दक्षिण कोरियामा जनसङ्ख्या घट्दो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दक्षिण कोरियामा जनसङ्ख्या घट्दो


२२ जेष्ठ २०७७, बिहिबार


सउल । दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्याङ्कअनुसार गएको डिसेम्बरमा ५१.८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१.८४१ मिलियनमा झरेको छ ।

मृत्युदर्ता, जन्मदर्ता तथा बसाइँसराइलाई आधार मानि सार्वजनिक गरिएको सो तथ्याङ्कमा १० हजार ५६ ले घटेको हो । उक्त अवधिमा सबैभन्दा धेरै गत फेब्रुअरीमा दुई हजार ८८२ ले घटेको छ भने सबैभन्दा कम अप्रिलमा ७७१ ले घटेको छ । कोरियामा यसभन्दा अघि सन् २००८ को मार्च र २००९ को अप्रिलमा पनि जनसङ्ख्या केही घटेको थियो भने एक दशकयता भने निरन्तर बढ्दो क्रममा थियो ।

तथ्याङ्कका अनुसार जनसङ्ख्या घट्नुको कारण कोरोनाका कारण भने न्यून विन्दुमा देखिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण कोरियामा २७१ जनाको मात्र मृत्यु भएको छ ।

स्थायी बसोबास गर्नेले पुनः प्रवेशाज्ञा लिनुपर्ने
कोरोना रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यहाँ स्थायी बसोबास गर्ने सम्पूर्ण विदेशी नागरिक जुनसुकै देशमा भए पनि कोरिया फर्कंदा जुन १ तारिखदेखि स्थानीय अध्यामनबाट पुनः प्रवेश अनुमति लिनुपर्ने नियम बनाइएको छ ।

सो नियमानुसार यहाँ स्थायी बसोबास गर्ने नेपाली नेपाल वा कोरियाबाहेक अन्य मुलुकमा बसी कोरिया प्रवेश गर्न लागेको छ भने स्थानीय अध्यागमनबाट अनिवार्य प्रवेशआज्ञा लिनुपर्नेछ । यहाँको न्याय मन्त्रालयका अनुसार यहाँ लामो समय बसोबास गरी केही समयका लागि बाहिर गएका विदेशी नागरिकले सरकारले तोकेका निश्चित मापदण्ड पूरा गरी स्थानीय अध्यागमनबाट पुनः प्रवेशाज्ञा लिनुपर्ने भएको हो ।

मापदण्डअनुसार प्रवेशाज्ञा लिँदा ४८ घण्टाभित्र अनिवार्यरूपमा उक्त देशको सरकारी मान्यता प्राप्त अस्पतालबाट स्वास्थ्य जाँच गरेको रिपोर्ट बुझाउनु पर्ने जनाइएको छ । रिपोर्टमा ज्योरो, रुघाखोकी, शरीर चिलाउने, टाउको दुख्ने, स्वासप्रस्वाससम्बन्धी समस्या आदिको लक्षण भए/नभएको अनिवार्यरूपमा खुलेको हुनुपर्ने छ । रिपोर्ट कोरियन वा अङ्ग्रेजी भाषामा लेखिएको हुनुपर्ने र मान्यताप्राप्त चिकित्सकको हस्ताक्षरसमेत भएको हुनुपर्ने प्रावधान छ ।

तर कूटनीतिक भिसा, अफिसियल भिसा, सन्धि सम्झौतासम्बन्धी भिसा तथा विदेशमा बस्ने कोरियन नागरिकका लागि भने भिसाको लागि यो नियम लागू नहुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस