वानस्पतिक उत्पादनमा जोड दिने अवसर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वानस्पतिक उत्पादनमा जोड दिने अवसर


२१ जेष्ठ २०७७, बुधबार


कोभिड–१९ रोगका कारण विश्वभर महामारी फैलिएको छ । कोरोना जस्ता महामारीहरूले बेला बखत मानव जीवनमा धेरै प्रभाव पारिरहेका हुन्छन् । अहिले कोरोना भाइरसका कारण मानिसदेखि मानिसबिच दूरी कायम गर्ने, बन्दाबन्दीको पालना गर्ने तथा मानवीय स्वभावहरूमा परिवर्तन ल्याउने खालका नियतिहरू भोगिरहनुपरेको अवस्था छ । कोरोनाका कारण सबै खालका मानवीय गतिविधिहरूमा दक्खल परेको छ । जसको कारण अत्यावश्यक वस्तुहरूको आपूर्तिमा बाधा उत्पन्न हुन सक्छ । कृषि उत्पादनमा समेत गिरावट आइ खाद्य सङ्कट निम्तिन सक्छ । नेपाल जस्तो मुलुकमा कोरोनाका असरहरू तीव्र बन्न सक्ने हुँदा कृषि बालीका साथसाथै जडीबुटी तथा सुगन्धित वनस्पतिहरूको उत्पादनमा पहलकदमी लिई सम्भावित जोखिम न्यूनीकरण गर्नेतर्फ सजग हुनुपर्दछ ।

काठ, दाउरा, डाले घाँस, जडीबुटी, सुगन्धित वनस्पति, स्याउला पत्कर सबै नै वनस्पतिजन्य उपज हुन् । वनस्पतिले नै अक्सिजनको उत्सर्जन गरी कार्बन शोषण गरेर वायुमण्डलमा कम कार्बन उत्सर्जन हुन सघाइरहेका हुन्छन् । भू-क्षय, बाढी पहिरो तथा जलाधार संरक्षणको लागि पनि वनस्पतिको नै प्रमुख भूमिका रहेको हुन्छ । जलचक्र सुचारु गरी वातावरणीय स्वच्छता प्रदान गर्न वनस्पतिकै देन रहेको छ । वनस्पति प्राकृतिक सौन्दर्य र विभिन्न सांस्कृतिक आधार हुन् । जसबाट जैविक विविधता र धार्मिक एवं मौलिक अस्तित्व सुरक्षित राख्न सकिन्छ । वनस्पतिको संरक्षण तथा हुर्काइबाट धेरै खालका वनस्पति तथा जीवहरूको जमघट भई समग्रमा जैविक विविधताको संरक्षणमा सहयोग पुग्दछ । कोरोना जस्ता महामारीहरू फैलिनुमा वातावरणीय असन्तुलनको भूमिका रहेको हुन्छ । वातावरणीय सन्तुलन कायम गरी पारिस्थितिक प्रणाली सुचारु राख्नको लागि वनस्पतिको अहम् भूमिका रहन्छ ।

पछिल्लो तथ्याङ्कअनुसार विश्वभरमा ६० लाख भन्दा धेरै मानिसहरू कोरोना सङ्क्रमित भएका छन् भने विश्वभर ३ लाख ६६ हजार भन्दा धेरै मानिसको ज्यान कोरोनाको कारण गएको छ । नेपालमा १२ सय भन्दा धेरै मानिसहरूमा यो रोगको सङ्क्रमण देखिएको छ भने ६ मानिसले ज्यान गुमाएका छन् । कोरोना महामारीको कारण धेरै नेपालीहरू चाहेर पनि स्वदेश फिर्न सकेका छैनन् । आशा गरौँ ढिलो चाँडो ती नेपालीहरू पनि स्वदेश भित्रिनेछन् । लकडाउन लागु हुनु अगावै स्वदेश फिरेका र सहर बजार देखि गाउँ बस्तीहरूमा पुगेका मानिसहरू सबैलाई कृषि तथा वनस्पतिजन्य उत्पादनमा लाग्ने अवसर मिलेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशनहरुको पालना गर्दै यस्ता कार्यहरूमा लाग्नु आवश्यक छ ।

जडीबुटी, शोभनीय, आयुर्वेदिक जस्ता क्षेत्रहरूमा वनस्पतिको महत्त्व बढिरहेको छ । धेरै मानिसहरू जडीबुटी तथा सुगन्धित वनस्पतिहरूको खेतीमा आकृष्ट हुन थालेका छन् । जडीबुटी खेतीमा चासो बढाएका पनि छन् । वनस्पतिजन्य उत्पादन तथा व्यवसायीकरणमा अभिप्रेरित गर्दै जाने हो भने सबै खालका जमिनहरूको उपयोग मात्र होइन कि उत्पादनमा वृद्धि भई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्नेछ ।

संविधानको धारा ५१ (छ) मा जनसाधारणमा वातावरणीय स्वच्छता सम्बन्धी चेतना बढाइ औद्योगिक एवं भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै वन, वन्यजन्तु, पक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, संवर्धन र दिगो उपयोग गर्ने, वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वन क्षेत्र कायम राख्ने जस्ता प्रावधानहरूको व्यवस्था गरेको छ । वन नीति २०७५ मा उपलब्ध वन वनस्पति तथा जैविक विविधताको पूर्ण क्षमतामा सदुपयोग गर्न नसक्नु प्रमुख चुनौती उल्लेख गरिएको छ । नेपालका बहुमूल्य जडीबुटीहरूको देशभित्रै प्रशोधन तथा मूल्य अभिवृद्धिका चरणहरू पूरा गरी नेपालमा बनाऊँ अभियानका साथ उत्पादनहरूको व्यवसायीकरण गर्न सक्ने सम्भावना छ ।

नेपालको जीवन पद्धति र समृद्धिको आधारको रूपमा रहेको वन क्षेत्रको संवर्द्धन मार्फत वातावरणीय सन्तुलन कायम गर्दै वन सम्पदाको बहु उपयोग गरी आय, रोजगारी, एवं व्यवसाय प्रवर्द्धन गर्ने तथा समृद्धिको लागि वन कार्यक्रम सञ्चालन गरी काष्ठ, गैर काष्ठ र जडीबुटीमा आधारित उद्यमको विकास गर्ने कुराहरू आर्थिक वर्ष ०७७.७८ को बजेट वक्तव्यमा उल्लेख छन् । बजेट वक्तव्यमा जडीबुटी खेती विस्तार गर्दै प्रशोधन, बजारीकरण र विशिष्ट ब्राण्डिङ्ग गरिने पनि उल्लेख छ ।

नेपालको भूगोल अनुसार तराई, पहाड र हिमालसम्म नै विभिन्न खाले जडीबुटीहरूको व्यवसायीकरण गर्ने सम्भावना रहेको छ । यार्सागुम्बा जस्तो बहुमूल्य वनस्पतिको उच्च बजार मूल्य र मागबाट नै स्पष्ट हुन्छ वनस्पतिको महत्त्व के कति छ भन्ने । बहुमूल्य वनस्पतिहरूको व्यवसायीकरण गर्न सकेमा यथेष्ट आर्थिक लाभ लिन सकिने सम्भावना छ । वनस्पतिजन्य उत्पादनहरूको बढोत्तरी, व्यवसायीकरण र मूल्य अभिवृद्धि अत्यावश्यक छ ।

विश्वभर फैलिएको कोरोनाले त्रसित बनाइरहँदा विदेशबाट स्वदेश र सहर बजारबाट गाउँ फिरेका युवा युवतीहरूलाई हाम्रा सम्भावना बोकेका वनस्पति स्रोतहरूको खेतीमा लगाउनु यो उपयुक्त अवसर पनि हो । वनस्पतिजन्य उत्पादन विशेष गरी जडीबुटी तथा सुगन्धित वनस्पतिहरूको उत्पादन र व्यवसायीकरणको सम्भावना अधिक देखिन्छ । यसको लागि विशेष खालको प्राविधिक जनशक्ति र ठुलो लगानी आवश्यक पनि पर्दैन । सामान्य ज्ञान तथा सानो लगानीबाट पनि कृषि बालीहरू जस्तै यसको खेती गर्न सकिन्छ । आवश्यक ज्ञान सीप तथा प्रविधिको लागि विशेषज्ञ सेवा लिन बाहिर गइरहनु पनि पर्दैन । अन्य कृषि बालीहरू नहुने पाखो पखेरा, खोल्सा खोल्सीमा समेत जडीबुटी तथा सुगन्धित वनस्पतिहरूको खेती गर्न सकिने हुँदा भू उपयोग पनि गर्न सकिने र आयआर्जन समेत गर्न सकिने भएकोले यस कार्यलाई प्राथमिकतामा राख्नु आवश्यक छ ।

कोरोनासँग जुध्ने कुनै पनि ‌औषधि फेला परेको छैन । नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण भूगोलका पहाड, डाँडा तथा खोल्सीहरुमा कोरोना जस्ता महामारी गराउने रोगहरूको ओखती पनि रहेका हुन सक्छन् । कोरोनाको अवतरण पछिको अवस्था फरक हुन पनि सक्छ । अहिले जस्तो विदेशिने लहरमा पनि रोकावट या कमी आउन पनि सक्छ । यस्तो अवस्थामा अध्ययन अनुसन्धान, जीविकोपार्जन, आयआर्जन एवं रोजगारीका लागि जडीबुटी एवं सुगन्धित वनस्पतिहरू पनि आधार बन्न सक्छन् । रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण भएका वनस्पतिहरू पहिचान गरी उपयोग गर्न सकिनेछ । जसबाट कोभिड १९ जस्ता रोगहरूको सामना गर्ने सामर्थ्य हासिल गर्न सकियोस् ।

बहु उपयोगी वनस्पतिहरूको प्रवर्द्धनमा ध्यान जानु आवश्यक छ । सङ्घ, प्रदेश तथा स्थानीय तहहरूको आपसी समन्वय र सहकार्यमा यस्ता कार्यहरू बढी प्रभावकारी बन्न सक्छन् । दुर्लभ तथा लोपोन्मुख वनस्पतिहरूको स्वस्थानीय तथा परस्थानीय संरक्षणसम्बन्धी कार्यक्रमहरूमा बढवा दिँदै कृषकहरूलाई वनस्पतिजन्य उत्पादनका कार्यहरूमा प्रोत्साहन गर्नु आवश्यक छ । वनस्पतिको उपयोग र संरक्षणमा परम्परादेखि चली आएका ज्ञान, सीपहरूको सही प्रयोग एवं अनुसरण गर्न सक्यौँ भने वनस्पतिमा रहेका औषधीय गुणहरूको पहिचान एवं अभिलेखीकरण गर्न सहज हुनेछ ।

सर्भर कृषि भूमि समेत बाँझो एवं झाडीमा रूपान्तरण भइरहेको सन्दर्भमा जमिनको उपयोगमा ध्यान दिनु आवश्यक छ । कृषि वन तथा फलफूल खेती प्रवर्द्धनका कार्यहरूलाई बढवा दिन सकिन्छ । वनस्पतिसँगै माहुरी तथा रेसम खेतीतर्फ पनि जोडिन सक्छौँ । यसको अलावा पशुपंक्षी पालनमा पनि आत्मनिर्भर हुने खालका नीतिहरू लिनुपर्दछ । विदेशमा सिकेका सीप तथा प्रविधिहरू स्वदेशमा उपयोग गर्ने अवसरको रूपमा कोरोनाले थपेको चुनौतीलाई लिन सक्नुपर्दछ । कोरोनाको प्रभावस्वरुप आफ्नो गाउँ ठाउँमा फिर्नुपरेका वा फिरेका सबैले वानस्पतिक उत्पादनमा ध्यान दिऔँ, सुरक्षित रही उत्पादनमुक कार्यमा लागि स्व निर्भर बन्ने प्रण गरौँ । सबै जुट्यौँ भने ठुला ठुला महामारीहरूबाट पनि उम्किन सकिन्छ ।

वैज्ञानिक अधिकृत, वनस्पति विभाग
[email protected]

Tags :
प्रतिक्रिया दिनुहोस