मूल्यनिष्ठ शिक्षा : आजको आवश्यकता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मूल्यनिष्ठ शिक्षा : आजको आवश्यकता


७ जेष्ठ २०७७, बुधबार


शिक्षालाई अङ्ग्रेजीमा ‘एडुकेशन’ भनिन्छ । ‘एडुकेशन’ शब्द ल्याटिन भाषाको ‘एडु’ र ‘केटम’ मिलेर बनेको हो । एडु को अर्थ आन्तरिक र केटमको अर्थ बाहिर निकाल्नु हुन्छ । शिक्षा संस्कृतको ‘शिक्ष्’ धातुबाट आएको हो जसको अर्थ दिनु भन्ने बुझिन्छ अथवा अनुभवी अग्रजहरुले आफ्ना सन्ततिहरूलाई अनुभवहरू प्रदान गर्नुलाई नै दिनु वा शिक्षा भनिन्थ्यो ।“विद्यालयको चौघेराभित्र रहेर दिइने औपचारिक शिक्षालाई मात्र शिक्षा हो” भन्नुलाई शिक्षाको सङ्कुचित अर्थका रूपमा लिइन्छ भने मानिस जन्मिएदेखि मृत्युपर्यन्त प्राप्त गरिने सम्पूर्ण अनुभवलाई शिक्षा भनिन्छ भन्नु शिक्षाको व्यापक अर्थ हो । यसरी हेर्दा शिक्षा भनेको जीवनपर्यन्त चलिरहने प्रक्रिया हो । ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो । शिक्षाले मानिसलाई अन्धकारबाट उज्यालो तर्फ लम्काउँछ।जसअन्तर्गत व्यक्तिको बौद्धिक,शारीरिक,सामाजिक,आर्थिक, भौतिक,नैतिक आदि सम्पूर्ण पक्षको वा व्यक्तिको सर्वाङ्गीण विकास गराउनु नै शिक्षा हो भनिनु शिक्षाको वास्तविक अर्थ हो । आत्मानुभूति नै शिक्षा हो । शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो,जसलाई चलाई संसार बदल्न सक्छौ । शिक्षाको दिव्य एवं सूक्ष्म अर्थलाई यसरी वर्णन गर्न सकिन्छ :

ई– एटिक्विट (शिष्टाचार) : सुशिक्षित मानव नम्रता,मधुरता जस्ता गुणहरूले युक्त हुन्छ । आफ्ना माता–  पिता तथा शिक्षक–शिक्षिकासँग विनम्रतापूर्वक र आफूभन्दा सानाप्रति सदैव शिष्टाचारको आचरण प्रदर्शन गर्दछ ।
डी– डिसिप्लिन (अनुशासन) : विनम्रतासँगै शिक्षा अनुशासनबाट समेत अलङ्कृत भएको हुन्छ । सैनिक वा सेनापतिको अनुशासन यसको प्रमाण मान्न सकिन्छ । सही शिक्षाले बाह्य अनुशासनको अलावा आन्तरिक अनुशासन अर्थात् मन–बुद्धि–संस्कारमा या वृत्ति–वाणी र कर्मको अनुशासनमा जोड दिन्छ ।
शिक्षाले वास्तविक अर्थमा जो कोहीलाई पनि अनुशासित विद्यार्थी बनाउँछ ।
यु– युनिभर्सल ब्रदरहूड (विश्व बन्धुत्व) : विश्वमा भिन्न भिन्न देश,मानिस तथा धर्महरू छन् । परन्तु सबै एक पिता परमात्माका सन्तान आपसमा भाइ भाइ हुन । देश,धर्म जाती,लिङ्ग र धर्मभेदभन्दा माथि उठेर विश्वबन्धुत्वको भावना यथार्थ शिक्षामा स्वतः नै समाहित रहेको हुन्छ ।
सी– त्रिएटिभ (रचनात्मकता/सृजनात्मकता) : जसरी एउटा कलाकार वा शिल्पकारले पत्थरमा आफ्नो भावना भरेर मूर्ति बनाउँछ र त्यसलाई जीवन्त गर्ने प्रयास गर्दछ । त्यसरी नै शिक्षित व्यक्तिमा पनि निकृष्टबाट श्रेष्ठ बनाउने सृजनात्मक गुण आउँछ । यसरी उ ब्रह्मा समान एक निर्माता बन्न सक्छ ।
ए– अवारनेस (जागृति) : आत्मारूपी दीपक जलाउनु वा तेस्रो नेत्र खोल्नु नै वास्तविक जागृति हो,जुन शिक्षाबाट सम्भव छ । मनुष्यलाई जीवनचक्रको वाल,युवा,प्रौढ तथा वृद्ध यी चारै अवस्थाको जानकारी भएसरी सृष्टिको आदी–मध्य–अन्तको ज्ञानले मृत्यु निश्चित भएको कुरा सहर्ष स्विकार्दछ । तसर्थ उ यस सृष्टि रङ्गमञ्चमा आफूलाई एक अभिनेता सम्झेर आफ्नो कर्मप्रति सदैव जागृत रहन्छ ।
टी– ट्रान्सफरमर (रूपान्तरण) : शिक्षाले मानवको मनोपरिवर्तन अथवा संस्कार परिवर्तन गर्दछ । शिक्षाले हरेक व्यक्तिलाई एक उत्तरदायी नागरिक बनाइ उसभित्रको आसुरी वृत्तिहरूलाई दैवीय वृत्तिमा रूपान्तरण गर्न सहयोगी भूमिका निर्वाह गर्दछ ।
आई– इन्टिग्रिटी (एकात्मकता) : सूर्यमुखी फूल सदैव सूर्यतर्फ नै आकर्षित हुन्छ । जराको अस्तित्वसँगै सूर्याभिमुख रहनु उसको विशेषता मानिन्छ । त्यसै गरी हामी मनुष्य आत्माहरुपनि यस भौतिक शरीरमा रहदाँरहदै बुद्धिको सम्बन्ध आत्माका पिता परमात्मासँग हुनु अर्थात् परमात्माको स्मृति मानसपटलमा हमेसा भइरहनु पर्दछ । शिक्षित व्यक्ति सूर्यमुखी जस्तै स्वयं फक्रिँदै सुन्दर समाजको निर्माणमा सक्रिय रहन्छ ।
ओ – ओप्टीमिमस्ट (आशावादी) : सुशिक्षित मानव सदा आशावादी हुन्छ । आधा गिलास दूध वा पानी पाएर पनि धन्यता महसुस गर्दे भन्दछ कि आहा ! आधा गिलास भरिएको । उसले आधा भरिएको देख्छ तर आधा खाली देख्दैन । पर्खाल तोड्दै गरेको व्यक्तिले हथौडा हान्दै यही आशामा श्रम गरिरहेको हुन्छ अव भित्ता फुट्यो कि फुट्यो । कुनै पनि कठिन वा विपरीत परिस्थितिमा शिक्षित मानिस हताश निराशको अनुभव गर्न सक्दैन ।
एन्– नोबिलिटी (सौजन्य–सञ्जनता) : सद्विद्याले मानवमा सज्जनताको गुण विकसित हुन थाल्छ । उ असहायको सहायक र दृष्टिविहीनका लागि लट्ठी(सहारा) सेवाधारी बन्दछ ।

‘वर्तमान विश्वका शिक्षा पद्धतिहरूले सक्षम चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, प्रशासक वा विभिन्न व्यवसायीहरू उत्पादन गर्न सफल भए पनि असल मानिस सिर्जना गर्न सकेको छैन ।’

अतः शिक्षाको ध्येय नै हो कार्यकुशलता, क्षमता प्राप्त गर्नु, सुसंवादिता एवं सामञ्जस्यता स्थापित गर्नु तथा दिव्यगुणहरुको सुवासता वा जीवनमा दिव्यता भरेर दैवी गुणले सम्पन्न मानव बनाउनु हो । ऋषिमुनीहरुले गायन गरेजस्तै “तमसो मा ज्योर्तिगमय” अर्थात् अज्ञानरूपी अन्धकारबाट ज्योति वा प्रकाश तत्त्वतिर, असत्यदेखि सत्यतातिर र बन्धनदेखि मुक्तितिर लैजानु नै सच्चा ज्ञान हो । ज्ञानबाट विचारशक्ति,निर्णय शक्ति वा परख शक्ति आदि जीवनोपयोगी शक्तिहरूको विकास हुन्छ । शिक्षा एक बीज हो जसमा जीवन फलदार वृक्ष बन्दछ । यस्तो दिव्यता वा पूर्णता वर्तमान शिक्षा प्रणालीबाट सम्भव छैन । तसर्थ आजको आवश्यकता वा समयको माग हो शिक्षा नयाँ दिशा,नयाँ मार्गको अन्वेषण ताकि आजको मानव पूर्ण मानव वा दिव्य मानव बन्न सकोस् । हामीले देखिरहेकाछौ,भोगीहरेकाछौ अर्थात् कोही कतै अनविज्ञ छैनौ कि यस समय राजनीति,व्यापार उद्योग,शिक्षा,धर्म,साहित्य,कला इत्यादि हरेक क्षेत्रमा चरित्र र नैतिकताको अधःपतन भइरहेको छ । आधुनिक भौतिकताले सम्पन्न यस धरामा मानवको गीत सङ्गीत क्षितिजमा पुगी सकेको छ परन्तु पृथ्वीको स्थितिबाट उ अपरिचित वन्दैछ । हामी सबैले महसुस गरेको कुरा हो कि विज्ञानले गति दियो तर सही दिशा दिन सकेन ।

आपसी स्नेह, विश्वास, सहयोग एवं सुसंवादिताको स्थानमा वैरभाव, सङ्घर्ष, अस्वस्थ प्रतिस्पर्धा, हिंसा, तनाव जस्ता नकारात्मक भाव र स्वभावले सामाजिक जीवनमा अशान्ति, भय तथा चौतर्फी असुरक्षाको वातावरण सृजना गरिरहेको छ । यसको प्रभावबाट शिक्षा क्षेत्र समेत अछुतो रहन सकेन । प्राचीन संस्कृतिको शाश्वतमुल्यहरु—सत्य, अहिंसा, प्रेम, त्याग बलिदान, सेवा, परोपकार आदीको गिरावट शिक्षाविद्हरूको चिन्ताको विषय वनेको छ । समयको माग समग्र शिक्षा पद्धतिमा आमूल परिवर्तन हो,जसलाई फलदायी तथा जीवन्तता केवल आध्यात्मिकताको स्पर्श मात्रले गर्न सकिन्छ । शिक्षामा सुधार ल्याउनको लागी आद्यात्मिक र मूल्य शिक्षा आजको आवश्यकता मात्र हैन अपरिहार्यता हो । जसरी शरीर विज्ञान र आरोग्य विज्ञानको ज्ञान सबैको निमित्त लाभदायी छ त्यसको साथै मनोबल, आत्मबल, आत्मविश्वास तथा आत्मिक आरोग्य ज्ञानको महत्त्व झनै उँचाइमा छ । शरीरको स्वास्थ्यको लागी उपचारको जरुरी छ त्यसरी नै आत्माको तीन अङ्ग—मन, बुद्धि र संस्कारको बिमारीलाई कसरी ठिक गर्न सकिन्छ त्यसको सहज विधि आध्यात्मिक ज्ञान र त्यसको व्यवहारिक प्रयोगबाट मात्र सम्भव छ । सैद्धान्तिक कोरा ज्ञानले जीवनलाई सही दिशा निर्देश गर्न असम्भव छ । यो संसारमा भौतिक ज्ञानको अभाव छैन विद्धानको कमी छैन । अव यहाँ आचार्य मात्र होइन आचरणले भरिएको कुशल व्यक्तित्वको आवश्यकता छ । चित्र हैन चरित्र देखिनुपर्छ । जिवो हैन जीवन बोल्नु पर्छ । चान्स कुरेर बस्ने हैन आध्यात्मिक पथको चान्सलर बन्ने सद्मार्ग रोज्नु पर्छ र त्यस मार्गमा निरन्तर अगाडी कदम बढाउनु पर्छ ।

आदर्श समाजलाई नैतिक, सामाजिक र आध्यात्मिक मूल्यहरूले मार्गदर्शन गरेका हुन्छन् । ती मूल्यहरूको समाजमा उच्च सम्मान हुन्छ । मूल्यले धर्म एवं दर्शनको उद्देश्यलाई प्रतिबिम्बित गर्दछ । त्यसको लक्ष्य हुन्छ सुखमय जीवनका लागि मार्ग प्रशस्त गर्नु । आज मानिसको जीवन लोभ, मोह, स्वार्थ, भ्रम जस्ता नकारात्मकताले भरिएको हुनाले उसलाई यी कमजोरीहरूले आफ्नै नैतिकताका विरुद्ध आचरण गर्न उक्साउँछन् । तर जसले जीवनमा मूल्यहरूलाई अपनाउँछ उसमा आन्तरिक शक्तिहरूको प्रस्फुटन हुन्छ र उसले ती मानवीय कमजोरीहरूको सफलतापूर्वक सामना गर्न सक्दछ । लोभ मोह जस्ता विकारलाई परास्त गरेर हामीले केवल आत्म सन्तुष्टि प्राप्त गर्देनौं बरु मानिसको मनलाई जित्न र प्रशंसा पनि प्राप्त गर्न सकिन्छन् । “मूल्य” मानव जीवनको अनुपम सुन्दरता एवं अतुलनीय वरदान हो,सभ्यताको अत्यावश्यक तत्त्व हो भने चरित्रको द्योतक पनि हो । यसले हाम्रो श्रेष्ठ नैतिकताको निर्धारण गर्दछ ।

‘यदि मनको शान्ति विना सुख पाउने अभिलाषाले धन कमाईन्छ भने त्यो निरस र व्यर्थ हुन जान्छ ।’

समाजलाई अग्र गतिमा डो¥याउनका लागि मूल्यको आवश्यकताका विषयमा विभिन्न मत रहेका छन् । राजयोगिनी डा.दादी जानकीज्यूका अनुसार “मूल्य” जीवनको अमूल्य निधि हो,जसले हामीलाई सम्पन्न बनाउँछ । मूल्य जीवनमा खुसी प्रदान गर्ने सच्चा मित्र पनि हो । मूल्यबाट आत्मा, परमात्माको नजिक पुग्न योग्य बन्दछ र जीवन वास्तविक र सार्थक बन्दछ । मूल्यले हामीलाई निर्बन्धन तथा स्वावलम्बी बनाउँछ एवं बाहिरी समस्याहरूबाट हाम्रो रक्षा गर्दछ । डा. के. चिदानन्द गौँडाले त आधुनिक प्रविधिले सुसज्जित आजको परिवेशमा बाँचेर पनि जीवनलाई सार्थक एवं उद्देश्यमूलक बनाउनका लगी आध्यात्मिक मूल्यहरूको धारणा गर्न आवश्यक छ भन्ने विचार प्रस्तुत गरेका छन् । डा. मोहम्मद बशिरले पनि वर्तमानमा सारा संसार मूल्यहरूको ह्रासको तीव्र सङ्कटबाट ग्रस्त छ । घातक हतियार,लागु पदार्थ र देह व्यापार जस्ता घृणित कारोबारले समाजलाई आक्रान्त पारेको छ । यो धेरै खतरनाक परिस्थिति हो ।

नैतिक सङ्कटको अवस्थालाई पार गर्नका लागि आजको पुस्तालाई आध्यात्मिक मूल्य विषयमा शिक्षित गर्नु आवश्यक छ भनी सचेत गराएका छन् । डा. बिल रोबको भनाइमा मूल्य शिक्षालाई मातृभाषा जत्तिकै महत्त्व दिएर पढाउनु पर्छ भनेका छन् विद्यालय पाठ्यक्रममा समावेश गरेर,महाविद्यालय, विश्वविद्यालयहरूमा अतिरिक्त क्रियाकलापका रूपमा र अन्य व्यावसायिक क्षेत्रमा नैतिक शिक्षाका रूपमा तालिम दिइनु पर्ने उनको राय छ । भनिन्छ वर्तमान विश्वका शिक्षा पद्धतिहरूले सक्षम चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, प्रशासक वा विभिन्न व्यवसायीहरू उत्पादन गर्न सफल भए पनि असल मानिस सिर्जना गर्न सकेको छैन । यसै सन्दर्भमा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन युनेस्कोले ज्याकस डेलरको अध्यक्षतामा संसारभरका शिक्षाविद्हरूलाई समावेश गरी एउटा अन्तर्राष्ट्रिय आयोगको गठन गरेको थियो । आयोगले शिक्षाका लागि लर्निङ टू नो, लर्निङ टु डू, लर्निङ टू बी, लर्निङ् टू लिभ टुगेदर गरी चार स्तम्भहरूको पहिचान गरेको थियो । पहिलो स्तम्भका लागि बौद्धिक क्षमता, दोस्रो स्तम्भका लागि सीपको प्राप्ति तथा तेस्रो र चौथो स्तम्भका लागि मूल्यहरूको धारणा आवश्यक पर्दछ । मूल्य शिक्षाले यी दुई पक्षलाई सम्बोधन गर्दछ । यसका अतिरिक्त देश विदेशमा राष्ट्रिय स्तरमा गठित विभिन्न आयोग समितिहरूले पनि मूल्य शिक्षाको महत्त्व दर्शाएकै छन् ।

सुखमय जीवन एक कला हो । जीवन के हो ? यसको अध्ययन पनि एक विज्ञान हो । यदि मनको शान्ति विना सुख पाउने अभिलाषाले धन कमाईन्छ भने त्यो निरस र व्यर्थ हुन जान्छ । जीवनलाई निर्भय, निश्चिन्त तथा सदा हर्षपूर्ण बनाउने कला सिकिँदैन तबसम्म महल, गाडी, धन, पदार्थ, घर परिवार सवकुछ हुँदा पनि सुखको स्वास लिन सकिँदैन । फलस्वरूप दुर्घटना,शोक,असफलता हानी जस्ता परिस्थितिरूपी जन्जिरबाट मुक्त हुन प्रायः असम्भव छ । समाज सिर्फ भौतिक वस्तुहरूको सङ्ग्रह मात्र हैन केवल विज्ञानको प्राप्तिले समाजको मापदण्ड पुरा हुन सक्दैन । समाज चेतनमूर्त छ।यो संसार त प्रेम सद्भाव,आपसमा मातृत्व भाव नैतिकता तथा मानवीय मूल्यहरूको आधारमा चल्नुपर्छ । सकारात्मक शैक्षिक वातावरणबाट नै शिक्षण कार्य प्रभावकारी ढङ्गले चल्न सक्दछ । शिक्षक विद्यार्थी शैक्षिक वातावरण निर्माण गर्ने सशक्त माध्यम हुन ।

‘एक बच्चा एक वयस्कको नैतिकताको अवस्था वा नैतिकताको अभावको साक्षी वा द्रष्टा हो र उसले आफ्ना मातापिता एवं शिक्षकहरूको व्यवहारबाट सिक्दछ । त्यसै गरी त्यस बच्चाले व्यवहार गर्दछ ।’

यी दुवैमा मूल्य शिक्षा र आध्यात्मिकताको गहिरो प्रभाव पार्न सकियो भने शैक्षिक जगतक भविष्य सुनिश्चित छ । कक्षा शिक्षण पूर्व ३ मिनेट लाइसेन्सको अभ्यासले शैक्षिक वातावरणलाई रुचिकर बनाउने एक प्रभावशाली मनोवैज्ञानिक विधि भएको कुरा विभिन्न समयमा भएका अनुसन्धान र प्रयोगले पुष्टि गरी सकेको छ । मनुस्यहरुद्धारा उत्पन्न हुने विचार तरङ्गहरूले वातावरणको निर्माण गरेको हुन्छ । सकारात्मक चिन्तनले मूल्य निष्ठ वातावरणको रचना गर्न सक्छ । संस्कार विहीन समाज मनुष्य अस्तित्वको लागी खतराको घण्टी हो । भनिन्छ मूल्य निष्ठ नागरिकले नै मूल्य निष्ठ समाजको निर्माण गर्न सफल हुन्छ ।

जीवनमा मूल्य एवं आध्यात्मिकताको समावेशिता सामाजिक व्यवस्था बदल्ने आधार हो । यसका लागी हाम्रा भविष्यका कर्णधार बच्चाहरूको कलिलो मस्तिष्कमा जीवन मूल्य ,सद् व्यवहार ,शिष्टाचार इमानदारी,सत्यता आदीको शिक्षा दिईनुुपर्छ ।विडम्बना आजका अभिभावकमा नैतिक मूल्यको गिरावट,पाश्चात्य संस्कृतिको प्रभाव र आधुनिक व्यस्तता बिचको अस्तव्यस्त जीवनशैलीले हाम्रो सामाजिक व्यवस्था सङ्कटग्रस्त अवस्थामा गुज्रिरहेको । आज स्कूूल,कलेज एवं विश्व विद्यालयमा दिइने शिक्षाले प्रतिभावान् युवा उत्पादन गर्न सकेको छ तर आजका युवामा मूल्य तथा सु संस्कारको अनुपस्थिति चिन्ताजनक बन्दै गइरहेको छ । त्यसैले आजको समयको पुकार शिक्षामा आध्यात्मिकता र मूल्यहरूको उपस्थिति हो । समाजमा हुने हरेक विपरीत परिवेशलाई रोक्न हरेक व्यक्तिको जीवनमा पर्याप्तता ज्ञान,गुण र मनोबललाई बढाउनुको साथै जीवनलाई दिव्यीकरण तथा श्रेष्ठ संस्कार बनाउनु नै आजको आवश्यकता हो ।

भौतिक शिक्षाको साथ साथ वर्तमान समयमा मूल्य शिक्षा एवं आध्यात्मिकताको नितान्त जरुरी देखिन्छ । यस प्रयासमा शिक्षा प्रभाग,ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले विद्यार्थी,शिक्षक अभिभावक एवं समस्त सामाजिक व्यवस्थामा परिवर्तनका ल्याउन मूल्य शिक्षा एवं आध्यात्मिक शिक्षालाई पाठ्यक्रममा समावेश गरी विभिन्न शैक्षिक संस्थाहरूमा सफल प्रयोग गरी सकेको छ । जाती,धर्म,वर्ग,लिङ्ग र रङ्गभेद भन्दा माथि उठेर हरेक इच्छुक तथा जिज्ञासु मानव मात्रका लागि नियमित मूल्य शिक्षा एवं आध्यात्मिकता र मेडिटेसनका निःशुल्क कक्षा यस संस्थाले विश्वका १४० देशहरूमा करिब १०,००० भन्दा बढी शाखा,उपशाखाहरू स्थापना गरी मानव मात्रमा आध्यात्मिक एवं मानवीय मूल्यको न केबल जगेर्ना मात्र हैन पुनर्स्थापना गर्ने भगीरथ कार्यमा क्रियाशील रहेको छ । साथै मानव मूल्यको जागृतिद्वारा मूल्य निष्ठ समाज निर्माण गर्न सकिने लक्ष्यका साथ विद्यालय, कलेज तथा विश्व विद्यालयका विद्यार्थीहरूका लागि विद्यार्थी सशक्तीकरण,चेतनाको स्पर्श शिक्षक प्राध्यापकहरूका लागि लिभिङ भ्यााल्यू मेडिटेसन जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालित छन् । अन्तर्राष्ट्रियता २ दर्जन भन्दा विश्वका ख्यातिप्राप्त विश्वविद्यालयहरू–अन्नमालाई विश्वविद्यालय तमिलनाडुु,यशबंतराव चव्हाण खुला वि.वि.नासिक, महाराष्ट्र«, रामकृष्ण धमार्थ फाउन्डेशन वि.वि.भोपाल, मध्य प्रदेश, डिव्रुगढ वि.वि.आसाम,बर्धमान महावीर खुला वि.वि. कोटा राजस्थान, जानकी फाउण्डेसन यु.के.मा नियमित र यसै वर्ष त्रिभुवन विश्वविद्यालय समेतबाट स्वीकृत मूल्य शिक्षा र आध्यात्मिकता अन्तर्गत डिप्लोमा, पी.जी.डिप्लोमा,एमएससी, एमएससी हेल्थ, एमएससी योगा, एमबिए इन सेल्फ म्यानेजमेन्ट र क्राइसिस म्यानेजमेन्टका कक्षाहरू नियमित तथा दूर शिक्षा प्रणाली मार्फत अनुशासित,नैतिकवान् र चरित्रवान् जनशक्ति उत्पादन गर्ने अभिप्रायका साथ यस संस्थाले आफ्ना शैक्षिक कार्यक्रमहरू सुरु गरेको छ ।

महिला सशक्तीकरण, यूवा जागरण र आध्यात्मिक पथमा उल्लेखीय भूमिका निर्वाह गरेका कारण मोहनलाल सुखाडिया विश्व विद्यालय, उदयपुर राजस्थानले ३० डिसेम्वर, १९९२ मा ब्रह्माकुमारीज संस्थाकी पूर्व मुुख्य प्रशासिका दादी प्रकाशमणीजीलाई मानार्थ विद्यावारिधि डी.लिट्बाट सम्मानित गरेको थियो । त्यसै गरी पूर्व मुख्य प्रशासिका दादी जानकीलाई गीतम यूनिवर्सिटी, विशाखापटनम् आन्ध्र प्रदेशले र संस्थाकी संयुक्त मुख्य प्रशासिका दादी रतनमोहिनीलाई गुलवर्गा विश्व विद्यालयले उक्त उपाधीद्धारा विभूषित गरी सकेका छन् । यसबाट सिद्ध हुन्छ कि ईश्वर प्रदत्त यस विश्व विद्यालयको कार्य र शिक्षाले भविष्यमा आउने एक आदर्श स्वर्णिम विश्वको निर्माण गर्नेछ । यति मात्र हैन कारागारका बन्दी कैदीहरूले यस शिक्षालाई जीवनमा अपनाएर सामाजिक रूपान्तरणको क्षेत्रमा महत्त्वपूर्ण र उपलब्धिपूर्ण जीवन निर्वाह गरिरहेका छन् । तसर्थ कारागार वन्दैछन् सुधार गृहहरू । अन्तमा यदि जीवनलाई सुखमय, शान्त, व्यवस्थित र औचित्यपूर्ण बनाउनु छ भने समयको माग मूल्य निष्ठ शिक्षा एवं आध्यात्मिकता हो । ए संसारको सर्वश्रेष्ठ प्राणी मानव ! अव हामी युग परिवर्तनको अन्तिम घडीमा छौ, यस धरामा निकट भविष्यमा सुखमय समानताको संसार आउंदैछ । जन्म जन्मको श्रेष्ठ भाग्य निर्माण गर्ने र मूल्यवान् पुरुषोत्तम एवं श्रेष्ठाचारी बनेर सुसंस्कृत परिवार र सुसंस्कृत राष्ट्र निर्माणको यस महाशिक्षा अभियानमा सहभागी वनौ । भनिन्छ —अहिले नभए कहिल्यै हुँदैन ।

मूल्यरहित शिक्षाको कुनै अस्तित्व छैन । विद्यालयमा मूल्यकै विषयमा पढाइ हुन्छ, तर प्रश्न कस्तो प्रकारको मूल्य शिक्षा भन्ने नै हो । सार्वभौम, मानवीय एवं नैतिक मूल्यको शिक्षाले व्यक्तिलाई आफ्ना मूल्यहरू किटान गर्न र तिनीहरूलाई धारणा गर्न सिकाउँछ । मूल्य शिक्षाले खास गरी युवा वर्गको आफ्नो नैतिक चयनलाई स्पष्ट पार्न र जीवनलाई प्रभाव पार्ने आफ्ना प्रमुख सिद्धान्तहरूलाई बुझ्न उनीहरूका आफ्ना स्वाभाविक न्याय एवं इमानदारीपूर्वक जीवनलाई सञ्चालन गर्ने सूक्ष्म शक्तिलाई अभिव्यक्त गर्न प्रोत्साहन गर्दछ । एक बच्चा एक वयस्कको नैतिकताको अवस्था वा नैतिकताको अभावको साक्षी वा द्रष्टा हो र उसले आफ्ना मातापिता एवं शिक्षकहरूको व्यवहारबाट सिक्दछ । त्यसै गरी त्यस बच्चाले व्यवहार गर्दछ । केटाकेटीहरूले जे देख्छन् त्यही अनुकरण गर्दछन् ।

अतः माता पिता वा शिक्षकहरूले आफ्ना बालबच्चाहरू वा शिष्यहरूले जे गरुन् भन्ने चाहना छ सोही अनुसार व्यवहार गर्नु पर्दछ । समाजमा नैतिक पतनलाई हटाइ प्रभावकारी तवरले नैतिक उत्थान गर्न एवं चारित्रिक विकास गर्नकालागि आम सञ्चार माध्यम एवं गैर सरकारी संस्था जस्ता क्षेत्रसँग शिक्षा क्षेत्रको सहकार्य प्रभावकारी हुन सक्तछ । आजको समाजमा विज्ञान र प्रविधिको प्रभाव जताततै देखिन्छ । यो भौतिकतामा आधारित संस्कृति मानवीय एवं शाश्वत मूल्यहरूको पतनकालागि उत्तरदायी मानिएको छ । सामान्य बौद्धिक विकासका लागि दिइने परम्परागत शिक्षाको स्थान उपयोगितावादी शिक्षाले ग्रहण गरेपछि सर्वाङ्गीण विकासको मूल्यमा प्रतिस्पर्धाको भावनाको जन्म भएको छ । यसबाट समाजको नैतिक स्तरमा ठुलो परिवर्तन आएको छ । असामाजिक कार्यहरूलाई रोक्ने परम्परागत विधिहरू निष्प्रभावी हुँदै गएका छन् ।

परिवर्तित सन्दर्भमा समस्याहरूलाई समाधान गर्नकालागि नयाँ दृष्टिकोणहरूको अवलम्बन गर्न आवश्यक छ । यस परिप्रेक्ष्य शिक्षाद्वारा सर्वोत्तम परिणाम प्राप्त गर्नका लागि उपयोगितावादी शिक्षासँग आध्यात्मिक, सांस्कृतिक एवं कलात्मक मूल्य सम्बन्धी शिक्षाका बिच समन्वय गर्नु आवश्यक छ । केटाकेटीहरू एवं युवा युवतीहरूलाई मात्र मूल्य शिक्षा दिन आवश्यक छ भन्ने सामान्य धारणा रहेको पनि पाइन्छ । परन्तु, वयस्कहरूमा पनि व्याप्त भोतिकवादि चिन्तन र अहङ्कारको भावनाले युवासमुदायमा नकारात्मक प्रवृत्तिहरूको जन्म दिएको पाइन्छ । अतः वयस्कहरूलाई पनि मूल्य शिक्षा दिन अति आवश्यक छ । समाजमा नेतृत्व वर्गले स्वैच्छिक आत्म संयम, मूल्य शिक्षा एवं आध्यात्मिक शिक्षामा रुचि जगाई स्वयंमा नैतिक, आध्यात्मिकता एवं सदाचारयुक्त आचरण प्रस्तुत गर्नु आवश्यक छ । यस्ता मूल्य शिक्षाबाट आम नागरिकहरूलाई दुर्व्यसनबाट हुन सक्ने नोक्सानीका बारेमा प्रभावकारी तवरले सिकाउन सकिन्छ र तनावरहित जीवन जिउन सिकाइन्छ ।

कैयौँ परम्परागत कथा तथा पाठ्यसामग्रीहरूले महिलाहरूका अधिकारको सम्मान गर्दैनन् र महिलाहरू प्रति पूर्वाग्रहयुक्त देखिन्छन् । विगत १५० वर्ष देखि विश्वमा नारी जागृतिको प्रयास भए पनि समाजमा महिलाहरू अहिले पनि आफ्नो सामाजिक,राजनैतिक,आर्थिक एवं धार्मिक अधिकारहरूकालागि सङ्घर्षरत छन् । जातको आधारमा भेदभाव गर्न नपाइने कडा कानुनी व्यवस्था भए पनि परम्परागत रूपमा जाति प्रथा प्रतिको लगाव भने समाजमा कायमै रहेको छ । शिक्षाविद् एवं सामाजिक विकास क्षेत्रका अनुसन्धानकर्ताहरूले सूक्ष्म स्तरमा गरिएको सामाजिक विकासको प्रयास सफल हुने देखाएका छन् । कानुनी एवं विकास कार्यक्रमका माध्यमबाट गरिने वृहत् स्तरका विकास कार्यहरू सफल भएको पाइएको छैन ।व्यक्तिगत रूपमा दिइने मूल्य शिक्षाले व्यक्तिमा विकास हुने आन्तरिक शक्तिले समाजलाई सकारात्मक रूपमा प्रभाव पार्दछ । मूल्य निष्ठ जीवनको उच्च स्तरको उदाहरण प्रस्तुत गर्न सकिएको खण्डमा मानिसहरूले सम्मानजनक जीवन जिउन थाल्दछन् । विश्वका सबै समस्याहरू व्यक्तिगत समस्याहरूको समष्टिगत रूप भएकाले मानिसले व्यक्तिगत स्तरमा आफूलाई सुधार्ने प्रयास गरेको खण्डमा विश्वका सबै समस्याहरू समाप्त भएर जानेछन् ।

लेखक डिभिजन वन कार्यालय,दाङका अधिकृत(प्रशासन) एवं एक आध्यात्मिक अभियन्ता हुन ।

Tags :
प्रतिक्रिया दिनुहोस