नाबालक नै छु या अबुझ ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नाबालक नै छु या अबुझ ?


८ जेष्ठ २०७७, बिहिबार


पहिले, स्कुल पढ्दै गर्दा
सत्य बोल्नपर्छ
असत्य बोल्न पाप हो भन्ने पढेँ
तर आज, त्यही सत्य बोल्दा
मलाई पागल भन्छन्
किन हो ? म अलमल्ल परेँ,
नाबालक नै छु या अबुझ ?

अनि पढेथेँ,
नेपाली शिर कहिल्यै झुक्दैन
छिमेकी देश हार्दा पनि
अटल नेपाली शान हार्दैन,
तर यहाँ छिमेकीले नै मेरो मातृभूमि लुछ्दा
म आवाज उठाउन पाउन्न,
लिपु, लिम्पियाधुराको गीत गाउँदै
राष्ट्रिय झन्डा फरफराउँदै गर्दा
आफ्नैले विद्युतीय करेन्ट लाउँछन्
किन हो ? म अलमल्ल परेँ,
नाबालक नै छु या अबुझ ?

विद्यालय शिक्षामै पढेथेँ
सबै देश समान हुन्, समान व्यवहार हुन्छ
तर यहाँ, टनकपुर, महाकाली, पञ्चेश्वर, अरूणतेस्रो जस्ता
असमान सन्धिहरू भए रे
मलाई यस विरुद्ध पनि बोल्न दिइन्न
विदेशी स्वार्थका लागि नेपालीका छातीमा
आफ्नैले बन्दुकका कुन्दा र बुट बजारेको देखेँ
सायद यही होला नेपाली शान र मान
नेपाली भएर आफ्नै भूमि रक्षा गर्न सक्दिन
अनि त म अलमल्ल परेँ,
नाबालक नै छु या अबुझ ?

मेरो देशको छाती
डोजरले धुजा धुजा बनाउँदा पनि
म बेखबर हुन्छु
तिनै विरुद्ध कदम उठाउँदा
आफ्नैले लाठी बजार्छन् मेरो छातीमा
नेपाली भूमिमा विदेशी नीति अब्बल बनाउने
विवादित एमसीसी ल्याउने भन्छन्
र, आफ्नै गाउँ डुबानमा पार्ने
विवादित कोसी उच्च बाँध बाँध्ने भन्छन्
तिनको कहर झेल्न
बाध्य पारिने निश्चित छ रे
त्यसै र त म अलमल्ल परेँ,
नाबालक नै छु या अबुझ ?

र आज लाग्छ,
बालकक्षादेखि पिएचडी पढ्दासम्मको मेरो राष्ट्रिय शिक्षा
सैद्धान्तिक मात्र हो कि?
व्यवहारमा त,
सत्य बोल्दा पागल भन्छन्
राष्ट्रिय सार्वभौमिकता ओकल्दा
विद्युतीय करेन्ट लाउँछन्
स्वदेशी भूमि रक्षाको कुरा गर्दा
अराजक, देशद्रोही भन्छन् र राजद्रोहको मुद्दा लाउँछन्
मेरो देश धुरुधुरु रुँदा
म टुलुटुलु हेर्न शिवालय केही गर्न सक्दिन
कठैं ! म नेपाली
त्यसै र त म अलमल्ल परेँ,
नाबालक नै छु या अबुझ ?

मेरो राष्ट्रिय शिक्षा नै उल्टो हो कि,
मेरो बुझाई उल्टो ?
मैले पढेलेखेका स्वाभिमानी ओजपूर्ण शब्दहरू
भन्ने कथाहरू मात्र रहेछन्, दन्त्यकथा पनि होइनन् कि?
‘वीर नेपाली’ लोगो
लेख्न र पढ्नका लागि मात्र रहेछ
‘अपराजित नेपाल’ खोक्ने शब्द मात्र हो कि ?
त्यसैले म आज बिछट्टै अलमल्ल परेँ,
पक्कै नाबालक नै छु या अबुझ ??

Tags :
प्रतिक्रिया दिनुहोस