अझै केही दिन भारी वर्षाको सम्भावना : आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अझै केही दिन भारी वर्षाको सम्भावना : आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध


१४ श्रावण २०७७, बुधबार


काठमाडौं । मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ ।

गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताइन् ।

‘मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका हुनाले पुनःमनसुन सक्रिय भएको हो,’ मौसमविद् बारीले भनिन् ।

सोमबारबाट नेपालमा मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षा भइरहेको छ । मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश १, २, वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकामा ८.७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सबैभन्दा धेरै धनकुटामा १२६ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस