कोरोना नियन्त्रणमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना नियन्त्रणमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता


६ जेष्ठ २०७७, मंगलबार


चितवन । कोभिड-१९ को त्रास बढिरहेको समयमा इच्छाकामना गाउँपालिकाले कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि जोखिम मोलेर सेवामा खटिने स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीहरुलाई प्रोत्साहन भत्तास्वरुप एक महिना बराबरको तलब उपलब्ध गराउने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले कोरोना रोकथामका कामलाई प्रभावकारी बनाउने उद्देश्यले प्रोत्साहनस्वरुप एक महिनाबराबरको तलब भत्ता उपलब्ध गराउने निर्णय गरिएको बताए । अध्यक्ष गुरुङले भने, “विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को रोकथामका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरिरहेको छ, ती कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई प्रोत्साहनस्वरुप एक महिना बराबरको तलब दिने निर्णय गरेका छौँ ।”

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य सहायता कक्ष राखेको छ । गण्डकी प्रदेशबाट प्रवेश गर्ने नाका मुग्लिन पुल नजिक, धादिङबाट प्रवेश गर्ने नाका मौवा खोला र गाउँपालिका परिसरमा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा रहेका छन् । पैदल यात्रुहरुलाई स्वास्थ्य जाँचपश्चात मात्र गाउँपालिका प्रवेश गर्न दिइएको छ । यसअघि पृथ्वी राजमार्ग हुँदै पैदल यात्रामा आएकाहरुलाई उनीहरुको गन्तव्यसम्म गाडी चढाएर पठाइएको थियो ।

क्यान्सरका बिरामीसँग कुरुवा एक जना मात्रै
जिल्ला प्रशासन कार्यालय चितवनले ७६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी क्यान्सरका बिरामी पठाउँदा कुरुवा एक जना मात्र पठाउने व्यवस्था गरिदिन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले हस्ताक्षर गरी पठाइएको पत्रमा बिरामीको साथमा एक जना मात्र कुरुवा पठाउन आवश्यक सहजीकरण र नियमन गरी सहयोग गरिदिन अनुरोध गरिएको छ ।

अस्पतालमा बिरामी एम्बुलेन्समा आउने गर्दछन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशैभरिबाट बिरामी उपचारका लागि आउने गर्दछन् । एक जना बिरामीसँग पाँच/६ जनासम्म एम्बुलेन्समा खाँदिएर आउने गरेपछि प्रशासनले सबै जिल्लामा पत्राचार गरी सहजीकरण गरिदिन अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्ला छिर्ने सिमानामा एक जनाभन्दा बढी कुरुवा आएमा प्रवेशमा कडाइ गरिने बताए । आएको कुरुवा अलपत्र पर्ने भएकाले अग्रिम जानकारी गराइएको उनले बताए । क्यान्सर अस्पताल नजिकका होटलहरु यतिबेला बन्द रहेका छन् । कुरुवा घर खाली छैन । बिरामी र कुरुवाले बाहिरै खाना पकाएर खान बाध्य भएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले विभिन्न जिल्लाबाट दैनिक ५० वटा हाराहारी एम्बुलेन्स बिरामी लिएर आउने गरेको बताए ।

अस्पतालमा दैनिक झण्डै २०० बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ । अस्पतालले कोरोना सङ्क्रमण भित्रन नदिन सकेसम्म उच्च सावधानी अपनाएको गौतमको भनाइ छ । विसं २०५७ मा १०० श्ययाबाट अस्पताल सञ्चालनमा आएको हो । अहिले अस्पताल ४५० श्यया पुगेको छ । चीन सरकारले एशियाकै नमूना अस्पतालको रुपमा निर्माण गरिदिएको यस अस्पतालले वार्षिक १० हजार हाराहारी क्यान्सरका बिरामीको उपचार गर्दै आएको छ ।

माडी नगरपालिकाले पिसिआर परीक्षण किट किन्ने
माडी नगरपालिकाले भारत र तेस्रो मुलुकबाट आउने आफ्ना नगरवासीको कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने किट आफै खरीद गर्ने भएको छ । नगरपालिकाको विपत् व्यवस्थापन कोषबाट किट खरीदका लागि रु १० लाख विनियोजन गर्ने निर्णय गरेको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार माडी स्थायी घर भई चार हजार २०० हाराहारी विदेशमा रहेका छन् । ढकालले तत्काल २५ प्रतिशत आए पनि राख्नका लागि ११ वटा क्वारेन्टिन व्यवस्था गरिसकेको बताए। माडीका नौवटै वडामा एक–एक र थप दुईवटा क्वारेन्टिन तयार गरेको उनले बताए । एउटा क्वारेन्टिनमा एक सय जना राख्न मिल्ने गरी व्यवस्था गरिएको छ । विदेशबाट आएकाहरुलाई १४ दिन क्वारेन्टिनमा राखेर स्वाबमार्फत कोरोना भाइरसको पिसिआर परीक्षण गरी नेगेटिभ देखिएमा १७ दिनमा घर पठाउने ढकालको भनाइ छ ।

पिसिआर परीक्षणका लागि भरतपुर कोभिड–१९ प्रयोगशालासँग कुराकानी भइसकेको उनले बताए । उनले भने, “प्रयोगशालामा पनि किटको अभाव देखिएकाले बाहिरबाट आउनेहरुका लागि किट हामी आफै किन्दैछौँ ।” रकम नपुगे थप गरेर भए पनि किट खरीद गर्ने उनले बताए । ढकालले भारतको मुम्बईबाट आएका २४ जनालाई ठोरी नाकाबाट फिर्ता गरिएकामा आज साँझसम्ममा प्रवेश गर्न दिने आश्वासन प्राप्त भएको बताए । ठोरी नाकामा समस्या देखिएको भन्दै उनले अब भारतबाट आउनेलाई भैरहवाको बाटो हुँदै ल्याइने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस