लकडाउनको समयमा कति वर्षका बालबालिकालाई कस्तो शिक्षा ? « प्रशासन
prasaLogo
१४ जेष्ठ २०७७, बुधबार

लकडाउनको समयमा कति वर्षका बालबालिकालाई कस्तो शिक्षा ?


प्रकाशित मिति : 27 May, 2020 6:30 am

विश्वव्यापी फैलिएको र मानव जातिको अस्तित्व माथि नै चुनौती दिएको यो कोरोना भाइरस(कोभिड १९) ले सबैभन्दा बढी प्रभावित भएका सायद बालबालिका नै हुन् ।

सामान्यतया हाम्रो बालबालिकाहरू दिउँसो स्कुल जान्थे र परिवारका अन्य सदस्यहरुलाई आफ्नो दैनिकी गर्न सहज हुने गर्दथ्यो । सोच्दै नसोचेको कोरोना भाइरस(कोभिड १९) ले अहिले बिश्वभरिनै मानिसहरूलाई कसरी समय बिताउने वा आफ्ना बालबच्चालाई कति समय दिने ? के के सिकाउने ? अर्थात् कसरी सिकाउने भन्ने ज्ञान नहुन पनि सक्छ भए पनि कति बेला र कसरी सिकाउने भन्ने ख्याल नहुन सक्छ ।

आउनुहोस् आज म तपाइको बच्चाको समय निर्धारण कसरी गराउने भन्ने बारेमा केही उपयोगिमुलक कुराहरू बताउँछु । जसले गर्दा बालबालिकाहरूले हरेक कुराहरूमा मेरो परिवारका सदस्यहरू आमा, बुवाहरू पनि गुरु नै रहेछन् भन्ने महसुस गरुन् ।

भनिन्छ, बालबालिका एक प्रकारका काँचो माटो हुन्, जसलाई जस्तो आकार बनायो उनीहरू त्यस्तै बनिदिन्छन् । यसो त बालबालिकालाई कस्तो आकृति दिने त्यो अभिभावककै हातमा हुने गर्दछ र त्यसपछि समाज अनि विद्यालय पनि सँगसँगै रहने गर्दछ । शिशु जब आमाको गर्वबाट धर्तीमा जन्म लिन्छ, त्यसपछि उसले पहिलो शिक्षा वा संस्कार लगायत आफ्ना प्राथमिकताका क्रियाकलापहरू आमा, बाबु र परिवारबाटै सिक्ने गर्दछ । अब भन्नुस् त तपाईँ आफ्नो बालकलाई कस्तो आकृति दिनुहुन्छ वा दिनुभएको छ ?

कतै मेरो बच्चा नराम्रो बन्छ कि ? मेरो बच्चा बिग्रिएर नपढ्ने भएर परिवारलाई सताउने हुने पो हो कि ? वा अन्य थुप्रै सोच मग्न कुराहरू आमा, बाबु वा परिवार सबै सदस्यलाई हुने गर्दछ । के गर्ने र कसरी सुधार्ने वा समस्या कसरी ननिम्त्याउने ? भई हाले के गर्ने ? भन्ने कतिपय अभिभावकलाई जिज्ञासा मेटाउन हामीले केही महत्त्वपूर्ण कुराहरूमा ध्यान दिएर विद्यार्थीलाई विद्यालय वा शैक्षिक संस्थामा नपठाईकन पनि उनीहरूको मनोवैज्ञानिक पक्षलाई मध्यनजर गर्न सकियो भने विद्यालय शिक्षाका साथै उचित र संस्कारयुक्त शिक्षा परिवारमै दिन सकिने विभिन्न अध्ययन अनुसन्धानबाट बताइएको छ । तल दिएका उमेर अनुसारका बालबालिकाको मनोबैज्ञानलाई बुझ्दै घरबाट पनि यो ूलकडाउनू को समयमा बालमस्तिस्कमा परेको असरलाई कम गर्न सकिन्छ ।

२ देखि ६ वर्षको बच्चालाई के सिकाउने ?
यदि तपाइको बच्चा दुईदेखि छ वर्षको हो भने यो उमेर हरेक कुराको जिज्ञासा गर्ने उमेर हो। वैज्ञानिकहरूले यो उमेर व्यावहारिक समस्याको उमेर पनि भनेका छन् । जसमा:
पूर्व बालसमुहको उमेर
प्रश्न सोध्ने,जिज्ञासु उमेर
नक्कल गर्ने उमेर
सृजनात्मक उमेर
खोजी गर्ने उमेर
पूर्व विद्यालयको उमेर

यो उमेरका बालबालिकाहरू आमाबाबुलाई एकदमै सताउने हरेक कुराहरूको जिज्ञासा राख्ने, प्रश्न सोध्ने, खोजी गर्ने वा नक्कल गर्ने र अध्ययनसम्बन्धी केही सामान्य जानकारी राख्ने उमेर हो । जस्तै ‘क देखि ज्ञ’ सम्म, ए टु जेटसम्म, एकदेखि सयसम्म, लेख्न पढ्न र चिन्न सक्दछन् साथै दुई, तीन अक्षरबाट बनेका शब्द जस्तै: आमा, मामा, किताब, असल, एप्पल, बनाना, राष्ट्रिय फुल, जनावर, खेल, कलर, चरा र नेपालको झन्डा, नक्सा बनाउन लगायत जोडिएका शब्द, सामान्य जनावरको नाम बार र वर्षका नाम, मौसमअनुसारका वर्ष, सजीव र निर्जीव जीवजन्तु आदि थुप्रै सामान्य जोड घटाऊ धेरै कुराहरू जुन आधारभूत छन्, सबै घरमा नै मात्रा मिलाएर बच्चाले जे सिक्न सक्ने क्षमता छ, त्यही त्यही सिकाउन सकिन्छ ।

यो समय यी बच्चाहरूको आमाबाबुहरू परिवारका सदस्यहरू नजिक भएर बच्चालाई धेरै समय दिने, उनीहरूको कुरा सुन्ने, सकारात्मक कुराहरू सिकाउने र माटो,ढुङ्गा, फलफूल, जनावर, रङ्गहरू, रुख बिरुवाको नामहरू, चित्र कोर्न राम्रो रङ्ग भर्न आदि कुराहरू सिकाउन सकिन्छ र सामान्य कुरा के कसरी बन्छ भन्ने कुराहरू पनि सिकाउन सकिन्छ । जसले गर्दा आफ्नो बच्चाले सामान्य सिकाइ सिकोस् । सिकाउने क्रममा बच्चालाई कथाको माध्यमबाट वा गीतको माध्यमबाट पनि कौतूहल मेटाउन सकिन्छ । यसरी सिकाउँदा बच्चाहरू खुब चासो दिएर सिक्दछन् र त्यो सिकाइ दिगो पनि हुन्छ सिकाउने क्रममा घरमै भएका हरेक कुराहरू जुन पढाइ सँग मिल्दछन् । ती कुराहरू देखाएर वा चित्र बनाएर सिकाउने हो भने उनीहरूको दिमागले सोचेका सबै कुराहरू सोध्ने गर्दछन् अनि अभिभावकले झर्को नमानी फकाइ फुलाइ हरेक माध्यमबाट बच्चालाई खुसी पारेर सिकाउन सकिन्छ ।

६ देखि १३-१४ वर्षको उमेर उमेरका बच्चालाई के सिकाउने ?
यदि तपाइको बच्चा छ देखि तेह्र-चौध वर्षको हो भने यो उमेर भनेको उनीहरू ग्रुप बनाइ आफ्नो समूहमा घुलमिल हुने उमेर पनि हो । जसमा:
बाल समूहको उमेर
सृजनात्मक उमेर
खेल उमेर
विद्यालय जाने आधारभूत उमेर
नाजुक संवेदनशील उमेर

यो उमेर भनेको बालबालिकाको तीव्र शारीरिक वृद्धिको उमेर पनि हो । बालबालिकाले आधारभूत कुराहरूका बारेमा सिक्ने, सिकेको कुरा व्यवहारमा उतार्ने उमेर पनि हो । यस उमेरका बालबालिका खेल्न मन पराउने, साथी बनाउने र विद्यालय जाने उमेर पनि हो । यो समयमा यस उमेरका बालबालिकालाई भान्साको कामहरू जस्तै के कसरी पकाउने ? के कति भान्सामा प्रयोग गर्ने ? अथवा सफा कसरी गर्ने ? आफ्नो गार्डेन वा करेसाबारी कसरी सफा राख्ने ? अझ भनौँ कसरी तरकारी लगाउन र उत्पादन गर्न सकिन्छ ? पढाइकै विषयमा त झन् पढेको कुरालाई कसरी ब्यावहारमा उतार्ने आदि कुराहरू पनि सिकाउन सकिन्छ । साथै बच्चालाई पुराना-पुराना आफूले जानेका र भोगेका कुराहरू जुन सकारात्मक छन् ती कुराहरू सुनाएर उनीहरू भावना बुझ्न सकिन्छ । र, त्यस्तै पृथ्वीनारायण को हुन् ? राजा भनेको को हुन् ? प्रधानमन्त्री को हुन् ? असल मान्छे कसरी बन्ने ? आदि विभिन्न कुराहरू कथा कविता, उखान ,टुक्काहरूको माध्यमबाट बालबालिकालाई सृजनशील बनाउन सकिन्छ ।

यसका साथै बालिकाहरूलाई किशोरी समस्या र समाधानका उपायहरू पनि सिकाउन सकिन्छ ।

यो उमेरका बच्चाहरू प्रायः शिक्षकको कुरालाई मात्र ठिक हो भन्ने र घरमा सदस्यको राम्रो कुराहरूलाई पनि अस्वीकार गर्ने गर्दछन् । यो अधिक समयमा तपाइले मेरो बाबुआमाले पनि धेरै कुराहरू जान्नु भएको रहेछ, मेरो अभिभावक पनि गुरु नै हुनुहुँदो रहेछ भन्ने एउटा राम्रो छाप उनीहरूको मानसपटलमा परोस् ।

१३ देखि १७-१८ वर्षको उमेरका बच्चालाई के सिकाउने ?
यदि तपाइको बच्चा तेह्र देखि सत्र-अठार वर्षको हुनुहुन्छ भने यो उमेर एक किसिमको समस्याको उमेर हो भनेर पनि मनोवैज्ञानिकहरूले भनेका छन् । जसमा:
सङ्क्रमणकालीन उमेर
एक महत्त्वपूर्ण उमेर
आत्म पहिचान खोज्ने अवस्था
डराउने वा दुखी हुने उमेर
समस्याको उमेर
वयस्क सँघारको उमेर
दिवास्वप्नको उमेर

यो उमेरका बालबालिकामा प्रायः शारीरिक समस्याहरू एक पछि अर्को गरी आउने गर्दछ, अर्थात् शारीरिक स्वरूप परिवर्तन हुने गर्दछ । यो उमेरका बालबालिकाहरूको यो समयमा उनीहरूको भावना बुझ्ने, अभिभावक साथी जस्तै बनिदिने र समस्याको समाधानका उपायहरू पहिचान गराउने गर्नु पर्दछ । घरको सम्पूर्ण सक्ने काम सिकाउने, खेत बारीको काम सिकाउने र जीवन के हो ? आफू कसरी अगाडि बढ्ने ? भन्ने कुराहरू पनि सिकाउन सकिन्छ । खोज अनुसन्धान गर्ने, बुझ्ने र जान्ने उमेर वा भविष्य निर्माण गर्ने एक किसिमको आधारशिलाको उमेर भएको हुँदा बालबालिकालाई यो उमेरमा सकारात्मक कुराहरू तर्फ प्रेरित गर्न सकिन्छ । किशोर, किशोरी अवस्थामा आउने नकारात्मक सोचहरू प्रति सचेत गराउनु पनि एक किसिमको अत्यावश्यक शिक्षा हो ।

यसरी हरेक किसिमले तपाइको बालबालिकालाई घरमै पनि धेरै कुराहरू सिकाउन सकिन्छ । अझ भनौ किताबहरू पनि बेला बेलामा पढ्ने, सामाजिक सञ्जालबाट टाढा रहने, नजानेको र नबुझेको कुराहरू आफ्नो आमाबुबा र शिक्षक वा अन्य व्यक्तिलाई पनि सोध्न सकिन्छ । अहिलेका अधिकांश बालबालिकाहरू सामाजिक सञ्जाल फेसबुक, इन्स्टा, ट्विटर, टिकटक, पब्जी वा अन्य गेमतिर मात्र भुल्ने, अनावश्यक भिडियो हेर्ने र ध्यान नै मोबाइल वा ल्यापटपमा लैजाने, अटेर बन्ने, नपढ्ने गरेको पाइछ। यसरी तपाइको बच्चालाई आफ्नो शिक्षामा ठुलो असर पर्दछ । त्यसैले आजैबाट यस्ता कुराहरूबाट टाढा राख्नुहोस् र अध्ययन तर्फ प्रेरित गराउनुहोस् ।

खोज अनुसन्धान गर्न लगाउनुहोस् । हरेक कुराहरूको अभ्यास गर्न सिकाउनुहोस् । यो समय तपाइको बच्चाको हरेक कुराहरू बुझ्ने तपाइको पनि महत्त्वपूर्ण अवसर हो । बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्दै पारिवारिक सस्कृती, परम्परा रीतिरिवाजबारेमा पनि सिकाउन सकिन्छ । यो बन्दाबन्दिको समयमा बालमनोबिज्ञानलाई बुझी गलत र कुकार्यबाट निरुत्साहित गर्दै भविष्यका कर्णधारका रूपमा अघि सार्न वा आधारशिला निर्माण गर्ने स्वर्णिम अवसरका रूपमा लिन सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस