कोभिड-१९ : प्रहरी, अपराध अनुसन्धान र शान्ति सुरक्षा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोभिड-१९ : प्रहरी, अपराध अनुसन्धान र शान्ति सुरक्षा


प्रशासन विशेष ब्युरो

११ जेष्ठ २०७७, आइतबार


विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण नेपालमा बढ्दो क्रममा छ । पछिल्लो समय शान्ति सुरक्षा कायम गर्ने सुरक्षाकर्मीहरुमा नै सङ्क्रमण फैलिएपछि जोखिम अझ थपिएको छ । महत्त्वपूर्ण निकायदेखि व्यक्तिसम्मको सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षात्मक त्यसमा पनि नागरिक तहसम्मै पुग्ने नेपाल प्रहरीमा देखिएको सङ्क्रमणले चुनौती बढाएको छ । स्वास्थ्य चेक जाँच तथा सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकहरूले नै पर्याप्त स्वास्थ्य सुरक्षा सामाग्रीहरू उपलब्ध गराउन नसकिरहेको अवस्थामा सुरक्षाकर्मीहरुलाई सुसज्जित बनाउने कुरा पनि तत्काल सम्भव देखिँदैन । न त दैनिक आम नागरिकको सुरक्षामा खट्नुपर्ने जिम्मेवारीबाट नै आराम लिन मिल्छ । यस्तो अवस्थामा आफू सुरक्षित रही आम नागरिकलाई सुरक्षित कसरी राख्न सकिन्छ ? सरकारले नै सामाजिक दुरी कायम राख्न भनिरहँदा सामूहिक बसाइमा प्रहरी कसरी सुरक्षित हुन सक्छन् ? उपत्यकाकै सिँगै प्रहरी युनिट आइसोलेसनमा बसिरहँदा र कैदी बन्दीमासमेत कोरोना सङ्क्रमण देखिएको अवस्थामा अबको उपाय के हुने ? लकडाउन खुलेसँगै बढ्न सक्ने अपराधका घटना र त्यसको नियन्त्रणलगायत विषयमा नेपाल प्रहरीका पूर्व अधिकारी तथा अपराध अनुसन्धानविद् हेमन्त मल्ल ठकुरीसँग प्रशासन डटकमले गरेको कुराकानी ।

प्रहरीमा नै कोरोना देखियो र राजधानीकै कालीमाटी युनिट आइसोलेसनमा राख्नु पर्ने अवस्था आइरहँदा यसले समग्र पुलिसिङमा पर्न सक्ने असर के देखिन्छ ?
यति बेला फिल्डमा सबैभन्दा धेरै सुरक्षाकर्मीहरु नै खटिइरहेका छन् । सीमा सुरक्षादेखि महत्त्वपूर्ण स्थान तथा व्यक्तिको सुरक्षा हुँदै सिङ्गो मुलुकको सुरक्षार्थ अग्रपङ्क्तिमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिई रहेका छन् । पछिल्लो समय सुरक्षाकर्मीहरुमासमेत सङ्क्रमण देखिने क्रम बढेको र उपत्यकास्थित महत्त्वपूर्ण प्रहरी युनिट कालीमाटीको सिङ्गो युनिट नै आइसोलेसनमा बसेको छ । हिजै मात्र बैतडीमा सुरक्षाकर्मी र बन्दीमा कोरोना देखिएको घटनाले अझ बढी चुनौती थपेको छ ।

यस घटनाले स्रोत साधनबिना फिल्डमा जिम्मेवारी निर्वाह गर्ने सुरक्षाकर्मीमा डर र त्रास पैदा भएको छ । जसले गर्दा बाटोमा हिँड्ने मानिसलाई पनि रोक्ने कि नरोक्ने ? सोधपुछ कसरी गर्ने ? कुनै घटना घटिहालेमा कसरी पक्राउ गर्ने ? त्यसबाट आफूलाई रोग सर्ने पो हो कि ? लगायतका मनोवैज्ञानिक त्रास बढेको देखिन्छ । र, सिङ्गो युनिट आइसोलेसनमा बस्दा जे जति गम्भीर भएर तयारीतर्फ लाग्नु पर्ने हो त्यो देखिँदैन ।

आम नागरिकसँग प्रत्यक्ष संलग्न हुने प्रहरीले नै असुरक्षित महसुस गर्दा त्यसले समग्र शान्ति सुरक्षा लगायत अहिलेको महामारी नियन्त्रणमा कस्तो असर पुर्‍याउने देख्नुहुन्छ ?
सिङ्गो युनिट आइसोलेसनमा बस्दा त्यो क्षेत्रको शान्ति सुरक्षा कायम गर्नेदेखि अपराध अनुसन्धानलगायत सम्पूर्ण प्रशासनिक गतिविधिहरू ब्लक हुन पुग्छन् । थप मद्दतका लागि प्रहरी पठाइएला, सडकमा पनि खटाइला तर जुन काम त्यो युनिटले गर्नुपर्ने हो त्यो तत्कालका लागि खटाइएका प्रहरीले त गर्न सक्दैन त त्यसको असर समग्र शान्ति सुरक्षामा पर्छ ।

अहिले कालीमाटीका दुई जनामा देखियो तिनलाई उपचारका लागि पठाइयो, सक्कियो भन्ने होइन । भोलिका दिन उपत्यका अपराध अनुसन्धानको युनिट आइसोलेसन गर्नु पर्ने अवस्था आयो भने के हुन्छ अवस्था ? त्यतातर्फ खै त तयारी ? उपत्यकाकै महत्त्वपूर्ण युनिट आइसोलेसनमा बसिरहेको अवस्थामा अन्य ठाउँमा पनि यस्तो नहोस् भन्नका लागि अहिले प्रहरीहरू जे जसरी काम गर्दै आएका छन् र बस्दै आएका छन् केही समयका लागि यसलाई पनि फरक ढङ्गले व्यवस्थापन गर्नुपर्छ ।

अहिले प्रहरीहरू ब्यारेकमा सामूहिक रूपमा बसिरहेका छन् । त्यसै गरी कहीँ कतै भिड नियन्त्रण होस् या अन्यत्र खटन पटन गर्दा होस् प्रहरी परिचालन गरिँदा ठुलो समूहमा पठाउने विषयमा पनि सोच्नु पर्छ कि ! र, सबैभन्दा महत्त्वपूर्ण कुरा जुन हिजोदेखि नै प्रविधिले सुसज्जित गराउनु पर्छ भनेर हामीले भनिरहेका छौँ, त्यो अहिले कड्किएको छ, त्यसैले प्रविधिमा जोड दिनै पर्छ ।

हरेक घटनामा पहिलो पङ्क्तिमा प्रहरी नै उभिने र हालकै अवस्था हेर्ने हो भने सुरक्षात्मक उपायहरूसमेत अभाव देखिई रहँदा भोलिका दिनमा युनिटका युनिट प्रहरीहरू आइसोलेसनमा राख्नु पर्ने अवस्था आयो भने त्यो बेलामा समग्र सुरक्षा व्यवस्था के हुने भन्ने महत्त्वपूर्ण प्रश्न हो ।

यस्तो अवस्थाबाट माथि उठ्न र भोलिका दिनमा आइपर्ने सम्भावित चुनौतीहरूको सामना गर्न के जरुरी ठान्नुहुन्छ ?
प्रहरीको जनशक्ति यही हो, अवस्था यही हो र स्रोतसाधन पनि त्यही हो । अहिले सरकारले बढाउने जस्तो लाग्दैन मलाई । प्रहरीलाई भोलिका दिनमा काम गर्न अझ गारो हुने देखिन्छ । प्रहरी परिचालन गर्दा आफ्नो सुरक्षा पनि हेर्नुपर्छ । फिल्डमा गएर काम गर्दा कथम कदाचित कुनै एक व्यक्ति मात्र सङ्क्रमित भयो भने सिङ्गो युनिटमा सङ्क्रमण फैलने डर हुन्छ ।

प्रहरीमा यो चेतना बढ्दै गएपछि अहिलेकै अवस्थामा पनि कामकारबाही गर्न गारो पर्ने देखिएकोले अहिले नै प्रहरीको सामूहिक बसाई देखि अपरेसनमा खटाउँदा भौतिक दुरी कायम राखेर काम गर्नेसम्मका तौरतरिकाहरू बदल्न जरुरी भई सकेको छ । रोग नियन्त्रण सँगसँगै अपराध नियन्त्रण कसरी गर्ने भन्ने बारे सरकारले सोच्न जरुरी छ । किनकि अहिलेको अवस्था भनेको रोगसँग जोगिएर काम गर्नुपर्ने अवस्था छ । बसाइदेखि काम गराई सम्मै फरक किसिमले सोचेर अघि बढ्नै पर्छ । यसमा सरकारले सपोर्ट गरेन भने एक्लै पुलिसले मात्रै गर्न सक्दैन ।

भिड नियन्त्रण गर्नेदेखि अपराध गर्नेलाई पक्रने तथा थुन्ने सम्मका काम प्रहरीले गर्छ, त्यो अवस्थामा यहाँले भनेजस्तै भौतिक दुरी अर्थात् अझ बढी सुरक्षित रहेर कसरी काम गर्न सक्छ ?
कोरोना विश्वव्यापी महामारीका रूपमा फैलिएसँगै धेरै देशहरूले फरक फरक रणनीति अपनाए । कतिपय देशहरूले जेलमा कोरोना फैलिनसक्ने भन्दै बन्दीहरूलाई मुक्त गर्नेदेखि सामान्य खालका अपराधीहरूलाई जेलमा नराखी कारबाही अघि बढाउनेसम्मका काम गरेको पनि सुनिन्छ । त्यसै गरी नेपालमा पनि कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै अख्तियारको हिरासतमा रहेकादेखि लिएर सामान्य खालका बन्दीहरूलाई जेलबाहिरै राखेर कारबाही अघि बढाउने निर्णय भयो । थुनामा भएका मानिसहरू पनि छोड्नु पर्ने अवस्था आयो ।

हाम्रो समाजको मानसिकता नै के छ भने केही सानो तिनो अपराध भयो भने पक्रेर थुनिहाल्नु पर्छ भन्ने छ । सबैलाई पक्रिएर थुनि कारबाही गर्ने भन्दा पनि अपराधको प्रकृति हेरेर कतिपय अवस्थामा नथुनेरै पनि कारबाही प्रक्रिया अगाडी बढाउन सकिन्छ भने त्यसतर्फ ध्यान दिनु पर्छ । त्यसबाट हिरासतमा हुने जोखिम पनि कम हुने भयो र सुरक्षाकर्मीलाई सङ्क्रमण हुने सम्भावना पनि कम हुन्छ ।

लकडाउन खुले पछि अपराधको अवस्था के हुने देखिन्छ ?
लकडाउन खुलेपछि अपराधको शृङ्खला बढ्ने र फरक खालका अपराध हुन सक्ने देखिन्छ । त्यो अवस्थामा अहिलेको पुलिसिङले काम नगर्न सक्छ । किनकि पहिलो त लकडाउन कतिसम्म लम्बिने भन्ने एकिन छैन, दोस्रो लकडाउन खुल्ने बित्तिकै कोरोनामुक्त होइन्छ भन्ने होइन । यसको जोखिम त लामो अवधिसम्म रहन्छ, त्यस्तो अवस्थामा घट्न सक्ने अपराध र प्रहरीले गर्न सक्ने कारबाही कस्तो हुने भन्नेबारे अहिल्यै देखि सोच्नु पर्छ जस्तो लाग्छ मलाई ।

धेरै मानिसको जागिर जान्छ । उनीहरू रोजीरोटीबाट वञ्चित हुन्छन् । निजी क्षेत्रमा काम गर्ने धेरै कर्मचारी बेरोजगार हुन्छन् । त्यो अवस्थामा दैनिक गुजारा चलाउनेदेखि बैङ्कको ऋण, परिवारको पालन पोषण, छोराछोरीको अध्ययन लगायत विषयले आत्महत्या गर्ने दर बढ्न सक्छ ।

दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नेहरूको सङ्ख्या नेपालमा धेरै छ । कामै नभएपछि बाँच्नकै लागि पनि त्यो वर्ग चोरी चकारीतर्फ लाग्न सक्छ । खान नै नपाउने अवस्था आउँदा अन्य कुरा छोडेर खानेकुराको चोरी बढ्ने देखिन्छ । लुटपाट बढ्छ ।

कोरोना महामारीले ल्याएको आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक असरबाट धेरै मानिसहरू असन्तोष हुनेछन्, ती असन्तुष्टहरूको भिडले स–साना कुरामा पनि असन्तोष पोख्ने, तोडफोड गर्ने, झैँ झकडामा उत्रिलेलगायत लुटपाट गर्ने जस्ता घटनाहरू बढ्न सक्छन् ।

परिवार र समाजमा द्वन्द्व बढ्ने र त्यसले गर्दा हत्याका घटना पनि वृद्धि हुन सक्ने देखिन्छ ।

राज्यका लागि अर्को ठुलो चुनौती भनेको विदेशबाट फर्केका नेपालीहरूको हो । केही फर्किसकेका छन् भने केही भोलिका दिनमा लकडाउन खुकुलो हुने बित्तिकै नेपाल फर्किन्छन् । किन पनि भने विदेशमा कैयौँ रोजगारी कटौती भएपछि उनीहरू नेपाल फर्किने हुन् । त्यो अवस्थामा नेपालमा रोजगारी दिन नसक्दा त्यो भिडले बढाउन सक्ने अपराधका घटनाबारे अनविज्ञ हुनुहुँदैन । एकातिर नेपालमै भएका मजदुरहरू बेरोजगार हुनेछन् भने अर्कोतिर बिदेसिएको जनशक्ति थपिँदा त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेतर्फ राज्यले विशेष ख्याल राख्नुपर्छ ।

यी र यस्ता खाले सम्भावित घटनाको जोखिम न्यूनीकरण लागि सरकार र सुरक्षा निकायले के कस्तो पूर्व तयारी आवश्यक देख्नुहुन्छ ?
केही देशहरूले समाजका हरेक वर्गहरूलाई लक्षित गर्दै विभिन्न खाले राहत प्याकेजहरू घोषणा गरेका छन् । तर नेपालमा यसबारे खासै ठोस योजना अघि सारिएको छैन । विदेशबाट फर्किने र यही भइरहेको बेरोजगार समूहलाई व्यवस्थापन गर्नका लागि कुनै कार्यक्रम अगाडी सार्नुपर्छ जस्तो लाग्छ मलाई ।

यसमा प्रहरीले पनि अबको अपराध नियन्त्रण, अपराध अनुसन्धान, प्रहरी अरनखटन, प्रहरीले काम गर्ने काम गर्ने र ब्यारेकहरूको व्यवस्थापनबारे पनि छुट्टै तरिकाले सोच्ने बेला आएको छ । कोरोनाले कुन क्षेत्रलाई कस्तो असर पुर्‍याइरहेको छ भन्ने विषयमा अध्ययन गर्न अब ढिलाइ गर्नु हुँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस