सुर्खेतको क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुर्खेतको क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु


२२ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । सुर्खेतको क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु भएको छ । जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेका पन्चपुरी नगरपालिका १ का १९ वर्षीय युवकको बिहीबार बिहान घरमै मृत्यु भएको हो ।

जेठ ७ गते भारतबाट आएका उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिमा राखिएको थियो । पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले ती युवकको फेरि पनि स्वाब संकलन गरेर पीसीआर टेस्ट गर्न स्वास्थ्यकर्मीको टोली उनको घरतर्फ पठाइएको बताएका छन् ।

जनता मावि विद्यापुरको क्वारेन्टाइनमा ५४ जना रहेकामा उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखिएको मेयर थापाले जानकारी दिएका छन् ।

तर पन्चपुरी–१ का ती १९ वर्षीय युवकको भने रिपोर्ट नेगेटिभ आएको थियो । उनी बसेको कोठामा रहेका अरु पाँच जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछि बुधबार अपराह्न करिब ३ बजेतिर उनलाई घर पठाइएको हो, मेयर थापाले भने ।

मेयर थापाले भने,‘जनता मावि विद्यापुरको क्वारेन्टिनबाट उनको घरसम्म पुग्न दुई–तीन घण्टा लाग्छ । तर अपराह्न ३ बजे क्वारेन्टिनबाट हिँडेका उनी राति ११–१२ बजेतिर बल्ल घर पुगेका भनिएको छ । उनी कसरी घरमा ढिलो पुगे त्यो कुरा बुझिएको छैन अनुसन्धान भइरहेको छ ।’

बिहीबार बिहान २ बजेतिर उनको मृत्यु भएको भन्ने जानकारी आएको मेयर थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस