राष्ट्रियसभाबाट नक्सासम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मत पारित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रियसभाबाट नक्सासम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मत पारित


४ असार २०७७, बिहिबार


काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभामा बिहीबारको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले मतदान गरेका थिए । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । विपक्षमा कुनै पनि भत परेन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भैसकेको छ । विधेयकमाथिको दफावार छलफलपछि कानुन न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

अब राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएको सुचना प्रतिनिधिसभालाई दिइनेछ । प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर प्रतिनिधि सभाले विधेयक सभाुमखबाट प्रमाणित गराएर प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ । त्यसपछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ । सरकारले  गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस