निजी अस्पतालको रिपोर्टमा पोजिटिभ देखिएकालाई भुक्तानी नदिन बिमा समितिको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निजी अस्पतालको रिपोर्टमा पोजिटिभ देखिएकालाई भुक्तानी नदिन बिमा समितिको निर्देशन


१९ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । निजी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आए पनि बिमा कम्पनीले भुक्तानी दिनु नपर्ने भन्दै बिमा समितिले पत्रमार्फत् कम्पनीहरुलाई निर्देशन दिएको छ ।

‘कोरोना बिमा मापदण्ड २०७७ को परिच्छेद ३ को दफा ११ अनुसार नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरगतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएमा मात्र भुक्तानी गर्ने गरी व्यवस्था गर्नु हुन थप स्पष्ट गरिएको व्यहोरा अनुरोध गरिन्छ,’ समितिको निर्देशनमा भनिएको छ ।

सरकारी ल्याबबाट गरिएको परीक्षणमा नेगेटिभ आउने र सोही व्यक्तिले निजी ल्याबमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको देखिएको भन्दै समितिले निजी प्रयोगशालाको परीक्षणलाई मान्यता नदिन भनेको बताइएको छ ।

बिमा दाबी भुक्तानी लिन सरकारी निकायले पीसीआर पोजिटिभ भएको पुष्टि गरेको हुनुपर्छ । यसैगरी निजी ल्याबबाट परीक्षण गरे पनि सरकारी निकायले रोग पुष्टि गरेको खण्डमा बिमा कम्पनीबाट दाबी भुक्तानी पाउने समितिले जनाएको छ । पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिन दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने भनिएको छ ।

बिमा समितिले निजी अस्पतालबाट आएको रिपोर्टमध्ये केही नक्कली भएको आशंकामा उक्त निर्देशन दिएको बताएको छ ।

गत सोमबारसम्म करिब ८ लाख ९५ हजार जनाले कोरोना बिमा गरिसकेका छन् । सो अवधिमा १ लाख ५ सय ४८ वटा बिमालेख बिक्री भएका छन् । ती बिमालेखबाट ५० करोड ३७ लाख ३० हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस