नेपालको राजनीति, लकडाउनबाट देखिनसक्ने समस्या, समाधान तथा चाल्नु पर्ने कदम « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालको राजनीति, लकडाउनबाट देखिनसक्ने समस्या, समाधान तथा चाल्नु पर्ने कदम


६ जेष्ठ २०७७, मंगलबार


कुनै पनि राष्ट्र विकास कसरी हुन्छ ? राष्ट्रका जनता कसरी समृद्ध हुन्छन् ? आर्थिक वृद्धि कसरी हुन्छ ? जनताको जीवन कसरी सुखमय हुन्छ ? जस्ता तमाम प्रश्नहरूको जवाफ एक मात्र हुन्छ जब कुनै राष्ट्रमा स्थायी, गतिशील, सार्वभौमसत्ता सम्पन्न, ईमान्दार, जनमुखी, भिजनरी सरकार बन्छ र त्यस्तो सरकार त्यो पार्ट्रीको मातहतमा बन्छ जहाँ नेता केबल जनमुखी हुन्छन्, जसको व्यक्तिगत स्वार्थ, पारिवारिक स्वार्थभन्दा केवल देश र जनतानै मुख्य केन्द्रबिन्दुमा रहेका हुन्छन्।यो अकाट्य सत्य हो। कुनै पनि व्यक्ति विशेषले राज्यलाई समुन्नत बनाऊँन सक्तैन केबल उसले भिजन अर्थात् दर्शन दिनसक्छ र त्यो भिजन सामूहिक लगनशीलता, एक मन एकताको बलमा मात्र सार्थक हुन पुग्छ।

नेपालको विकास किन आशातीत गतिमा हुन सकेन् ? नेपाल किन दीर्घकालीन समृद्धिको बाटोमा हिँड्न सकेन ? आर्थिक वृद्धिदर किन न्यून रह्यो ? जस्ता प्रश्नहरूमा घोत्लिँदा केबल यसको एकमात्र उत्तर नेपालमा जनमुखी सरकार कहिले बनेन, सरकारको भिजन भएन, देशका विगतका राजा र त्यसपछिका प्रधानमन्त्री केबल सत्ता बचाऊँने खेलमा मात्र लागिरहे। गुटबन्दी, पाट्रीकेन्द्रीत, परिवार केन्द्रित स्वार्थहरूले मात्र प्रशय पाइराखे।

हाम्रो देशमा रहेका तमाम समस्याहरू, अवरोधहरू, दिनानुदिन बिग्रिँदै गएको राजनीति, स्वार्थ केन्द्रित खेलहरू बाट पन्छिन् हाम्रो देश शतिले सरापेको भनेर उम्कन चाहने प्रवृत्ति अहिले पनि देखिन्छ। हामी नेपाली गरिब त छदैछौँ तर हाम्रो मानसिकता पनि गरिबै छ। सत्तामा पुग्ने बित्तिकै जनतालाई गरेको बाचा बिर्सिने, स्थाईरूपमा राजनीतिमा टिकिरहन खोज्ने, सम्पत्ति पनातिसम्मलाई पुग्ने जोड्न खोज्ने, निश्चित घेराभित्र रमाउने, स्वार्थगत सम्बन्धहरू जोड्ने, बोली एकातिर व्यवहार अर्कोतिर गर्ने, कुर्सी गुम्छ कि भन्ने डरले राष्ट्र स्वार्थबाट पछि हट्ने जस्ता प्रवृत्तिहरू हाम्रा देशका नेताहरूका मुख्य विशेषता हुन्। यो देश समृद्ध भयो भने, जनता समृद्ध भए भनी हामी स्वतः समृद्ध हुने छौँ। हाम्रो परिवार स्वतः समृद्ध हुनेछ भन्ने कुराहरू हाम्रा महान् नेताहरूको मानसपटलमा कहिले पनि तरङ्गित हुँदैन जस्तो लाग्छ मलाई।नेताहरूको कथनि र करनीमा बिलकुल तालमेल हुदैँन्।

नेतालाई दोष थोपरिरहँदा हामी जनता पनि पानी माथिको ओभानो हुन खोज्नु हुदैन्। हामी जनताको भित्रैबाट जन्मेका नेताहरू हुन्। हामी जनताले नै वास्तवमा नेतालाई माथि उल्लेखित ब्यक्तिकेन्द्रित स्वार्थमा रुमल्लिन सिकाइरहेका छौँ। कुनै सानो काम परो कि नेताकोमा धाऊने, समाजमा महिषले यो नेतालाई चिनेको छुँ, मेरो यो सरकारसँग पहुँच छ भनी धक्‍कु लाऊने प्रवृत्ति जनतामा रहेको छ। हामी हामीले चुनेको नेतालाई खबरदार भन्नुको सट्टामा चोचोमोचो मिलाऊँन लागिपर्छौँ जुन घातक साबित भएको छ।

सन् २०१९ को डिसेम्बरमा पहिलो पटक चाइनाको बुहानबाट पहिचानमा आएको कोरोना सङ्क्रमणबाट अहिले संसार आक्रान्त छ। जसबाट हामी उम्कन सक्ने कुरै भएन। डब्लु.एच.ओ. का अनुसार हालसम्म विश्वमा ४९,०८,२०० जना सङ्क्रमित रहेकोमा ३,२०,४३० जनाको मृत्यु भइसकेको छ भने नेपालमा ३७५ जना सङ्क्रमित रहेकोमा २ जनाको मृत्यु भइसकेकोमा ३७ जनाले स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन्। कोरोना सङ्क्रमणबाट बच्न तथा बढ्दो सङ्क्रमणलाई रोक्न नेपालमा चैत्र ११ गते देखि लगाइएको लकडाउन जेठ ५ गतेसम्म निरन्तर रहेको छ। पुनः लकडाउन थप्ने तयारीमा सरकार रहेको कुरा सुन्नमा आएको छ। लकडाउनलाई निरन्तर दिने नै अहिलेको समस्याको समाधान गर्ने उपाय हो तँ सरकार? भनेर यदाकदा सामाजिक सञ्जालहरूमा कुराहरू उठान हुन थालेका छन्। विश्वका अन्य देशहरूले पनि लकडाउनलाई खुकुलो पार्दै अन्य वैकल्पिक उपायहरू अवलम्बन गर्दै गईरहेका छन्। हाम्रो सरकारले पनि त्यो बारेमा सोच्ने बेला आएको छ।

अब यो लकडाउन अझै जारी रहेमा के-कस्ता समस्याहरू आउँछन् होला मैले औल्याऊने प्रयत्न गरेको छु।

क) चोरी, डकैती बढ्न सक्छ
लकडाउन निरन्तर रहेमा दैनिक ज्यालादारी तथा करारमा काम गर्नेले रोजगारी गुमाउछन्। सञ्चित रकम तथा खाद्यान्नले केही समय त पुग्ला तर यतीका लामो समयको लकडाउनले काम गर्न नपाउदा भोक भोकै मर्नुपर्ने अवस्था आऊन सक्छ। हिन्दीमा एउटा भनाई छ “मर्ता क्या नै कर्ता”। भोकले हुनसक्ने मृत्युको विकल्पमा चोरी, डकैती गर्न तर्फ मानिस उद्दत हुनसक्छ।

ख) घरायसी हिंसाका घटना बढ्न सक्छ
मानिसहरू घर भित्र सीमित भएर बसेका छन्। अन्य काम धन्दा छैन। सुरु सुरुको अवस्थामा त रमाएर बसे होलान्। तर लामो समय यही अवस्था रहेमा मानिसको दिमाग खाली अवस्थामा हुन्छ। भनिन्छ खाली दिमाग सैतानका घर। यसले घरायसी झगडा तथा हिंसा बढाउन सक्छ।

ग) चरम आर्थिक सङ्कट भई आत्मा हत्यासम्म हुनसक्छः
मानिसहरू धेरैले यो लकडाउन भन्दा अगि ठुलै रकम लिएर व्यापार, व्यवसाय सञ्चालन गरेका छन्। लामो समय सम्म व्यापार हुन नपाउँदा चरम आर्थिक सङ्कट भई प्रकरण क बमोजिमका काम गर्न नसक्नेको विकल्पको रूपमा आत्महत्या नै रहने हुनसक्छ।

घ) वितरण प्रणालीमा अन्योलता
वितरण प्रणालीमा अन्योलता आई मानिसहरूले पैसाभएतापनि समान किन्न पाउने छैनन्। जसको कारण चरम खाद्यसंकट पर्न जान सक्छ।

ङ) राज्यलाई चरम आर्थिकसंकट पर्न सक्छ
देशमा उत्पादन नहुँदा बेरोजगार समस्या व्याप्त हुन्छ। जसको कारणबाट राजश्वमा कमी आई चरम आर्थिक सङ्कट पर्न जान्छ। विकास निर्माणका काममा अन्योल भई सरकारले चालु खर्चको जोहो गर्न पनि वैदेशिक तथा आन्तरिक ऋणमा भर पर्नु पर्ने हुनसक्छ।

च) कृषि उपजमा कमी
लकडाउनको नाममा किसानहरूले उपयुक्त समयमा बिउ, बिजन, मल लगायतका सामाग्रीहरू पाऊँन सकेका छैनन्। स्थानीय प्रशासनले समेत कुरा नबुझी किसानहरूलाई खेतसम्म जान रोक लगाऊँने गरेको छ। जसको कारण कृषि उपजमा ह्रास आई खाद्य सङ्कट पर्ने देखिन्छ।
माथि उल्लेखित समस्याहरू एक-आपसमा अन्तसम्बन्धी रहेका छन्। यी त भए समस्या,अब यस्ता समस्याबाट पार पाउँदै लकडाउनलाई कसरी व्यवस्थित गर्ने भन्‍ने सम्बन्धमा मेरा निम्न लिखित सुझावहरू रहेका छन्

क) लकडाउनलाई खण्डीकरण गर्ने
अहिले लकडाउन देशव्यापी रूपमा रहेको छ। अति जोखिम, मध्य जोखिम र न्यून जोखिम क्षेत्रहरूको पहिचान गरी लकडाउनलाई समेत सोही बमोजिम व्यवस्थित गर्ने। जस्तै तराईका जिल्लाहरूमा कोरोना सङ्क्रमण व्यापक रूपमा देखिएको छ। त्यस्ता जिल्लालाई अति जोखिमयुक्त क्षेत्रको रूपमा राखी लकडाउनलाई कडा बनाऊँने जबसम्म समस्या समाधान तर्फ जादैँन्।हिमाली तथा पहाडी जिल्लाहरू केहीमा सङ्क्रमण कम देखिएको छ भने आर्थिक गतिविधिहरू सञ्चालन हुन दिने।

ख) काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो पार्ने
काठमाडौँ उपत्यका देशको महत्त्वपूर्ण प्रशासनिक तथा आर्थिक क्षेत्रको रूपमा रहेको छ। देशको अन्य ठाँऊको तुलनामा यहाँ आर्थिक क्रियाकलाप समेत धेरै भएको पाइन्छ। उपत्यका छिर्ने सीमामा कडाइ गरी पहिलो चरण, दोस्रो चरण, तेस्रो चरणमा समय विभाजित गरी अति आवश्यक सेवाबाट खुलाउँदै खुलाउँदै लाने।जस्तै पहिलो चरणमा बैङ्क तथा वित्तीय संस्था, खाद्य पसल, सरकारी कार्यालयहरू।

ग) ठुला ठुला कलकारखानाहरू खोल्ने व्यवस्था मिलाउने
ठुला ठुला कलकारखानाका मालिकहरूसँग सम्पर्क गरी काम गर्न कामदारहरूलाई कलकारखाना भित्रै खाने, बस्ने व्यवस्था मिलाउने र कलकारखाना खोल्न लगाउने। आन्तरिक रूपमा प्राप्त गर्न सकिने कच्चा पदार्थ भएमा सो समेत उपलब्धताको लागि उचित व्यवस्था मिलाउने। बाह्यरुपमा ल्याउनु पर्ने भए सम्भव भएसम्म ल्याउने। उक्त सामान लिएर आऊँने मानिसहरूमा कोरोना सङ्क्रमण नभएको निर्क्योल गरेर मात्र सम्पर्कमा आउन दिने।

घ.) कृषि क्षेत्रहरूको पहिचान गरी कृषि कार्य अगि बढाउन स्थानीय निकायलाई परिचालन गर्ने 
देशमा धेरै बाँझो जमिनहरू रहेको छ। कृषिबाट उत्पादन कमी हुने तथा आशातीत रूपमा आर्थिक उपार्जन गर्न नसक्ने भएबाट किसानहरूले खेतलाई प्लटिङ गर्ने, बाँझो नै छाड्ने जस्ता कार्य गरेका छन् । अब स्थानीय निकायलाई परिचालन गरी त्यस्ता कृषि उपज हुनसक्ने क्षेत्र पहिचान गर्ने र कृषकहरूलाई वर्गिकित रूपमा बाली लगाउन उत्प्रेरित गर्ने। जस्तै फसल बिक्री नभएमा बजार भाउमा आफै लिने भन्ने किसिमका सुनिश्चितता दिलाउने।

ङ) वितरण प्रणालीलाई खुकुलो पार्ने
अहिले लकडाउनको कारणले गर्दा एक ठाउँमा उब्जाऊ भएको कृषि उपज अर्को ठाउँमा पुगेको छैन। बरु भारतीय बजारका सामानहरू अहिले पनि आउने बुझिएको छ। देशका बिभिन्‍न ठाउँमा उब्जाऊ भएका कृषिउपजहरू एक ठाउँबाट उपभोक्ता भएको ठाउँमा पुर्याउने व्यवस्था गर्ने। त्यसको लागी पनि सहज रूपमा स्थानीय निकायलाई परिचालन गर्न सकिन्छ।

च) नेपाल भारत सीमामा आवतजावत नियन्त्रण गर्ने 
नेपाल भारत सिमाना आवतजावत नियन्त्रणको लागी सुरक्षा कर्मी खटाइएको भएतापनि व्यवस्थित हुन नसकेको समाचारहरू आइरहेका छन्। मानिसहरू सुरक्षा कर्मीलाई झुक्क्याई, व्यक्तिगत प्रभावमा पारी भित्रिने गरेको सूचना आउने गरेको छ। नेपाली नागरिकहरूलाई तिमीहरू आउन पाउदैनौँ भनेर रोक्न सकिने अवस्था समेत हुदैन्। तसर्थ सीमामा व्यापक रूपमा क्वारेन्टाईको व्यवस्था गर्ने। सशस्त्र प्रहरीलाई मात्र जिम्मा लगाइएकोमा सो काम सशस्त्र प्रहरीबाट मात्र सम्भव नहुने देखिएमा नेपाली सेनालाई समेत विशेष निर्णय गरेर खटाउँदा अझ उपयुक्त हुनेछ।

हाम्रो देश नेपालले सहश्रताब्दी विकास लक्ष्यका सूचकहरू मध्ये प्रति व्यक्ति आय बाहेकका अन्य सुचालकहरू प्राप्त गरिसकेको भएता पनि अब नेपालले दिगो विकास लक्ष्यहरू प्राप्त गर्न अग्रसर भएको अवस्था रहेको छ। जुन सन् २०१५ देखि सुरु भएर सन् २०३० सम्ममा पुरा गर्नु पर्ने छ।कोरोनाको समस्यासँग जुझिरहेको देश नेपाल यसबाट बाहिर निस्किएर कसरी लक्ष्य प्राप्त गर्न सक्ला त।

मेरा केही सुझावहरू यस प्रकार रहेका छन्।

क) स्वदेशी तथा विदेशी लगानीमा ठुला ठुला जलविद्युत आयोजनाहरू निर्माण गर्ने
नेपालमा लगभग १३०० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।आगामी आर्थिक वर्षमा उत्पादन बढाएर ३००० मेगावाट पुर्याउने सरकारको लक्ष्य रहेको छ। धेरै आयोजनाहरूको आर्थिक तथा प्राविधिक सर्वेक्षण गरिएको छ, निर्माणको लागी अनुमति प्रदान गरिएको छ। तथापि निर्माण कार्य अगि बढ्न सकेको छैन। अगाडी नबढेका आयोजनाहरूलाई सरकारले आफ्नो जिम्मामा अगाडी बढाई निर्माण सम्पन्न गर्न सकिन्छ।अन्य निर्माण हुन सक्ने क्षेत्र पहिचान गर्न सकिन्छ।

बिजुली यथेष्ट रूपमा उत्पादन भएमा हामीले बेच्नै पर्छ भन्ने छैन। खाना पकाउन, गाडी तथा कलकारखाना चलाउन हामीले बिजुली प्रयोग गरेको खण्डमा पेट्रोलियम पदार्थ आयातमा कमी आई ठुलो धनराशि बचत हुन्छ।

ठुलो ठुलो आयोजना निर्माणको लागी धेरै आर्थिक दायित्व पर्ने हुन जान्छ सो समस्या कसरी समाधान गर्ने भन्दा योगदानको आधारमा जनतालाई मालिक बनाउने। जस्तै नेपालमा लगभग ८५००० सरकारी कर्मचारीहरू छन्। प्रत्येक कर्मचारीहरूले महिनाको रू. १०,०००।– को दरले कम्तीमा पाँच महिना लगानी गरे भने जम्मा रकम रू. ४,२५,००,००,०००।–(चार अरब पच्चिस करोड) हुन्छ। त्यस्तै पेन्सनकर्ताहरूबाट, नेपाल प्रहरी, नेपाल आर्मी, शिक्षकहरूबाट लगानी गरेर ठुला ठुला आयोजनाहरू निर्माण गर्न सकिन्छ।आयोजना निर्माणको सुनिश्चितता, निर्माण कार्यमा सुशासन कायम हुने सुनिश्चितता भएमा आफैँ मालिक हुने भएपछि अवश्य रूपमा लागी गर्ने छन्।

ख.) विद्युतीय गाडी लगायतका अन्य विद्युतीय उपकरण बानउने कम्पनीहरूको लगानी भित्र्याउने 
हाम्रो देश नेपालबाट धेरै मानिस वैदेशिक रोजगारमा विदेशिने गरेका छन्। अर्थात् हाम्रो देशमा काम गर्न सक्ने जनशक्ति यथेष्ट मात्रामा छन्। लगानीको सुनिश्चितता, आवश्यक पुर्वधारहरू तथा सुरक्षाको सुनिश्चितता भएमा विद्युतीय गाडी लगायतका अन्य बिद्युत्तिय उपकरण बनाउने कम्पनीहरूको लगानी भित्राउन सकिन्छ। उत्पादित गाडी तथा अन्य उपकरणहरू विदेशमा मात्र नपठाई स्वदेशमा समेत उपयोग गर्न सकिन्छ जसको कारण ठुलो धनराशिको बचत हुन्छ भने बेरोजगारी समस्याको समाधान समेत हुन्छ।
ग.) कृषि उत्पादनका क्षेत्रहरू पहिचान गरी सरकारी, सहकारी तथा व्यक्तिगत रूपमा कृषि बाली लागाउनेः-
हामीले माथि पनि उल्लेख गरिसकेका छौँ। नेपालमा धेरै जमिनहरू बाँझो रहेका छन्। अब स्थानीय निकायहरूलाई परिचालन गरी कृषि क्षेत्र र उपयुक्त बाली पहिचान गरी कृषिकार्यमा जनताहरूलाई प्रोत्साहित गर्ने। सरकारले आफ्नै संयन्त्र मार्फत वा सहकारी मार्फत वा व्यक्तिहरूलाई स्वयम् कृषि कार्य गर्न लगाउने। फलेको बालीलाई बजारको भाउमा सरकारले खरिद गर्ने र सरकारकै च्यानलबाट उत्पादित उपजलाई बजारसम्म लाने व्यवस्था गर्ने।जग्गा बाँझो राख्नेलाई दण्ड गर्ने जसले राम्रो उत्पादन गर्छ उसलाई पुरस्कारको व्यवस्था गर्ने।

घ) पर्यटनमा लगानी गर्ने, पर्यटन स्थलहरूको पहिचान तथा निर्माण गर्नेछ
नेपालको अर्को महत्त्वपूर्ण आर्थिक उपार्जनको क्षेत्र पर्यटन व्यवसाय रहेको छ। विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा, सनातन धर्मको केन्द्र पशुपतिनाथ, बुद्ध धर्मको तीर्थस्थल लुम्बिनी लगायतका धेरै महत्त्वपूर्ण सम्पदाहरू नेपालमा रहेका छन्। सानो देश भए पनि पर्यटकले नेपालमा तराई देखि हिमालसम्मको भौगोलिक विविधतामा रमाउन पाउछन् र यस्ता क्षेत्रनै पर्यटकको रोजाइमा पर्ने गर्छन्। पर्यटक क्षेत्रको पहिचान गरी पूर्वाधार निर्माण गर्नु पर्ने भए निर्माण गरी सहज पहुँचको व्यवस्था मिलाइदिनुपर्छ। यो अर्को अर्थ उपार्जनको महत्त्वपूर्ण क्षेत्र बन्‍न सक्छ।

ङ) सुशासन कायम गर्ने
माथि हामीले जतिसुकै व्याख्या गरे पनि देशमा असल शासन भएन भने नेपालको दिगो विकास लक्ष्य प्राप्त गर्नु असम्भव हुन्छ। स्थायी सरकार, स्थायी नीति, कानुनको शासन अति आवश्यक तत्त्वहरू हुन्। हामीले माथि उल्लेखित कार्यहरू सँगसँगै सुशासन कायम गर्दै अगि बढ्यौ भने अन्य विकास निर्माणका कामहरू स्वतः हुदैजानेछन्। नेपाल सरकारले लिएको लक्ष्य “समृद्ध नेपाल, सुखी नेपाली” अवश्य पुरा हुनेछ।

अन्त्यमा भन्नुपर्दा अहिले हाम्रो अगाडी जतिसुकै समस्या तथा चुनौती भएतापनि हामीले दिगो योजना बनाएर अगि बढ्यौँ, सुशासन कायम गर्‍यौँ भने हाम्रो भविष्य सुनिश्चित छ।

Tags :
प्रतिक्रिया दिनुहोस