कोरोना महामारी र पर्यावरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना महामारी र पर्यावरण


१० जेष्ठ २०७७, शनिबार


चीनको हुवेइ प्रान्तको वुहान सहरमा देखा परेको कोरोना भाइरस हुवेइमा त नियन्त्रणमा आएका खबरहरू आएका छन् । तर कोरोना भाइरसको सङ्क्रमणले विश्व महामारीको रूप ग्रहण गरेको छ । विश्व महामारीको रूपमा नफैलिएको भए अहिले जस्तो त्रास सर्वत्र हुने पनि थिएन होला । कोरोना भाइरसका कारण हुने रोग हो कोभिड-१९ । यस रोगका कारण विश्वभर ३ लाख २० हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ भने ४९ लाख भन्दा धेरै मानिसहरू सङ्क्रमित भइसकेका छन् । यस्ता महामारी फैलिनुमा कोरोना भाइस जस्ता संक्रामक जीवहरूले पर्यावरणमा उचित अवसर पाउनु हो । प्राकृतिक वातावरणमा खलल पुग्दै जाँदा नयाँ नयाँ खालका जीवहरू उत्पत्ति हुन सक्छन् र उचित अवसर पाइरहे भने महामारीको रूपमा फैलिन पुग्छन् ।

वर्ल्ड ‌ओ मिटरका अनुसार विश्वभरमा प्रति दश लाख मानिसमा ६३० जना मानिसमा कोरोना सङ्क्रमण भएको छ भने प्रति दश लाख मानिस मध्ये ४१ जना मानिसहरूको मृत्यु भएको छ । सङ्क्रमण हुने मुलुकहरूको सूचीमा अमेरिका अग्रस्थान मै छ । जहाँ १५ लाख ५० हजार भन्दा धेरै मानिसहरू सङ्क्रमित छन् भने ९० हजार भन्दा बढी मानिसहरूको कोरोनाको कारण मृत्यु भइसकेको छ । नेपालमा ३० भन्दा बढी जिल्लाहरूमा कोरोनाका बिरामीहरू फेला परेका छन् । जसमा हालसम्म कोरोना सङ्क्रमित बिरामीहरूको सङ्ख्या ४ सय नाघेको छ । २ जनाले कोरोना कै कारण ज्यान गुमाएका छन् । यस्तो पृष्ठभूमिमा कोरोनाको सङ्क्रमण फैलिन सक्ने त्रास पनि बढेर गएको हुनाले सबैले आ आफ्नो स्थानमा संयम र सावधानी अपनाउनुपर्ने जरुरी छ ।

पृथ्वीमा भएका सम्पूर्ण अवयवहरूको अन्तरक्रिया तथा अन्तर सम्बन्धले नै वातावरणको अवस्था चित्रण गर्दछ । यस्ता अवयवहरूको सन्तुलित प्रयोग, संरक्षण तथा व्यवस्थापन गर्न सकिएन भने विभिन्न समस्याहरू देखा पर्दछन् । मानिसका अनगिन्ती चाहना एवं आवश्यकताहरूबिच विकास र वातावरणलाई के कसरी सन्तुलित राख्ने भन्ने विषय आफैमा एक ठुलो चुनौती पनि हो । अहिले कोभिड १९ ले सिर्जना गरेको सन्त्रास तथा जोखिमको नियन्त्रण एवं व्यवस्थापनको लागि भएका पहलहरू पनि प्रभावकारी बन्न सकिरहेका छैनन् । महामारीहरू पर्यावरणमा नै सिर्जना हुन्छन् र पर्यावरणलाई नै विनाश गराइरहेका हुन्छन् ।

मानिस प्राकृतिक स्रोत साधनहरूको केवल उपभोगकर्ता मात्र नभई संरक्षक समेत हो । प्राकृतिक वातावरणमा भौतिक वातावरणको प्रभाव पर्न गयो भने समग्र वातावरणमा नै असरहरू देखिन थाल्दछन् । वातावरण प्रदूषण भयो भने हामीले श्वास लिने हावामा नाइट्रोजन, सल्फर तथा कार्बनजन्य विभिन्न हानिकारक ग्याँसहरूसमेत मिसिने हुनाले श्वास प्रश्वाससम्बन्धी विभिन्न खालका रोगहरूको सङ्क्रमण हुने गर्दछ । मानिसले नै प्रकृतिको उपयुक्त स्तर कायम गराउन सक्दछ । प्रकृतिको संरक्षण गरी अत्यावश्यक सेवाहरूको परिपूर्तिको लागि प्रकृतिको उपयोग नगरी सम्भव पनि छैन । सूचना तथा प्रविधिको विकासको कारण विश्व साँघुरो बन्दै गएको छ । जसको कारण आज कुनै एक कुनाको मानिस विश्वको अर्को कुनै कुनाको मानिस भन्दा धेरै टाढा आभास गरिरहनुपर्ने अवस्था छैन ।

भयानक भन्दा भयानक रोगहरूसँग जुध्न सक्ने प्रविधियुक्त उपचार विधिहरू आविष्कार भएका छन् । जसका कारण मानिसहरू जीवन या मरणको दोसाँधबाट पनि जीवन पाइरहेका छन् । मानिसले उड्ने होस् या गुड्ने या तैरिने होस्, जल थल तथा वायु सबै अवस्था अनुकूलसित हुने मेसिन उपकरण तथा साधनहरूको विकास गरेर उपयोग गरिरहेको छ । तर कोरोना भाइरसले पछिल्लो ५ महिनादेखि विश्वभर त्रास मच्चाइरहेको छ । तर अहिलेसम्म मानिसले यसबाट जोगिनको लागि आइसोलेसन, क्वारेनटिन तथा लकडाउन लगायतका उपायहरूमै सीमित जस्तै हुनुपरेको छ ।

वायु प्रदूषणको कारण श्वासप्रश्वाससम्बन्धी विभिन्न रोगहरूबाट संक्रमणित भइरहेकाहरूलाई कोरोनाले बढी प्रताडित बनाउन सक्ने जोखिम रहेका कुरा केही अध्ययनहरूले बताएका छन् । प्रकृतिले उपलब्ध गराएका चिजहरूको सही उपयोग गर्न सक्दा मात्र समग्र वातावरणीय सन्तुलन कायम गर्न सकिन्छ । वातावरणको भौतिक विकास एवं आधुनिकीकरणको नाउँमा गरिने गतिविधिहरूबाट प्राकृतिक वातावरणमा ह्रास ल्याउने काम भइरहेका छन् । यसको बदलामा प्रकृतिले अनेकौँ विपत् तथा महामारी सिर्जना गरिरहेको देखिन्छ । कोभिड १९ जस्ता महामारीहरू फैलिनमा वातावरणीय प्रभावहरू पनि प्रत्यक्ष परोक्ष सम्बन्धित हुन सक्छन् ।

आधुनिक प्रविधि, उद्योग, कलकारखाना, बढ्दो जनसङ्ख्या तथा अव्यवस्थित सहरीकरणले गर्दा दिन प्रतिदिन वातावरणीय समस्या देखा परिरहेका छन् । प्रदूषित वातावरणको प्रभावस्वरुप विभिन्न सङ्क्रमण फैलन गई अनेकौँ रोगहरू सिर्जित भएको अवस्था छ। यति बेला कोभिड-१९ ले विश्व समुदायलाई नै आतकिंत बनाएको छ । जुनकुनै रोग या महामारी उत्पन्न हुनु र फैलिनु पछाडि अनुकूल वातावरण प्राप्त हुनु नै हो । हामीले जति बढी वातावरणको हित विपरीतका क्रियाक्रापहरुलाई बढवा दिन्छौँ उति नै बढी रोग तथा महामारीको लागि मिल्दो वातावरण सिर्जना गरिरहेका हुन्छौँ ।

पर्यावरणीय सन्तुलनविना जैविक विविधता संरक्षण गर्न सकिँदैन । यसको लागि मानवीय क्रियाकलापहरू वातावरण मैत्री हुनुपर्दछ । ब्राजिलको अमेजन जङ्गलमा लागेको डढेलो तथा अष्टेलियाको जङ्गलमा लागेको डढेलोले जैविक विविधतामा ठुलो क्षति पुरायो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि गरिएका लकडाउनबाट विकसित मुलुकहरूमा वातावरण प्रदूषणमा भारी मात्रामा गिरावट आएको र खोला तथा नदीहरूको पानीमा समेत सुधार आएका खबरहरू सञ्चार माध्यमहरूमा आइरहेका छन् । हामीले प्रकृतिको ख्याल नगर्नु भनेको आफ्नै ख्याल नगर्नु हो ।

जनावरबाट मानिसमा सरेका रोगहरूले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ । इबोला, वर्ड फ्लु, स्वाइन फ्लु, मर्स, सार्स, जिका भाइरस तथा नोबेल कोरोना भाइरस आदि रोगहरू यसका उदाहरण हुन् । संयुक्त राष्टसंघीय वातावरण कार्यक्रमको फ्रन्टियर्स प्रतिवेदन २०१६ अनुसार जनसङ्ख्या वृद्धि, पारिस्थितिकीय असन्तुलन र जैविक विविधतामा आएको ह्रासका कारण विभिन्न सङ्क्रमणहरू जनावरबाट मानिसमा सर्दछन् । प्रतिवेदन अनुसार मानिसमा हरेक ४ महिनामा एक संक्रामक रोग देखिन्छ । वातावरणीय विनाश, जथाभाबी भू उपयोग, वन विनाश, वन्यजन्तुको वासस्थानमा ह्रास आदिको कारण जनावरबाट मानिसमा रोगहरू सरिरहेका छन् ।

जुन आज विश्व महामारीको रूप ग्रहण गरिरहेको छ । यस महामारीले हाम्रा विद्यमान पारिस्थितिक प्रणालीहरूमा असन्तुलन पैदा गर्न सक्ने हुँदा समयमै सजग र सतर्क हुनुपर्नेछ । स्वच्छ र स्वस्थ पर्यावरण समग्र मानवको आधारभूत जीवन र पारिस्थितिक प्रणालीको अस्तित्वका लागि महत्त्वपूर्ण छ । वातावरण स्वस्थ भयो भने मात्र प्राकृतिक सन्तुलन कायम राख्न सकिन्छ । तब मात्र मानिस स्वस्थ बन्न सक्दछ भन्ने सबैले आत्मसात् गर्नुपर्दछ । प्रकृतिको नियमलाई मिच्ने काम कतैबाट पनि हुनुहुँदैन। मानिसले जति बढी प्राकृतिक वातावरणलाई बिगार्ने काम गर्दछ, त्यति नै सहजै नयाँ महामारीहरू फैलिनको लागि उपयुक्त वातावरण सिर्जना हुन जाने हुनाले हामीले आफ्ना आवश्यकताहरू परिपूर्ति गर्ने क्रममा कम भन्दा कम प्रभाव परोस् भन्नेमा हेक्का राख्नु आवश्यक छ ।

नेपालमा वातावरणसँग सम्बन्धित मुद्दाहरूसँग जुध्न तथा स्वस्थ एवं स्वच्छ वातावरणको हकको कार्यान्वयन गर्न गराउनको लागि सङ्घ, प्रदेश तथा स्थानीय गरी तीनै तहका सरकारहरूको समन्वय, सहकार्य एवं सहजीकरण हुनु जरुरी छ । स्वच्छ तथा स्वस्थ वातावरण नै समृद्ध जीवनको मूल आधार हो । भौतिक विकास र वातावरण संरक्षण बिचको अन्योन्याश्रित सम्बन्ध कायम गर्न सकियो भने मात्र नै दिगो विकास सम्भव हुन्छ । वातावरण स्वस्थ भएन भने मानव मात्र होइन कि सारा पारिस्थितिक प्रणालीहरूमा असन्तुलन पैदा हुन जान्छ । प्राकृतिक विपत्, वातावरण प्रदूषण तथा जलवायु परिवर्तन जस्ता मुद्दाहरू तीनै तहका सरकारको जिम्मेवारीको क्षेत्र भएको हुनाले एक अर्का सरकारकाबीच सघन समन्वय, सहकार्य तथा सहजीकरण अपरिहार्य देखिन्छ । अहिलेको यस महामारीबाट सबै नागरिकहरूलाई सुरक्षित राख्नको लागि सचेतना जगाउने, सरकारका निर्देशनहरू पालना गराउने तथा राहत वितरणलाई प्रभावकारी बनाउने सन्दर्भमा समन्वय अनि बाक्लो हुनु जरुरी छ ।

अतः वातावरणलाई स्वच्छ र स्वस्थ राख्नको लागि मानवीय क्रियाक्लापहरुलाई वातावरण मैत्री बनाउँदै जानु पर्दछ भने कोरोना जस्ता महामारीको रोकथाम गर्न सरकारका निर्देशनहरुको पालना गर्नुपर्दछ । यस महामारीले पुर्‍याउने वातावरणीय क्षति र सम्भावित जोखिम न्यूनीकरणको लागि अल्पकालीन तथा दीर्घकालीन योजनाहरू बनाएर कोरोनाको शीघ्र व्यवस्थापन एवं दिगो पर्यावरणीय सन्तुलनमा युद्दस्तरमा लाग्नुपर्दछ । पर्यावरणीय सुरक्षामा ध्यान दिऔँ, स्वस्थ रहौँ र स्वस्थ रहन सहयोग गरौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस