तरकारी नष्ट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तरकारी नष्ट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन


२२ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । कोरोना फैलिन्छ भनेर अनधिकृत रूपमा तरकारी नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न संसदीय समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकले कानुन हातमा लिएर किसानको उत्पादन नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएको हो ।

केही समय पहिले पोखरा, अर्घाखाँची, कपिलवस्तुलगायतका जिल्लामा वडाध्यक्षहरूकै अगुवाइमा किसानको तरकारी नष्ट गरिएका समाचार सार्वजनिक भएका थिए । कोरोना सङ्क्रमण फैलिने भन्दै उनीहरूले कुनै वैज्ञानिक आधारबिना तरकारी नष्ट गरेकोमा व्यापक आलोचना भएको थियो । संसदीय समितिले उक्त कार्यप्रति गम्भीर आपत्ति जनाउँदै कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘कोभिड-१९ रोकथाम गर्ने सम्बन्धमा कानुनलाई हातमा लिई अनधिकृत रूपमा तरकारी तथा फलफूल नष्ट गर्ने सम्बन्धित व्यक्तिलाई कानुनबमोजिम कारबाही गरी किसानका तरकारी निर्बाध रूपमा ओसारपसार गर्न सक्ने व्यवस्था गर्नू’, समितिले गृह मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।

समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई खाद्य पदार्थमा हुने अखाद्य पदार्थको मिसावट रोक्न र आवश्यक खाद्यान्न संचिति कायम गरी महामारीमा खाद्यान्न अभाव हुन नदिने कार्य अगाडि बढाउन निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस