कर्णालीमा पत्रकारसहित १९ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्णालीमा पत्रकारसहित १९ जनामा कोरोना संक्रमण


१२ भाद्र २०७७, शुक्रबार


कर्णाली । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा पत्रकारसहित १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

कोभिड–१९ को अद्यावधिक विवरणअनुसार दैलेखमा एक सक्रिय पत्रकारसहित ११, जुम्लामा छ र सल्यानमा दुई जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ३६३ पुगेको छ ।

दैलेख जिल्ला अस्पतालमा गरिएको पिसिआर परीक्षणमा नारायण नगरपालिका वडा नं १ भगवती टोलका आठ र वडा नं ५ का तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । जिल्ला अस्पतालका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले नयाँ पहिचान भएका सबै समुदायस्तरका भएको बताए ।’कुनै ‘ट्राभल हिस्टी’ नभएका व्यक्ति हुन्, उनीहरुलाई आइसोलेशनमा राखिएको छ,’ उनले भने । स्थानीय एफएम रेडियोमा कार्यरत ती पत्रकार कर्णालीमै कोरोना सङ्क्रमण हुने पहिलो पत्रकार हुन् । जुम्लामा पहिचान भएका सबै हिमा गाउँपालिकाका हुन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेशनबाट गरी १५ जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ४० पुगेको छ । कोरोनाका सक्रिय बिरामीको सङ्ख्या ३१७ रहेको छ भने हालसम्म छ जनाको मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस