प्राप्तिको दीर्घकालीन लक्ष्यतर्फ परिष्कृत तथा मर्यादित जीवन, सुरक्षित, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरण, सुशासन र राष्ट्रिय एकता, सुरक्षा र सम्मान लाई राखिएको छ । यसरी हेर्दा सुखको अवयवभित्र सुशासन समेटिएको पाइयो भने समृद्धिका चार वटा अन्तरसम्वन्धित पक्षमा तल उल्लेखित चित्रमा देखाएका चार वटा महत्त्वपूर्ण विषयहरू पर्दछन् :

समृद्धिका आयामहरू
विश्व परिवेश मात्र पनि हैन देशभित्रकै पनि जनजीविकाका क्षेत्रहरू क्रमशः परिवर्तन भइरहेका छन् । सार्वजनिक सेवा र सेवकप्रतिको जनअपेक्षा पनि बढेर गएको छ । अबको सार्वजनिक सेवक विभिन्न तह र निकायबिचको समन्वयकारी भूमिकामा, सङ्गठनभित्र र बाहिरबाट पनि विज्ञता एवं परामर्श लिने विषयमा र सूचना पद्धतिको परिपक्व व्यवस्थापनमार्फत पूर्वानुमान योग्यता बढाउने र अनिश्चितता घटाउने विषयमा खरो उत्रनुपर्दछ । समृद्धिको लागि सहयोगी र उत्प्रेरक भूमिका तथा सुशासनको लागि मुख्य भूमिका निर्वाह गर्ने निजामती सङ्गठन भएमा मात्र नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोचले व्यवहारमा मूर्तरूप लिनेछ । जिम्मेवारी किटान, समूह भावना र समन्वयको व्यवस्था राम्रो भयो भने सरकारको तर्फबाट प्रवाह हुने सेवा वा हुने सार्वजनिक कामहरू उचित समयमा सम्पन्न हुन्छन् । हिन्दी सिनेमा लक्ष्यमा सम्मिलित एउटा गीतले भनेझैँ काँधमा काँध र कदममा कदम मिलाउन सकियो भने हाम्रा दुस्मनहरू सबै पाखा लाग्दछन् ।

अन्त्यमा,
निजामती सेवामा स्वच्छता र सक्षमता कायम गर्नका लागि राजनीतिले प्रशासनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ । त्यति मात्र हैन निजामती सेवक स्वयं पनि व्यक्तिगत स्वार्थभन्दा माथि समाज र राष्ट्रको हितलाई राख्न सक्नुपर्दछ । काबिल प्रशासन संरचनामा निजामती कर्मचारीको जुझारु र गतिशील पहल भएमा मात्र समृद्धि र सुशासनको पवित्र दोभान भेटिने छ । आशा गरौँ यो दीर्घकालीन सोचले परिकल्पना गरेको समयभन्दा अगावै सम्भव होस् । निजामती सेवा दिवस, २०७७ कोशुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस