कोरोनाले पुनर्जीवित गरेको गाउँ प्रेम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोनाले पुनर्जीवित गरेको गाउँ प्रेम


८ जेष्ठ २०७७, बिहिबार


वाल्मीकि रामायणमा एउटा श्लोक छ

मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव ।
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ।।

अर्थात् मित्र, धन्य, धान्य आदिको संसारमा उच्च सम्मान गरिन्छ। तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ ।

नेपालको इतिहासका विभिन्न काल खण्डलाई अध्ययन गर्दा गाउँलेहरूको सहर प्रेम अगाध भएको पाइन्छ । पञ्चायती व्यवस्था अन्तर्गत २०२४ सालमा गाउँबाट अध्ययन र रोजगारीका लागि सहर पसेका नेपालीहरूलाई गाउँ फर्काउनका लागि “गाउँ फर्क राष्ट्रिय अभियान” ल्याएको देखिन्छ । त्यस्तै, कम्युनिस्ट विचार धारा समर्थक पहिलो प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको पालामा तत्कालीन अर्थमन्त्री भरत मोहन अधिकारीले २०५१ सालमा अगाडी सारेका ‘आफ्नो गाउँ आफै बनाऊँ’ कार्यक्रमले गाउँमा विकासको गतिविधि बढाई गाउँलाई सुविधा सम्पन्न बनाउने पहल भएको देखिन्छ ।

रोजगारी, सुगमताको खोजी, सहर केन्द्रित अवसर जस्ता कारणले मानवको पाइला सहर तर्फ बढ्दै गयो । सहर गएका सहर कै भई दिए गाउँ फर्किने अभिलाषा नै हराउँदै गयो । अधिकांश गाउँले क्षेत्रमा वृद्ध, बच्चा र महिलाको बाहुल्यता छ सङ्ख्यात्मक हिसाबले । सोसल मिडियाको माध्यमले नजिक भए पनि गाउँमा रहेका वृद्ध आफ्ना सन्ततिको मुख हेर्न पाइएला र नपाइएला भन्ने सोच राखी बाच्ने अवस्थामा हुन्छन् । स्थानीय तह मै सबै सुविधा भएको भए अहिलेको सहरी भिडभाड र सुनसान गाउँ हुने थिएन । सङ्घीयताले स्थानीय र प्रादेशिक स्तरमा थपेको अवसरले गाउँमा चहलपहल बढेको अवस्था छ तथापि सहरी प्रेम अझै कम भएको देखिँदैन ।

अहिले पुरा विश्व कोरोनाको महामारीको चपेटामा छ । यसबाट हामी पनि अछुतो छैनौ । चैत ११ देखि लगाइएकोको बन्दाबंदी पछि पनि सहर सहर बाट मानिस हिँड्दै गाउँ फर्किन सुरु गरे । गाउँमा सुरक्षित भइने, श्रोत नभए पनि भोकै मर्ने अवस्था नआउने जस्ता मनसायले मानिस गाउँ फर्के । देशका सहरी क्षेत्रबाट मात्र नभई वैदेशिक रोजगारमा गएका हरू बाट पनि करिब १० लाख भन्दा बढी फर्किने अवस्था छ र तिनीहरूलाई अङ्गाल्ने गाउँ नै हुनेछ । आर्थिक रूपले पीडा आउलान् तर आफ्ना सन्ततिलाई गाउँको घरको आँगनमा पाउँदा एक छिन पक्कै पनि खुसीका आँसु आए होलान् ती वृद्ध, वृद्धका आँखामा ।

कोरोनाले मानिसलाई फेरी पनि गाउँमा बसेर गाउँकै माटोमा खेल्ने, स्वच्छ वातावरणमा रमाउने अवसर दिलाएको छ । गहन रूपमा हेर्ने हो भने गाउँ अथाह अवसर भएको ठाउँ हो । बिस्तारै गाउँ ठाउँमा पनि यातायात, सञ्चार, बैंकिंग, विधुत इत्यादिको विस्तारले हरेक क्षेत्रमा प्रचुर सम्भावना देखिन्छ (खास गरी कृषि क्षेत्र) सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिई राखेको र दिने तरखर मा देखिन्छ । यस्तो अवस्थामा रोजगार गुमाएकाहरूले व्यवसाय कृषि र पशुपालन मार्फत जीवनको डुङ्गा चलाउन सक्छन् । सङ्घीयताले स्थानीय स्तरमा आर्थिक गतिविधि बढी रहेको अवस्था छ, यस्तोमा रोजगारीको अर्को सशक्त बाटो हुन सक्छ साना तथा घरेलु व्यवसाय । शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रमा दिगो अवसरहरू छन् । यस अर्थमा अवसर को त प्रश्न नै छैन । मन भित्र गाउँ प्रति थुप्रेको वितृष्णाको भाव हटायौ भने सबै कुरा प्रस्ट हुन्छ ।

विदेशमा गएर पसिना बहाउने हाम्रा साथी, दिदी बहिनी, दाजु, भाइ हाम्रै गाउँको माया गरौँ हाम्रै वीर गोर्खालीको देश मा अवसर बनाऔँ र खोजी गरौँ जसका लागि सरकारलाई पनि अभिप्रेरित गरी सहभागी गराई हाम्रै गाउँको माया गरौँ र हाम्रै देशको विकास गरौँ ।

हिन्दीमा एउटा उखान छ “सुबह का भुला अगर साम को घर आ जायें तो उसे भुला नहीं कहते” ढिलो त भएको छ तर अझै सब सकिएको छैन । कोरोनाको महामारीबाट अप्रत्यक्ष रूपमा हामी केही शिक्षा पक्कै लिन सक्नु पर्दछ । अति दोहन भई सकेको सहरी प्राकृतिक श्रोतहरूको बिचमा बसेर सङ्घर्ष गर्नु भन्दा अथाह अवसर भएको आफ्नो गाउँ फर्कौँ । विलासिताको सामान नहोला तर बिपतमा हात बढाउने छिमेकी होला, सारा दुख बिर्सिन लगाई दिने आमाको काख होला, सारा सन्सार जित्न प्रेरित गर्ने बुवाको आत्मविश्वास होला, जीवनको सार के हो सिकाउने वृद्ध होलान् । कोरोनाको महामारीले अप्रत्यक्ष रूपमा जुराई दिएको संयोगलाई राम्ररी मूल्याङ्कन गरौँ, आउ फेरी गाउँलाई माया गरौँ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस