१८३ जनाले जिते कोरोना - प्रशासन प्रशासन
prasaLogo
१४ जेष्ठ २०७७, बुधबार

१८३ जनाले जिते कोरोना


प्रकाशित मिति : 27 May, 2020 7:35 pm

काठमाडौँ । नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरू कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो समय मात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। डिस्चार्ज हुनेमा सबैभन्दा बढी प्रदेश नं २ का ९७ जना छन् । यस्तै प्रदेश नं १ का ३०, वागमती प्रदेशका ११, गण्डकी प्रदेशका दुई, प्रदेश नं ५ का ३८ र सुदूरपश्चिम प्रदेशका पाँच जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा पिसिआर विधिमार्फत तीन हजार ५८० नमुना परीक्षण गरिएको छ । त्यस्तै २४ घण्टामै आरडिटी विधिमार्फत दुई हजार ३२० नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सरकारले हालसम्म पिसिआर विधिमार्फत ५८ हजार २७७ र आरडिटी विधिद्वारा एक लाख २८७ जनाको परीक्षण गरेको छ ।

देशभर बनाइएको क्वारेन्टिनमा हालसम्म ७० हजार ३०५ जना रहेका छन् । यस्तै विभिन्न अस्पतालको आइसोलेसनमा ६९९ जनाको उपचार भइरहेको छ । हालसम्म कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस