थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने


२२ जेष्ठ २०७७, बिहिबार


high court

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा थप आठ प्रकारका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरुको बुधवार बसेको सो बैठकले थप आठ प्रकारका मुद्दा सुनुवाइ सुरु गर्ने निर्णय गरेको सर्वोच्च अदालतका उपरजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए ।

सर्वोच्च अदालतले बन्दाबन्दी जारी भएपछि सुरुमा बन्दी प्रत्यक्षीकरण र महामारीसम्बन्धी मात्र मुद्दाहरूको सुनुवाइ सुरु गरेको थियो । त्यसपछि सेवाग्राही उपस्थित नहुँदा हुने मुद्दा र सार्वजनिक सरोकारका रिट निवेदनमाथि सुनुवाइ सुरु गरी अहिले थप आठ प्रकारका सुनुवाइ गर्ने निर्णय गरेको हो ।

बैठकले बन्दाबन्दीको अवधिमा दर्ता हुन आएको रिट निवेदनको कारबाही र सुनुवाइ गर्ने, सम्बन्धित पक्ष वा कानुन व्यवसायी उपस्थित हुन सक्ने अवस्थाका मुलुकी फौजदारी कार्यविधि संहिताअनुसारको निवेदनको कारबाही र सुनुवाइ गर्ने निर्णय गरेको छ ।

पक्ष वा कानुन व्यवसायी उपस्थित हुनसक्ने अवस्थाका दर पीठ आदेशविरुद्धका निवेदन, बन्दाबन्दीअघि दर्ता भई कारबाहीयुक्त अवस्थामा रहेको र पक्ष वा कानुन व्यवसायी उपस्थित हुनसक्ने मुद्दाको सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो ।

बैठकले कानुन व्यवसायी नियुक्त नगरिएका थुनामा रहेका व्यक्ति पुनरावेदक भई वैतनिक वकिलमार्फत प्रतिनिधित्व हुने मुद्दाको सुनुवाइ, सरकार पुनरावेदक भएका मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भई प्रतिवादीले म्याद गुजारी चैत ९ गतेअघि म्याद थमाउने अवधि समाप्त भएका मुद्दाको सुनुवाइ थालनी गर्ने निर्णयमा उल्लेख छ ।

पक्ष तारिखमा नरहेको वा तारिख गुजारी थमाउने अवधि समाप्त भएका र कानुन व्यवसायी उपस्थित हुन नसक्ने मुद्दाको सुनुवाइ हुने, मिलापत्र र मुद्दा फिर्तासम्बन्धी कारबाही आजदेखि नै सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस