डा.दिव्या सिंहलाई डिन बनाएको विरोधमा आईओएममा तालाबन्दी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डा.दिव्या सिंहलाई डिन बनाएको विरोधमा आईओएममा तालाबन्दी


४ असार २०७७, बिहिबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा डा. दिव्यासिंह शाहलाई नियुक्ति गरेको विरोधमा विद्यार्थी संगठन अनेरास्ववियूले तालाबन्दी गरेको छ ।

अनेरास्ववियूले डा. शाहलाई डिन बनाउने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउनुपर्ने माग गर्दै आईओएममा तालाबन्दी गरेको हो ।

विद्यार्थी संगठन अनेरास्ववियूले वरिष्ठता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा. सिंहलाई नियुक्ति गरिएको भन्दै तालाबन्दी गरेको क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले बताए ।

यस्तै उनले यो कदमप्रति प्राध्यापक तथा कर्मचारी संगठनहरुको पनि समर्थन रहेको बताए ।

प्रा. डा प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटिले नाम सिफारिस गरे लगत्तै बुधबार त्रिवि कार्यकारी परिषदले डा. शाहलाई आईओएमको डिनमा नियुक्ति गरेको थियो । शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन् ।

विद्यार्थी नेता पंगेनीले एक विज्ञप्ति जारी गर्दै डा. गोविन्द केसीको लगातारको अनशनपछि आईओएममा वरिष्ठताको आधारमा डिन छान्ने पद्धति बसेको भन्दै अहिले उक्त पद्धति मिचेर गरिएको निर्णय फिर्ता नहुँदासम्म तालाबन्दी जारी रहने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस